कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

धरापजस्ता सडक

भरतपुर ब्युरो

काठमाडौं — जताततै खाल्डा अनि तिनमा टनाटन पानी । सडक हो कि तलाउ, छुट्याउन मुस्किल छ । कालोपत्रे उप्किएर बगरझैं देखिन्छ । गाडीमा थोरै दूरी पार गर्न पनि घण्टौं लाग्छ । दुर्घटना जोखिम उत्तिकै छ । यो कुनै ग्रामीण सडकको वर्णन होइन, राजमार्गकै यस्तो हालत छ ।

 धरापजस्ता सडक

पूर्वपश्चिम राजमार्ग र सहायक मार्ग कुनै ‘धराप’ भन्दा कम लाग्दैनन् ।

नवलपरासीस्थित मुख्य राजमार्ग र भित्री सडक हिलाम्मे छन् । व्यवस्थित ढल निकास नभएकाले वर्षामा सडक भत्किने गरेको छ । हिलोले यातायात अवरुद्ध भइरहन्छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने खण्डमा ठूल्ठूला खाल्डा छन् । पछिल्लो समय खाल्डाकै कारण दुर्घटना बढेको छ । यहाँ सामान्य वर्षामै दर्जनौं ठाउँमा पहिरो खस्छ । 

गैंडाकोट–रामपुर, भेडाबारी–बसेनी, दलदले–कोटथर, केउरेनी–बन्दीपुर, रजहर–बाहकोल, कावासोती–अर्खला हुँदै पाल्पा रामपुर, कावासोती–रकुवा, डण्डाख्पनौती, चोरमारा–रुचाङ, अरूणखोला–राँकाचुलीलगायत दुम्कीबास, बर्दघाट, सुनवलबाट उत्तरी पहाडी भेगका भित्री सडकमा आहाल जमेको छ । त्यसमाथि पहिरोको अवरोध उत्तिकै छ । बर्दघाट–त्रिवेणी, परासी–महेशपुर खण्डमा खाल्डाखुल्डीले पैदलयात्री र यातायात व्यवसायी मर्कामा छन् । सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर अमित बर्मा सामान्य वर्षामा समेत पटकपटक पहिरो झर्ने भएकाले सडक बिग्रँदै गएको बताउँछन् । 

पोखरी जत्रा खाडल 
सोमबार मध्याह्न वीरगन्जको बिर्ताबाट यात्रु बोकेर बाइपास सडक सिमरा विमानस्थल गइरहेका भ्यान चालक जगदीश साह संकटमा परे । मुख्य सडकमै ठूल्ठूला पोखरी थिए । ठूला गाडीलाई नै खाल्डा पार गर्न सकस देखिन्थ्यो । ‘बडेमानका पोखरी कसरी तर्ने होला ?’ साह चिन्ता गर्न थाले, ‘उता जहाज उड्ने बेला हुन लागिसक्यो, हामी वीरगन्जमै छौं ।’ बाइपास हुँदै गुड्ने सवारीका हरेक चालकले अहिले यस्तै पीडा भोगिरहेका छन् । वीरगन्ज महानगरमा सवारी चाप घटाउन बनाइएको हो, बाइपास । तर, २ वर्षयता जीर्ण छ । नियमित मर्मत सम्भार छैन । नगवा चोकबाट बसपार्क नआउँदै, बसपार्क चोकको उत्तर र दक्षिण, भिस्वा होटल चोक र शुभलाभ पम्प गरी ५ ठाउँमा असाध्यै बिग्रिएको छ । साना–ठूला सबैजसो गाडी खाल्डोमा भासिने, बिग्रने गरेका छन् । त्रिभुवन राजपथको गण्डक चोकबाट सुरु भएर रजतजयन्ती चोकमा टुंगिने साढे ७ किमि लामो यो सडक विभागले २०५४ सालमा बनाएको हो । यहाँ दैनिक वीरगन्ज भन्सारबाट छुट्ने हजारभन्दा बढी मालवाहक सवारीसाधन गुड्छन् । ट्राफिक प्रहरीले मालवाहक तथा यात्रुवाहक सवारीसाधनलाई नगरको मुख्य सडक पस्न नदिने भएकाले चालकहरूलाई बाइपासको विकल्प छैन । 

सडकको दुरवस्था
मकवानपुरको हेटौंडाबाट राजधानी प्रवेश गर्ने त्रिभुवन राजपथ, हेटौंडा–भीमफेदी–कुलेखानी–दक्षिणकाली र फाखेल–फर्पिङ सडकको अवस्था नाजुक छ । सवारीसाधन जोखिम मोलेर आउजाउ गर्छन् । मुग्लिन–नारायण खण्ड बिग्रिएपछि राजपथमा चाप बढेको छ । यसले गर्दा खाल्डाखुल्टी झन् बढदै छन् । विगतमा दैनिक मुस्किलले एक सयजति गाडी आउजाउ गर्ने यो सडकमा अहिले चौबीसै घण्टा ठूला सवारीसाधन चल्छन् । 

त्यस्तै हेटौंडाबाट दक्षिणकाली तथा फाखेल–फर्पिङ हुँदै राजधानी प्रवेश गर्ने वैकल्पिक मार्ग पनि सहज छैनन् । फर्पिङतर्फको बाटो फराकिलो बनाएर ओटासिल त गरिएको छ तर ठाउँठाउँमा पहिरो खसेको छ । ओटासिल उप्किएर ठूल्ठूला खाल्डा बनेका छन् । कुनै पनि बेला पहिरोले सवारी साधन पुर्ने जोखिम छ । दक्षिणकालीतर्फ विगतदेखि नै स्तरोन्नति र मर्मत चलिरहेको छ, अझै सकिएको छैन । पहिरो झरिरहन्छ । खाल्डाखुल्डी उत्तिकै छन् । गाडीका टायरै पुरिने गरी हिलो जमेको छ । जोखिम मोलेरै दैनिक झन्डै हजारवटा जति हलुका सवारीसाधन गुड्छन् । दोस्रो चरणको ओटासिल र मर्मत गर्न फर्पिङ तर्फको सडकमा मंगलबारदेखि भदौ मसान्तसम्मलाई अवागमन रोकिएको छ । जिल्ला समन्वय समितिबाट सञ्चालित ‘राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण’ अन्तर्गत ओटासिल गरी पहिरो पन्छाएर विभिन्न संरचना बनाउने तयारी छ । 

खाल्डैखाल्डा
रौतहटमा पनि पूर्वपश्चिम राजमार्गमा खाल्डाले दुर्घटना जोखिम बढाएको छ । धनसर पुलदेखि वाग्मती पुलसम्मको सडक निकै भत्किएको छ । तीव्र गतिका सवारीसाधन खाडल छल्ने क्रममै दुर्घटनामा पर्छन् । आव २०७३/०७४ मा यसरी ९४ दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख राममणी उप्रेतीले बताए । यी दुर्घटनामा ४४ जनाले ज्यान गुमाएका छन् । ‘राजमार्गमा खाल्डैखाल्डा छन्,’ उप्रेतीले भने, ‘खाल्डा छल्ने क्रममा सवारीसाधन दुर्घटनामा पर्छन् ।’ डिभिजन सडक कार्यालयले रौतहटमा पूर्वपश्चिम राजमार्ग तथा सहायक मार्गका खाल्डाखुल्डी पुर्न आव २०७३/०७४ मा ७१ लाख ११ हजार रुपैयाँ खर्चिइएको जनाएको छ । तर, अहिले पनि सडकको दुरवस्था जस्ताको त्यस्तै छ । कार्यालयले १ करोड १० लाख रुपैयाँ अनुमानित बजेट छुट्याएको थियो । टेन्टर प्रक्रियामा राजभक्त कन्स्ट्रक्सन चन्द्रनिगाहपुरले ७१ लाख ११ हजार रुपैयाँमा सकारेको कार्यालयका इन्जिनियर रामेश्वर साहले बताए ।

जोखिम बढदो
सर्लाही खण्डमा सडकसँगै पुलसमेत जीर्ण भइसकेका छन् । वाग्मती, लखनदेही र कालिन्जोर पुलमा अनगिन्ती खाल्डा छन् । दुर्घटना गराउने एम्बुसजस्तै बनेका यी खाल्डा पुर्ने प्रयास अहिलेसम्म भएको छैन । बाँके जंगलनजिक कजवे खोल्न डाइभर्सन बनाउने योजना छ । तर, महिनौं बित्दा पनि डाइभर्सनको काम सकिएको छैन । राजमार्ग किनारकै नयाँरोडस्थित ट्रक व्यवसायी संघ कार्यालयअगाडिको तौल काँटामा भारवाहक सवारीले ठूलो खाल्डो बनाएको छ । तौल गरेर दैनिक लाखौं रुपैयाँ असुल्ने संघले खाल्डो पुर्न ध्यान दिएको छैन । जिल्ला ट्राफिक प्रहरी कार्यालयका नायब निरीक्षक केशरमान श्रेष्ठले खाल्डो पुर्न र सडक मर्मत गर्न सडक डिभिजनले ढिलाइ गर्ने गरेको बताए । ‘समयमै सडक मर्मत नहुँदा दुर्घटना बढेको छ,’ उनले भने, ‘बर्खाका बेला गरिएको काम टिकाउ हुँदैन ।’ उनले महिनामा एक/दुईवटा सवारी खाल्डाकै कारण दुर्घटनामा पर्ने गरेको उल्लेख गरे । सर्लाही खण्डमा पर्ने ३८ किमि सडक सबै नै बिग्रिएको छ । कपिलवस्तुमा पनि राजमार्गका बनेका खाडलले जोखिम बढेको छ । जिल्लामा पर्ने  ५२ किमि सडकमध्ये कोठी खोला, बनगाई, इमिलिया र खरेन्द्रपुर आसपास खाल्डा छन् । चन्द्रौटा, सुरही नदी र शिवपुरमा पनि सडक बिग्रिएको छ । ‘खाल्डामा पानी जमेपछि अझ समस्या हुन्छ,’ खरेन्द्रपुरका सञ्जय मल्लले भने, ‘पानीले खाल्डो अझ ठूलो बनाइदिन्छ ।’ 

बाह्रैमास उस्तै समस्या 
राजधानी र पोखरालाई देशका अन्य भूभागसँग जोड्ने नारायणगढ–मुग्लिन सडक (३६ किमि) पार गर्न पहिले गाडीलाई एक घण्टा लाग्थ्यो । दुई वर्षयता सडक स्तरोन्नति क्रममा बनेका खाडलका कारण यात्रुले सास्ती भोग्नुपरेको छ । अहिले उक्त सडक पार गर्न २ घण्टाभन्दा बढी लाग्छ । मुलुकको ‘लाइफ लाइन’ मानिएको मार्ग अहिले ‘धराप’ छ । कालोपत्रको नामोनिसान छैन । खाल्डाले दुर्घटना निम्त्याउन थालेपछि स्थानीय प्रशसनले ग्राभेल राखेर सम्याउन निर्देशन दिए पनि ठेकेदारले वास्ता गरेको छैन । खाडलमा उफ्रिँदा पट्टा भाँचिएर थन्किएका गाडी प्रसस्तै भेटिन्छन् । 

यो खण्डमा सवारी जाम हुनुको मुख्य कारण यही नै हो । ‘धेरैजसो गाडी खाडल जोगाउने क्रममा त्रिशूलीमा खसेका र दुर्घटना भएका छन्,’ जिल्ला प्रहरी प्रमुख एसपी दीपक थापाले भने, ‘चालकलाई मात्र दोषी देखाएर के गर्नु ? सडकको अवस्था नै कहालीलाग्दो छ ।’ यो सडकमा एक मिटरसम्म गहिरा खाडल छन् । साना सवारी खास गरी जिप, कार र मोटरसाइकललाई निकै असहज छ । ‘सडकको अवस्था धराप छ, यस्तैमा गाडी चालक ओभरटेक गर्न खोज्छन्,’ जिल्ला ट्राफिक प्रमुख सन्तोष पन्तले भने, ‘दुर्घटनाको मुख्य कारणमध्ये खाडल पनि एक हो ।’ 

प्रकाशित : श्रावण २७, २०७४ ००:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?