कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

६ वर्षअघि निर्माण थालिएको सडकपुल अधुरै

ठेकेदार र सडक विभागको हेलचेक्रयाइँ भएको स्थानीयको आरोप
विद्या राई

भोजपुर — षडानन्द नगरपालिकाको चिर्खुवा बालुवाबेंसी र साल्पासिलिछो गाउँपालिकाको इर्खुवाखोला गौडेनीका सडक पुल ६ वर्ष बित्दासम्म निर्माण हुन सकेका छैनन् ।

६ वर्षअघि निर्माण थालिएको सडकपुल अधुरै

षडानन्दको नेपालेडाँडामा पर्ने चिर्खुवा पुल ०६८ असार र साल्पासिलिछोको कुलुङमा पर्ने इर्खुवापुल ०६९ असारदेखि निर्माण सुरु भए पनि काम अगाडि बढेका छैनन् । दुवै पुल २५ मिटरको दुई स्पानका छन् । 

सडक विभाग तुम्लिङटारका प्रमुख कृष्णनाथ ओझाका अनुसार ठेकेदार भागेर सम्पर्कमा नआएपछि काम नहुँदा निर्माण ढिलाई भएको हो । निरन्तर काम नहुँदा प्रारम्भिक चरणका निर्माणसमेत बर्खाको भेलले पुरिए । सडक विभागले पटक–पटक ताकेता दिएपछि चिर्खुवापुलले पछिल्लो समय कामको गति लिएपनि वर्षात्‌का कारण काम गर्न सकेको छैन । यो पुल सगरमाथा सर्वोद्धार जेभीले साढे ३ करोडमा ठेक्का लिएको थियो । जतिबेला ३ स्पानको थियो । 

पुन: डिजाइन गरेर दुई स्पानमा झारेपछि लागत पनि २ करोडमा झारेको थियो । गत वर्षसम्म एकापट्टिको जगमात्र उठाएको थियो । तोकिएको म्याद दुईपटक गुज्रेपछि यसवर्ष अर्को जग उठाएको छ । हाल वर्षात्‌का कारण निर्माण सामग्री ढुवानी तथा काम गर्न असहज हुनेभएपछि दुवै जग पूरा गरेर निर्माण बन्द गरिएको ठेकेदार श्याम घिमिरेले बताए । उनले भने, ‘काम ढिलो भएको हो तर विविध प्राविधिक कारणले निर्माणस्थलमा रहेर काम गर्न सकिएन, त्यसलाई भागेको भन्न मिल्दैन, चैत महिनासम्ममा सक्ने गरी काम अघि बढिसकेको छ,’ ।
 
इर्खवापुलका सन्दर्भमा भने ठेकेदारले काम गर्न आलटाल गरेको विभागको दाबी छ । ६ महिनाअघि सम्पर्कमा आएको भएपनि पछिल्लो समय सम्पर्कविहीन छ । हरि निर्माण सेवाले २ करोड २९ लाखमा निर्माणको ठेक्का लिएको थियो । चाँडै काम नथाले वैकल्पिक व्यवस्था गर्ने चेतावनी दिएको विभाग प्रमुख ओझाले बताए । उनकाअनुसार चिर्खवाको ५० प्रतिशत निर्माण प्रगति भएको छ । इर्खुवाको एकापट्टिको जग मात्रै उठाउने काम भएको छ । 

इर्खवापुल ठेक्का लिने हरि निर्माण सेवाका हरिबहादुर राउत भने काम गर्न चाहेर पनि भौगोलिक विकटताका कारण समस्या भएको बताउँछन् । यसैवर्ष सम्पन्न गर्नेगरी आगामी असोजदेखि काम थाल्ने तयारीमा रहेको ठेकेदार राउतले भने ।
 
वर्षौबित्दासम्म पुल नबेपछि उत्तरी भेगका साल्पासिलिछो र षडानन्दको विकास वर्षैा पछाडि धकेलिएको छ । सडकपुल नबन्दा स्थानीयले सास्ती खेपिरहेका छन् । यी पुलकै कारण पर्यटकीय प्रवर्द्धनका लागि निर्माण हुनै लागेको तेन्जिङ–हिलारी मार्गको सडक निर्माणमा समेत बाधा पुगेको छ । चिखुर्वा र इर्खुवापुल उत्तरी बेल्टका बासिन्दाका लागि ‘लाइफ लाइन’भए पनि वर्षैादेखि निर्माण नहुँदा निराश र आक्रोशित बनेका छन् । जिल्लामा ६ वर्षयता निर्माण थालेका सडक पुलका अधिकांश योजना तोकिएको म्याद गुज्रेर पनि अझै निर्माण हुन सकेनन् । ९ वटा योजनामध्ये ६ वटा निर्माणाधिन छन् । अँधेरीघाट, हिंखुवा र पिखुवाकाबाहेकका पुल वर्षौदेखि अधुरै छन् । 

प्रकाशित : श्रावण २४, २०७४ १३:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?