ओलाङचुङगोलामा चिनियाँ अधिकारीको भव्य स्वागत

केही दिनअघि तिब्बतको सिमाबाट बस्तीसम्म खुलेको मोटर बाटोको अवलोकन
आनन्द गौतम

ताप्लेजुङ — चीनसँग सिमाना जोडिएको टिप्ताला भञ्ज्याङदेखि नजिकको बस्ती ओलाङचुङगोलासम्म सडकको ट्रयाक खुलेपछि पहिलो पटक चिनियाँ अधिकारीहरु गाडीमै आइपुगेका छन् । ट्रयाक खुलेपछि पहिलो पटक तिब्बतको रिउ जनसरकार प्रमुख र प्रहरी प्रमुख गाडी लिएर आएका हुन् ।

ओलाङचुङगोलामा चिनियाँ अधिकारीको भव्य स्वागत

सडक निर्माणको जिम्मा लिएका ठेकदार पनि लिएर आएका उनीहरुले सडक गाडी चलाउन योग्य छ भन्ने प्रमाणित गरेको ओलाङचुङगोलाका बासिन्दाले बताए । बाटामा कतै नधकेली र नतानीकनै दुई वटा सानो गाडी लिएर आएका फक्तालुङ गाउँपालिका ७ ओलाङचुङ्गोलाका गाउँ कार्यपालिका सदस्य छेतेन वालुङले बताए ।

बस्तीदेखि डेढ सय मिटरमाथि हेलिप्याड बनाइएको ठाउँमा गाडी राखिएको छ । हिलोका कारण डेढसय मिटर छिराएर वस्तीसम्म पुर्याउन नसकेको छेतेनले टेलिफोनमा जानकारी दिए । ठुला मेशिनपछि साना सवारी साधन पहिलो पटक गोला आइपुगेका हुन् । वडा सदस्य टाँसी वालुङको घरमा राखिएका उनीहरुलाई मंगलबार साँझ स्थानीयले भब्य स्वागत गरेका थिए ।

स्थानीय तह निर्बाचनमा निर्बाचित वडाका जनप्रतिनिधि तथा ओलाङचुङ्गोलाका बासिन्दाले खादा, माला लगाएर स्वागत गरेको टाँसीले वताए । वडाध्यक्ष छेतेनले ताप्लेजुङको सडकको अवस्था, यो सडक निर्माणपछिको भविष्यलगायतका बिषयमा जानकारी गराएका थिए ।

टिप्तालाभञ्ज्याङ–ओलाङचुङ्गोला सडक उपभोक्ता समिति र चिनियाँ ठेकेदार कम्पनीसँगको सम्झौतामा साक्षी बसेका जनसरकार प्रमुख सडकको अवस्था अवलोकनका लागि आएको टाँसीले बताए । ‘अव अन्तिम किस्ता दिने बेला भएको छ । सम्झौता अनुसारको सडक ठिक छ, दिंदा हुन्छ भनेपछि मात्रै दिन्छौं,’ उपभोक्त्ता समिति अध्यक्ष छतेनले भने, ‘ उनीहरु हाम्रोमा जे जस्तो गरेपनि देउ भन्दैनन् सम्झौता अनुसारको काम भएको राम्ररी नियालेर मात्रै सिफारिस गर्छन् ।'

उनीहरुले बुधवबर स्थानीयसँग अन्तर्क्रिया पनि गरे । ओलाङचुङ्गोलाका बासिन्दा भोटेभाषा मात्रै बोल्ने तर उनीहरु चाइनिज बोल्ने भएकाले दोभासेको माध्यमवाट कुरा गरिएको छेतेनले वताए । गोलाका बासिन्दाले नियमित गाडी चल्ने बनाइदिन अनुरोध गरेका थिए ।

तिब्बतवाट सडक खन्दै आएका तीनवटा मध्ये एउटा मेशिन ओलाङचुङगोलामै छभने अरु दुइ वटा फर्काएर लगेका छन । छेतेनका अनुसार सडकको भित्तामा नाली काट्ने र पानी बग्ने ठाउँमा ढल बनाउन बाँकी छ । नाली काटेपछि लोडर लगाएर पेल्न बाँकि रहेको छेतेनले वताए ।

दुई ठाउँमा तमोर नदी वारपार गर्नु परेकाले दुइटा पुल बनाउनु पर्ने उपभोक्ता बताउँछन । पानीको सतह ठुलो नभएकाले पुल नभएपनि यातायात सञ्चालनमा भने कुनै कठिनाइ नहुने उत्तर–दक्षिण लोकमार्ग आयोजना प्रमुख कुबेर नेपाली वताउँछन् ।

टिप्तालादेखि गोलासम्मको २१ किलोमिटर सडक निर्माण भएको छ । राष्ट्रिय राजमार्गमा जोड्न अव ३८ किलोमिटर ट्रयाक खोल्न बाँकी छ । सदरमुकाम फुङलिङवाट फक्ताङलुङ गाउँपालिकाको तापेथोकसम्म सडक पुगेको छ ।

प्रकाशित : श्रावण २६, २०७४ १८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?