कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

जताततै बाढीपहिरो

१ को मृत्यु, ३ बेपत्ता, सयौं परिवार विस्थापित, थुप्रै बस्ती र सहर डुबानमा, सडक भत्कँदा गाउँहरू सम्पर्कविच्छेद
पूर्वाञ्चल ब्युरो

विराटनगर — केही दिनयताको अविरल वर्षाका कारण पूर्वी जिल्लामा जनजीवन प्रभावित बनेको छ । दर्जनौं घर क्षतिग्रस्त भएका छन् भने सयौं परिवार विस्थापित भएका छन् । ग्रामीण सडक जताततै पहिरोले अवरुद्ध पारेको छ ।

जताततै बाढीपहिरो

पाँचथरको फालेलुङ गाउँपालिकामा गएको पहिरोमा एक जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता छन् । पहिरोसगै घर बग्दा एकतिनको चुक्पादेनका ७५ वर्षीय त्रिलोचन विश्वकर्माको मृत्यु भएको हो । उनको शव पहिरोमा भेटिएको छ । फालेलुङ ३ मेमेङ ताङ्लेपामा आएको पहिरोमा ५५ वर्षीय विष्णुभक्त राई, उनकी छोरी १२ वर्षीय गंगा राई र ११ वर्षीया नातिनी प्रिया राई बेपत्ता छन् । मेमेङको ताङलेपामा १० घर पूर्ण रूपमा क्षति भएका छन् । स्थानीयले राति नै भागेर ज्यान जोगाएका थिए । पहिरोमा घर क्षतिग्रस्त बनाएपछि २० परिवार विस्थापित 
भएका छन् । 

खाँडो, जिता र कोसी नदीको बाढीले डुबानमा परेको सप्तरीको तिलाठीस्थित भन्सार कार्यालय, सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट र प्रहरी चौकी । तस्बिर : अमन कोइराला, अवधेशकुमार झा/कान्तिपुर

पहिरोले सडकमा जताततै अवरोध पुर्‍याएको छ । सदरमुकामबाट हिँडेको प्रहरी प्रमुख डीएसपी नकुल पोखरेल नेतृत्वको टोली पहिरोकै कारण घटनास्थल पुग्न सकेको छैन । स्थानीय प्रहरी चौकी एकतीन र मेमेङबाट गएको प्रहरीसमेत घटनास्थल पुग्न नसकेको प्रहरी नायब उपरीक्षक नकुल पोखरेलले बताए ।
पहिरोले स्थानीय निबुखोलाबाट उत्पादित १३ किलोवाट क्षमताको लघु जलविद्युत् आयोजनासमेत बगाउँदा त्यस क्षेत्र अन्धकार भएको छ । माङ्लेबुङमा पनि पहिरोले १० घर क्षति पुर्‍याएको छ ।

चारैतिरबाट बाढीपहिरोले कटान सुरु गरेकाले जोखिममा परेका स्थानीय सुरक्षित स्थलतर्फ जान समस्या छ भने उद्धारकर्मीसमेत जान सक्ने अवस्था छैन । स्थानीय बासिन्दा त्रासदीपूर्ण अवस्थामा रहेको स्थानीय सुरेन्द्र अधिकारीले टेलिफोनबाट जानकारी गराए । जिल्लाका सबै गाउँटोलसम्म सडक यातायातको पहुँच पुगे पनि पहिरोले क्षति पुगेकाले सवारीसाधन जान सक्ने अवस्था नरहेकाले प्रहरी र सञ्चारकर्मीको टोली पैदलै त्यसतर्फ गइरहेको प्रहरी नायब उपरीक्षक नकुल पोखरेलले जानकारी दिए ।

घर भत्केपछि विस्थापित
घर भत्केपछि इलाम सदरमुकामस्थित नारायणस्थानमा एक परिवार विस्थापित भएको छ । सडकको तल्लोपट्टि रहेको दुईतले घर बिहीबार राति भत्कँदा भाडामा लिएर बस्दै आएको परिवार विस्थापित भएको हो । राति अचानक घर भत्कन थालेपछि त्यहाँ रहेकाहरू भागेका थिए । सूर्योदय नगरपालिकास्थित फिक्कल स्वास्थ्य केन्द्र नजिकै पहिरो गएकाले जोखिममा छ । चुलाचुली गाउँपालिका १ स्थित सागर आधारभूत विद्यालय पहिरोले पुरिएको छ । नजिकैको कमल खोलाले जमिन कटान गरेपछि पहिरो झरेको थियो । वर्षाका कारण जिल्लामा मानवीय क्षति नभएको प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले बताए । 

सयभन्दा बढी परिवार जोखिममा
अविरल वर्षासँगै बाढीपहिरो जाँदा धनकुटाको साँगुरीगढी गाउँपालिका ६ स्थित मझुवा र मुक्तेन गाउँ उच्च जोखिममा छन् । चार वर्ष पहिले ती गाउँ छेवैमा गएको भीषण पहिरो पुन: दुई दिनदेखि लगातारको वर्षाले बग्न थालेपछि सिंगो बस्ती प्रभावित बनेको हो । मझुवा र मुक्तेन गाउँका १ सय २६ परिवार पहिरोबाट प्रत्यक्ष प्रभावित भएका छन् भने दुवै गाउँका १४ परिवार विस्थापित बनेको साँगुरीगढी गाउँपालिकाका प्रमुख कुमारजंग याखाले जानकारी दिए । मझुवाको साचा खोलामा आएको बाढीसँगै आसपासका बस्ती जोखिममा परेका हुन् ।

स्थानीय अमृत मगरको ७ रोपनी खेत खोलाले बगाएको छ । ‘घरबार नै पहिरोले गुम्यो,’ उनले भने, ‘सुरक्षित ठाउँ खोज्दै आफन्तको शरणमा बस्दै आएको छु ।’ साचा खोलाको पहिरो बर्सेनि फैलिँदै गएपछि क्रमश: बस्तीसम्म आइपुगेको स्थानीय यमबहादुर मगरले जानकारी दिए । मुझवासँगै जोडिएको मुक्तेन गाउँ पनि पहिरोको उच्च जोखिममा छ । १ सयमध्ये १० परिवारले आफ्नो थातथलो छाडिसकेको साँगुरीगढी गाउँपालिका ६ का वडाध्यक्ष दीपक मगरले बताए । पहिरोपीडित परिवार स्थानान्तरण गर्नेबारे सम्बन्धित निकायसँग समन्वय गरिने गाउँपालिकाका प्रमुख याखाले बताए । 

सडक अवरुद्ध
लगातारको वर्षाले विभिन्न स्थानमा पहिरो जाँदा शुक्रबार बिहानदेखि जिल्लाका कैयौं ग्रामीण सडक अवरुद्ध बनेको छ । भेडेटार–बुधबारे सडक खण्डअन्तर्गत चौबिसे गाउँपालिका १ सौर्यमा बिहान गएको पहिरोले उक्त सडक अवरुद्ध भएको हो । सडकका विभिन्न स्थानमा पहिरो गएपछि बिहानैदेखि यातायात सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ । धनकुटाको छथर जोरपाटी गाउँपालिका १ स्थित सिधुवा–जितपुर सडक खण्डमा पनि शुक्रबार बिहान पहिरो गएको छ । 

सुनसरीका थुपै्र गाउँबस्ती डुबानमा परेका छन् । कोसी गाउँपालिकाको वडा ३, ४, २ र १ का दर्जनौं घर डुबानमा परेका छन् । लौकही, जमुवा, झापा टोल, उराव टोल र आसपास क्षेत्रका सयभन्दा बढी घर डुबानमा परेका छन् । खोलाको भल बाढी पस्दा स्थानीयको खाद्यान्न नष्ट भएको छ । घरभित्र भएका कपडा, भाँडाकुँडा र अन्य धनमाल पानीमा डुबेर क्षति भएको प्रहरीले जनाएको छ ।
गाउँ पसेको बाढीले चापाकलसमेत डुबेपछि खानेपानी समस्या भएको छ । घर पूरै डुबानमा परेर खाद्यान्न, कपडा नष्ट भएपछि दर्जनौं परिवार सुरक्षित बास खोज्दै विद्यालयलगायत सार्वजनिक स्थानमा गएका छन् । कोसीमा पानीको बहाव बढेको छ । शुक्रबार साँझ कोसी ब्यारेजमा २ लाख ५८ हजार क्युसेक प्रतिसेकेन्ड मापन गरिएको छ । ब्यारेजका ५६ मध्ये ३२ ढोका खोलिएका छन् ।

झापाका ३ सय घर डुबानमा
दमक– लगातारको वर्षाले झापाका विभिन्न स्थानमा ३ सयभन्दा बढी घर डुबानमा परेका छन् । जिल्लामा दुई दिनयता लगातार वर्षा भइरहेको छ । कन्काई नदीमा आएको बाढीका कारण ९ परिवार विस्थापित भएका छन् । कन्काई नदी र निन्दा खोलामा आएको बाढीका कारण ६ सय ५० घरपरिवार डुबानको जोखिममा छन् । नेपाल रेडक्रस सोसाइटीका अनुसार कन्काई नदीमा आएको बाढीका कारण गौरीगन्ज गाउँपालिका–२ कोरोबारीस्थित मिन्डाघुटु बस्तीका ५ परिवार विस्थापित भएका छन् ।

सन्थाल समुदायका २१ घरपरिवारको बसोबास रहेकोमा उक्त स्थानबाट छमी हस्दा, सोम मर्डी, मंगल मुर्मु, मुन्सी मुर्मु र साइँला मुर्मुको परिवार विस्थापित बनेको हो । कनकाई नदीकै बाढीले झापा गाउँपालिका–७ मदरगाछका चार परिवार विस्थापित बनेको जिल्ला रेडक्रसले जनाएको छ । 

प्रकाशित : श्रावण २८, २०७४ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?