कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

खेत भयो बगर

शाहीमान राई

पाँचथर — निर्माणाधिन तल्लो हेवाखोला जलविद्युत आयोजनाद्वारा निर्मित सुरुङबाट छिरेको पानी वाहिर निस्कदा पहिरो गएपछि किसानको खेतबारी बगरमा परिणत भएको छ । सोमबार राति आएको बाढीले खेतबारी वगरमा परिणत भएपछि किसानहरु आक्रोसित छन् ।

खेत भयो बगर

पाँचथर सदरमुकाम फिदिम नजिकै रहेको माउन्टेन हाइड्रोनेपाल प्रालिद्वारा सञ्चालित जलविद्युत आयोजनाको सुरुङभित्र हेवाखोलाबाट आएको बाढीको पानी प्रवेश गरेपछि सयौं रोपनी खेतबारी र वन क्षेत्र वगाएको हो । फिदिम नगरपालिका–४ तल्लोटार, साँघुटारस्थित नरमान यक्पाङदेन, दिलकुमार यक्पाङदेन, भूपेन्द्र यक्पाङदेन, लक्ष्मीबहादुर तामाङ, धिरेन्द्र यक्पाङदेन, नरबहादुर थापा, लालबहादुर भण्डारी लगायत ६ जना किसानको खेतबारी बगाएको छ । सुरुङबाट आएको बाढीले एक करोड रुपैंयाँभन्दा बढी मुल्यको खेतबारी बगाएपछि स्थानीय किसानले जलविद्युत आयोजना सञ्चालक समक्ष क्षतपूर्तिको माग गर्न थालेका छन् । ‘हाम्रो खेत जस्ताको तेस्तै बनाइदिनुपर्छ, वाली लगाएको खेत वगर बनाइदियो,’ पीडित ५५ बर्षिय नरमान यक्पाङदेनले कान्तिपुरसित भने, ‘सयौं मुरी धान फल्ने खेत बिराइदिनुपर्छ र त्यतिन्जेल बाली क्षतिको मुआब्जा समेत दिनुपर्छ ।’

जलविद्युत आयोजना निर्माणकर्ताहरुको लापारवाहीको कारण हेवा खोलाको बाढी सुरुङभित्र पसेको स्थानीयबासीले आरोप लगाए । प्रबर्द्धक माउन्टेन हाइड्रोनेपाल प्रालिका कर्मचारीले सजकता अपनाइदिएको भए बाढीले क्षति नगर्ने उनीहरुको भनाइ छ । सुरुङमार्ग समयमा व्यवस्थित नगरे बाढी पहिरोले थप सर्वश्व हुने खतरा रहेको स्थानीयबासी ८२ वर्षीय लालबहादुर भण्डारीले बताए । उनले बाढी पहिरो मात्र होइन, जलविद्युत आयोजना संचालक र कम्पनीका कर्मचारीको व्यबहार, पेलाहा प्रवृत्तिबाट स्थानीयबासी वाक्क दिक्क भइसकेको बताए । सुरुङको बाढीले दिलबहादुर यङक्पाङदेनको २८ रोपनी, लक्ष्मीबहादुर तामाङको ७ रोपनी, नरमान यङपाङदेनको २२ रोपनी खेत वगरमा परिणात भएको बताए । उनीहरुले अर्कै ठाउँमा खेत किनिदिनुपर्ने, मागेजत्ति क्षतिपूर्ति दिने, जग्गाको उचित मुल्यमा रजिष्ट्रसन पास गरिदिने गरी मुल्य दिनुपर्ने माग अघि सारेका छन् । सुरुङको बाढीले क्षति पुर्‍याएपछि जलविद्युत आयोजना संचालकले प्रतिनिधि पठाएर क्षतिपूर्ति दिने आश्वासन दिएपनि निश्कर्षमा पुग्न नसकेको फिदिम नगरपालिका –४ वाट नवनिर्बाचित वडाध्यक्ष प्रकाश गुरुङले बताए । वडाध्यक्ष गुरुङले जलविद्युत आयोजना संचालकहरु जिम्मेवार भएर पीडित किसानको क्षतिपूर्ति दिनुपर्ने र दिलाइदिनका लागि सक्रिय हुने बताए ।

माउटेन हाइड्रोनेपाल प्रालिले पाँचथरको फेमे खोला र हेवाखोलाको पानी ५५ सय मिटरभन्दा सुरुङमार्गबाट फिदिम नगरपालिका–४ जोरसालमुनि विद्युतगृहमा लगेर २२ मेगावाट क्षमताको जलविद्युत उत्पादनका लागि निर्माण गरेको सुरुङभित्र पानी पसेर क्षति पुगेपछि पीडित किसानलाई क्षतिपूर्ति दिने कम्पनीका अध्यक्ष तथा कार्यकारी निर्देशक सिताराम तिमिल्सनाले बताए । उनले बाढीले बगाएको जग्गाको क्षति मुल्यांकन गरी उचित राहत दिनको लागि टोली पठाउने तयारीमा रहेको बताए । करिब चार अर्ब रुपैयाँ लगानीमा निर्माणाधिन हेवाखोला जलविद्युत आयोजना अन्तिम चरणमा निर्माण कार्य भइरहेको अध्यक्ष तिमिल्सिनाले बताए ।

प्रकाशित : श्रावण २५, २०७४ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?