कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

वार्ता टुंगोमा पुगेन, चिकित्सा शिक्षा विधेयक समितिबाट पारित

-आशयपत्र पाएर पूर्वाधार पूरा गरेका मेडिकल कलेजले नयाँ मापदण्ड पूरा गर्नुपर्ने
-अस्पताल सञ्चालन भएको दुई वर्षपछि मात्रै मेडिकल कलेज खोल्न पाइने
अतुल मिश्र

काठमाडौं — सरकारी वार्ता टोली र डा. गोविन्द केसीका प्रतिनिधिबीच शुक्रबार साँझ भएको वार्ता पनि टुंगोमा पुग्न सकेन । हालको विधेयकमा समेत गडबडी गर्न सकिने थुप्रै ठाउँ खुला राखिएको औंल्याउँदै डा. केसीले वार्ता भइरहेकै समय फोन गरेर आफ्ना प्रतिनिधिलाई ‘वार्ता भंग गरेर आउन’ भनेका थिए ।

वार्ता टुंगोमा पुगेन, चिकित्सा शिक्षा विधेयक समितिबाट पारित

सरकारी पक्षसँग भएका छलफलबारे केसीका प्रतिनिधिले शुक्रबार राति अनशनस्थल गएर उनलाई जानकारी गराएका थिए । सरकारी वार्ता समितिले हस्ताक्षर गरिएको कागतपत्र नदेखाएको जनाउँदै वार्ता सकिएलगत्तै डा. केसीका प्रतिनिधि डा.वाईपी सिंहले भने, ‘अहिले पनि धेरै लुप होल छन्, मलाई उहाँले मान्नुहुन्छ जस्तो लाग्दैन ।’ 

 

हस्ताक्षर गरिएको कागज सरकारी पक्षले प्रस्तुत नगरेको अवस्थामा संसद्को पूर्ण बैठकमा गएपछि कागजपत्र परिवर्तन हुन सक्ने आशंकासमेत केसी प्रतिनिधिहरूको छ । सरकारले शुक्रबार दिउँसो डा. केसीलाई अनशन तोड्न प्रस्ताव पठाएको थियो । उच्च स्रोतका अनुसार केसी पक्षले भने संसद्मा प्रस्तुत हुने चिकित्सा शिक्षा विधेयकको मस्यौदाबारे विस्तृत अध्ययन गरेपछि मात्र आधिकारिक प्रतिक्रिया दिने जनाएका थिए । संसदीय समितिले उक्त विधेयक पारित गरेपछि सरकारी र केसी प्रतिनिधिबीच सिंहदरबारमा साँझ फेरि वार्ता भएको थियो । यसअघि बिहीबार राति ९ देखि १ बजेसम्म यसै विषयमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको आयोजनामा बैठक भएको स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले कान्तिपुरलाई बताए । 

 

उक्त बैठकमा स्वास्थ्यमन्त्री पोखरेल, शिक्षामन्त्री, पूर्वस्वास्थ्यमन्त्री गगन थापा, जीवन परियार, धनीराम पौडेल, केदारभक्त माथेमा, डा. भगवान कोइराला, डा. अर्जुन कार्की, मदन उपाध्याय, उमेशकान्त पोखरेलसँगै वार्ता टोलीका सदस्य सहभागी थिए । छलफलले डा. केसीका मागबारे मिलनविन्दु खोज्दै त्यसलाई अनशन तोडाउने प्रस्तावका रूपमा लिएर जाने निर्णय गरेको थियो ।

शुक्रबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार रातिको टोलीसहित महिला, बालबालिका समितिका सभापति रन्जु झालाई समेत बोलाएर विस्तृत छलफल गरेका थिए । त्यहाँ बृहत् टोलीले गृहकार्य गर्दै साझा सहमतिसहित अनशन तोड्ने प्रस्ताव डा. केसीसमक्ष पठाएको थियो । प्रधानमन्त्री देउवाले त्रिविसँग सम्बन्धित मागका लागि त्रिविका उपकुलपति, रेक्टर, रजिस्ट्रारलगायतलाई बोलाएर भन्ने बालुवाटार बैठकमा बताएका थिए । माथेमा आयोगको मूल भावना पक्रँदै चिकित्सा शिक्षा विधेयकलगायत अन्य माग सम्बोधन गर्ने प्रस्ताव राखिएको उल्लेख गर्दै स्वास्थ्यमन्त्री पोखरेलले हाल अवस्था धेरै सकारात्मक रहेको जनाएका थिए । ‘हामीहरूले उहाँ (डा.केसी) सहमत हुने गरी नै प्रस्ताव निर्माण गरेका छौं,’ स्वास्थ्यमन्त्री पोखरेलले भने । 

 

यसैबीच केसीका माग पूरा गर्न दबाब दिन डाक्टरहरूले प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरे । शिक्षण अस्पतालबाट निस्किएको डाक्टरहरूको जुलुस बालुवाटारसम्म पुगेको थियो । प्रहरीले जुलुसलाई अगाडि बढ्नसमेत रोकेको थियो ।

 

आकस्मिक बाहेकका सेवा बन्द

नेपाल चिकित्सक संघले डा. गोविन्द केसीको माग अविलम्ब पूरा गर्न भन्दै शुक्रबार दिउँसोदेखि अर्को निर्णय नहुँदासम्मका लागि मुलुकभरका सबै स्वास्थ्य निकायमा कार्यरत चिकित्सकले आकस्मिक बाहेकका स्वास्थ्य सेवा पूर्ण रूपले बन्द गर्ने निर्णय गरेको छ ।

 

‘हामीले अर्को सूचना नभएसम्मका लागि आजदेखि नै आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छौं,’ संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले कान्तिपुरसँग भने, ‘डा. केसीका माग पूरा भएर अनशन नतोडिएसम्म हाम्रो आन्दोलन जारी रहन्छ ।’ देशभरका सबै स्वास्थ्य संस्थामा बहिरंग सेवा बन्द गर्ने परिस्थिति सरकारले नै सिर्जना गरेको भन्दै चिकित्सकहरूले यसबाट आम नागरिकमा पर्न गएको असुुविधाप्रति दु:खसमेत प्रकट गरेका छन् । 

 

सरकारी चिकित्सक संघ (गोदान) ले पनि केसीको जीवन रक्षासँगै माग पूरा गराउन मुलुकभरका सरकारी स्वास्थ्य निकायमा शुक्रबार आकस्मिक बाहेकका सेवा बहिष्कार गरेको छ । केसीको समर्थनमा देशभरका सरकारी स्वास्थ्य निकायमा आकस्मिक बाहेकका सेवा सञ्चालन नभएको उल्लेख गर्दै गोदानका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले भने, ‘तर हामीले अस्पताल आएका बिरामीलाई फर्काएनौं, उहाँहरूलाई टिकट नकाटी अस्पताल परिसरमै उपचार गर्‍यौं ।’ 

प्रकाशित : श्रावण २८, २०७४ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?