घरको भित्तो भत्किँदा नाति र हजुरबाको मृत्यु

पूर्ण विके

बागलुङ — अविरल वर्षाले घरको भित्तो भत्किँदा शुक्रबार बिहान गलकोट ९ बडागाउँमा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ । पहिरोमा १३ वर्षीय नाति विवेक विक र ७५ वर्षीय हजुरबा जयलालको पुरिएर मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरिचौरले जनाएको छ ।

 घरको भित्तो भत्किँदा नाति र हजुरबाको मृत्यु

नाति र हजुरबासँगै सुतेको अवस्थामा करिब २ बजे घर पछाडिको भित्तो पल्टिएको प्रहरीले जनाएको छ । बिहान घरका कोही पनि नउठेपछि आफूहरुले घरमा गएर हेर्दा भित्तो खसेर च्यापिएको अवस्थामा देखेको स्थानीय रामबहादुर विकले बताए । राति पहिरोको आवाज आएको सुने पनि मानिसहरुको आवाज नआएकोले खुला स्थानमा पहिरो गएको होला भन्ने आफूहरुले ठानेको उनले बताए ।
 
घरपछि खाली स्थान नछोडी जमिनको सतहबाटै गाह्रो लगाउँदा जमिन पहिरिएर गाह्रो भत्किँदा मानवीय क्षति हुन पुगेको शव निकाल्न खटिएका प्रहरी नायव निरीक्षक मनबहादुर विकले बताए । प्रहरी र स्थानीयले पहिरो पन्छाएर शव निकालेका थिए । दुवै जनाको शवलाई पोस्टमार्टमको लागि गलकोट प्राथमिक स्वास्थ्य केन्द्र हरिचौरमा राखिएको छ ।
 
मृतक विवेकका बाबु वैदेशिक रोजगारीको क्रममा कतारमा रहेको र आमाले दोस्रो विवाह गरेपछि हजुरबा जयलालले उनको संरक्षण गर्दै आएको स्थानीयले बताए । 
अघिल्लो शुक्रबार पनि वर्षापछि आएको पहिरोले बाग्लुङ निखीखोला २ बाहुनगाउँका एकै घरका ६५ वर्षीय मनिमान छन्त्याल, उनकी श्रीमती ६३ वर्षीया नन्दकली, १८ वर्षीया छोरी गीता र २२ वर्षीया बुहारी विन्दुको घर परिएर मृत्यु भएको थियो । त्यसै गरी निसीखोला १ हुल्दीका ७६ वर्षीया खगिसरा सिंजालीमगर र ढोरपाटन ५ का ५३ वर्षीय ओमप्रकाश कामीको समेत मृत्यु भएको थियो । गलकोट नगरपालिका प्रमुख भरत शर्मा गैरेले मृतक परिवारलाई राहतस्वरुप तत्कालै ३० हजार रुपैयाँ विनियोजन गरिएको बताए । 

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले घटना दुखद् भएको भन्दै पहिरो सम्भावित घरहरुको पहिचान गरी सुरक्षित वासस्थानको व्यवस्था गर्न आफूले सरोकारवाला निकायलाई भनेको बताए । मृतक परिवारलाई तत्कालै राहत उपलब्ध गराइने उनले बताए । 

प्रकाशित : श्रावण २७, २०७४ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?