कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जहिल्यै जनसेवा

कान्तिपुर संवाददाता

काठमाडौं — गुणस्तरीय चिकित्सा शिक्षा र सेवा आम जनताको पहुँचमा पार्न ११ औं पटक १९ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीले शुक्रबार राति १०:४५ बजे कान्तिपुरसँग भने– ‘हामी जनता र विद्यार्थीका लागि लडेका हौं, माफियाका लागि होइन ।

जहिल्यै जनसेवा

अहिले चिकित्सा शिक्षा ऐन माफियाका लागि ल्याउन खोजिएको छ, हामी त्यसलाई मान्दैनौं । मेडिकल कलेजका लगानीकर्ता संसद्मा छन् । उनीहरु नै कार्यदलमा पनि छन् । योभन्दा गैरप्रजातान्त्रिक कुरा अरु के होला ? संसद्मा प्रजातन्त्रकै उपहास भइरहेको छ । जनताले तिरेको करबाट तलब लिनेहरु आफ्नो घृणित स्वार्थ पूरा गर्न लागेका छन् । माफिया र गुन्डाविरूद्धको मेरो लडाइँ जारी रहनेछ ।’ 

कित्सा शिक्षा र सेवामा डा. केसीका उल्लिखित प्रतिबद्धता नौला भने होइनन् । उनको अहिलेसम्मको जीवनयात्रा चिकित्सककै रूपमा पनि अरूको भन्दा असाधारण छ ।

त्रिवि शिक्षण अस्पतालको क्वाटरमा बस्ने अविवाहित केसी जनसाधारणलाई सेवा दिन र आपतविपतमा परेकाको उपचार गर्न सधैं अग्रसर रहन्छन् । चिकित्सकका रूपमा प्राप्त हुने आफ्नो तलबबाट उनी हरेक वर्ष कुनै दुर्गम वा महामारीग्रस्त ठाउँमा औषधि बोकेर पुग्ने गरेका छन् । २०७२ को भूकम्पका बेला होस् वा जाजरकोटमा महामारी फैलिएका बेला, आफ्नो व्यक्तिगत दु:खकष्ट पर्वाह नगरी बिरामीको उपचारमा खटिएका थिए ।

उनको यो परोपकारी कदमले पटक–पटक मुलुकका सीमासमेत छिचोलेका छन् । बर्माको सुनामीमा होस् वा पाकिस्तानमा उनी जनसाधारणको सेवामा खट्न पुगेका थिए । हैटीको भूकम्पका बेलासमेत उनी प्राकृतिक विपत्तिमा परेकाको स्वास्थ्य उपचारमा समर्पित हुन पुगे । सन् २००४ को सुनामीपछि डा. केसी विपतमा परेकाको उपचारका लागि बर्मा पुगे ।

सुनामीले सबैभन्दा बढी प्रभावित क्षेत्रमा जान त्यहाँको सैनिक सरकारले अनुमति नदिएपछि उनले यांगुनको बाहिरी क्षेत्रमै पीडितको उपचार गरेका थिए । त्यहाँका स्वास्थ्यकर्मीलाई प्रशिक्षण पनि दिएका थिए । सैनिक सरकारले पक्राउ गर्ने डर भएपछि उनी बीचमै म्यान्मार छोड्न बाध्य भए ।

त्यस्तै २००५ मा पाकिस्तानमा भूकम्प आएपछि डा. केसी त्यसमा परेर घाइते भएकाहरूको उपचारका लागि तालिवानी गतिविधि बढिरहेका बेला त्यहाँ पुगेका थिए । सन् २०१० मा अफ्रिकी मुलुक हैटीमा भूकम्प आएपछि डा. केसी घाइतेको उपचारका लागि त्यहाँसमेत पुगेका थिए । 

(तस्बिरहरू डा. जीवन क्षत्री र डा. सुमन आचार्यबाट प्राप्त)

प्रकाशित : श्रावण २८, २०७४ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?