धरान — बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हुने चिकित्साशास्त्रको विभिन्न तहको परीक्षामा आर्थिक चलखेल र प्रश्नपत्र आउट भएको भन्ने उजुरी परेपछि चिकित्सा शिक्षा जाँचबुझ आयोगले मंगलबार बिहानै कागजपत्र नियन्त्रणमा लिएको छ ।
आयोगले प्रतिष्ठानको परीक्षा विभाग र शैक्षिक विभागको कागजपत्र नियन्त्रणमा लिएको हो । कागजात कब्जामा लिन सर्वोच्च अदालतका पूर्वन्यायाधीशसमेत रहेका आयोगका अध्यक्ष गौरीबहादर कार्की, सदस्यहरु प्रा डा उपेन्द्र देवकोटा र शिक्षा मन्त्रालयमा सहसचिव सूर्यप्रसाद गौतम आएका थिए ।
आयोगका पदाधिकारीहरुले सन् २०१२ मा प्रतिष्ठानमा भएको एमडी एमएसको परीक्षामा आर्थिक चलखेल भएको, प्रश्नपत्र आउट भएको र त्यसबेला प्रतिष्ठानमा उत्तीर्ण भए पनि नेपाल मेडिकल काउन्सिलले लिने परीक्षमा फेल भएको विषयमा उजुरी परेको आधारमा त्यसबेलाका कागज पत्र कब्जामा लिएको बताएका छन् ।
त्यसबेला प्रतिष्ठानमा प्रा डा बलभद्रप्रसासद दास उपकुलपति थिए भने प्रा डा निर्मल बराल परीक्षा डिन थिए । आर्थिक चलखेल भएको र प्रश्नपत्र आउटको भएको विषयमा व्यापक चर्चा चलेपछि उपकुलपति दास र परीक्षा डिन बरालले राजीनामा समेत दिएका थिए । तर, उपकुलपति दासको राजीनामा स्वीकृत भएन भने बरालको राजीनामा स्वीकृत भएको थियो ।
आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले बीपी प्रतिष्ठान जस्तो स्वास्थ्य शैक्षिक संस्थामा बेथिती भएको, परीक्षामा आर्थिक चलखेल भएको र प्रश्नपत्र आउट भएको उजुरी परेकाले आयोगले पनि आशंका गर्न बाध्य भएकाले छानबिनका लागि सन् २०१२ मा एमडी एमएस परीक्षाको कागजपत्र नियन्त्रणमा लिएको बताए । उनले भने, ‘आशंका भएकै कारणले छानबिन सुरु गरेका हौं ।’प्रतिष्ठानमा एमडिएमएसको तीनवर्षे कोर्ष रहेको छ । उजुरीका आधारमा आयोगले दोषी फेला पारेमा प्रतिष्ठानका तत्कालीन उपकुलपति र परीक्षा डिन कारबाहीको भागिदार बन्न सक्ने भए पनि करोडौ रुपैयाँको आर्थिक चलखेल गरेर एमडीएमएस अध्ययन गरिसकेका चिकित्सकहरुको हकमा के हुने भन्ने विषय भने अझै अन्योल छ ।
परीक्षाको सबै कागजपत्र लिएर गएको विषयमा प्रतिष्ठानका उपकुलपति प्रा डा राजकुमार रौनियारले भने, ‘चिकित्सा शिक्षा जाँचबुझ आयोगका पदाधिकारीहरु आउनुभयो । सन् २०१२ को एमडीएमएसको परीक्षामा आर्थिक चलखेल र प्रश्नपत्र आउट भएको विषयमा उजुरी परेको र छानबिनका लागि कागजपत्र माग्नु भयो । हामीले परीक्षासम्बन्धी सबै कागजपत्र उहाँहरुलाई उपलब्ध गराएका छौं । छानबिनमा दोषी फेला परे आयोगले कारबाही सिफारिस गर्छ ।’
प्रकाशित : श्रावण २४, २०७४ १४:०४