कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्रीलाई केहीबेरमा भेट्दै भारतीय विदेशमन्त्री सुष्मा

विमस्टेक राष्ट्रका विदेशमन्त्रीहरु काठमाडौंमा
चन्द्रशेखर अधिकारी

काठमाडौं — बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास (बिमस्टेक) को सचिव (परराष्ट्र/विदेश) स्तरीय बैठक चलिरहँदा ती मुलुकका विदेशमन्त्रीहरु काठमाडौं उत्रिसकेका छन् । बिहीबार बिहानबाट बैठक आरम्भ हुँदैगर्दा सदस्य मुलुकहरु भारत, श्रीलंका, बंगलादेश र भुटानका विदेशमन्त्रीहरू क्रमश: सुष्मा स्वराज, रवि करुणनायके, अबुल हसन महमुदअली र दाम्चो दोर्जी काठमाडौं आइपुगेका हुन् ।

प्रधानमन्त्रीलाई केहीबेरमा भेट्दै भारतीय विदेशमन्त्री सुष्मा

विमस्टेकका सदस्य तथा आसियन मुलुकद्वय थाइल्यान्ड र म्यान्मारबाट उप–विदेशमन्त्रीहरु पनि उत्रेका छन् ।
 
भारतीय विदेशमन्त्री सुष्मा आफ्नै विशेष विमानमा आएकी थिइन् भने अन्य नियमित उडानमा काठमाडौं आएका हुन । म्यानमार र थाइल्याण्डका उपविदेशमन्त्री एकै विमानमा थिए । विमस्टेक बैठकमा अघिल्ला बैठकमा पहिचान भएका व्यापार, लगानी, प्रतिआतंकवाद, गरिबी निवारण, यातायात, पर्यटन, सञ्चार, ऊर्जा, कृषि, जनस्वास्थ्य, वातावरण तथा प्राकृतिक विपत्ति र जलवायु परिवर्तनजस्ता एक दर्जन बढी विषयमा छलफल हुनेछ ।
 
तेस्रो शिखर सम्मेलन र यसअघिका मन्त्रीस्तरीय बैठकका निर्णय कार्यान्वयनको समीक्षाका साथै बिमस्टेकअन्तर्गतका पारस्परिक सहयोगका विषयलाई द्रुत गतिमा कार्यान्वयन गर्नेबारे १५ औं बैठक केन्द्रित हुने बताइएको छ । यसका उल्लेखित एजेण्डाबारे सचिवहरु छलफलमा छन् । त्यहा नेपालले यो वर्ष गर्ने विमस्टेक शिखर सम्मेलनबारेमा छलफल भइरहेको थियो । उक्त छलफलमा नेपालले निर्वाचन रहेको कारण अलिपछि अर्थात सन् २०१८को सुरु गर्न आग्रह गरिरहेको छ । 
 
१५ औं मन्त्रिस्तरीय बैठक साँझ आरम्भ हुँदैछ । उक्त बैठकको उदघाटन विमस्टेकका अध्यक्षसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नेछन् । बैठकको उदघाटन लगत्तै पहिलो दिन नै देउवाले विदेश मन्त्रीहरूलाई सामूहिक रूपमा भेट गर्नेछन् ।


 
उक्त बैठक आरम्भ हुनुअघि नै देउवालाई भेट्न सुष्मा बालुवाटार पुग्ने परराष्ट्र अधिकारीले जानकारी दिए । नेपालको पछिल्लो राजनीतिक घटनाक्रम, देउवाको भारत भ्रमण, दुईपक्षीय विषय तथा भारत चीन विवादको विषयमा समेत केही छलफल हुनसक्ने अधिकारीहरुले बताए । आधाघण्टा हुने भनिएको उक्त भेटमा अधिकांश दुईपक्षीय एजेण्डा र नेपालको राजनीतिक प्रक्रियाकै बारेमा छलफल हुने बताइएको छ । उनले राष्ट्रपति विद्यादेवि भण्डारी र साझ मधेस केन्द्रित दलका नेताहरुसँग पनि भेट गर्ने पनि बताइएको छ । 
 
उनी काठमाडौं आइपुगेको केहीबेरमा नै भेटवार्तालाई तीव्रता दिने भएकी हुन् । उनले अन्य राजनीतिक दलका शिर्ष नेतासँग पनि भेटवार्ता गर्नेछिन् । उनको साथमा विदेश सचिव एस जयशंकर पनि सहभागी छन् । विदेश मन्त्रीको सम्मानमा साझ उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले गर्ने रात्री भोजमा पनि अनौपचारिक छलफलहरु हुने बताइएको छ । 
 
भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्यान्ड र म्यान्मार सदस्य रहेको उक्त संगठन सार्क र पूर्वी एसियाली संगठन आसियानको पुलका रूपमा स्थापना भएको हो । त्यसमा सार्कका तीन मुलुक अफगानिस्तान, पाकिस्तान र माल्दिभ्स सदस्य छैनन् । यही कारण बिमस्टेकलाई ‘माइनस पाकिस्तान’ भनिन्छ । यसको स्थापनाकालमा अफगानिस्तान सार्कको सदस्य समेत थिएन ।

प्रकाशित : श्रावण २६, २०७४ १४:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?