१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सकियो बिमस्टेक

चन्द्रशेखर अधिकारी

काठमाडौं — आगामी चौथो शिखर सम्मेलनको तिथि नै नतोकी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडीको प्रयास (बिमस्टेक) को १५ औं परराष्ट्रमन्त्री स्तरीय बैठक शुक्रबार सकिएको छ ।

सकियो बिमस्टेक

बैठकमा शिखर सम्मेलनको तिथि प्रस्ताव हुने र पारित हुने प्रचलन छ । नेपालले तीन वर्षअघि नै अध्यक्षता लिँदै शिखर सम्मेलन जतिसक्दो छिटो गराउने बताए पनि तिथि तय गर्न चुकेको हो ।

सन् २०१७ भित्र बिमस्टेक शिखर सम्मेलन गर्न नेपालले बजेटसमेत छुट्याएको छ । बैठकमा नेपालले शिखर सम्मेलनको तिथि प्रस्ताव नै गर्न सकेन । आगामी निर्वाचनको कारण देखाउँदै नेपालले पछि छलफल गरेर तिथि तय गर्ने जनाएको छ । गत वर्ष असोजमा भारतमा सम्पन्न ब्रिक (ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिका) सम्मेलनको साइडलाइनमा भएको बिमस्टेक रिट्रिटमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले सन् २०१७ भित्र बिमस्टेकको शिखर सम्मेलन गर्ने प्रतिबद्धता जनाएका थिए । उनकै दलबाट उपप्रधान तथा परराष्ट्र मन्त्री रहेका कृष्णबहादुर महराले मन्त्रीस्तरीय बैठकको अध्यक्षता गरेका थिए ।

बैठकपछि शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले बिमस्टेकको चौथो शिखर सम्मेलनको तिथि सदस्यराष्ट्रसँग सल्लाह गरी तय गरिने बताए । यो मन्त्रीस्तरीय बैठकमा तिथि तय हुन नसकेपछि सन् २०१७ मा शिखर सम्मेलन हुने सम्भावना टरेको परराष्ट्रका एक अधिकारीको भनाइ छ । ती अधिकारीका अनुसार दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको शिखर सम्मेलनको निश्चिततासँगै बिमस्टेकको शिखर सम्मेलनको निश्चितता हुनेछ । 

‘सार्क र बिमस्टेक फरक–फरक संगठन हुन् । दुवैको फरक–फरक महत्त्व रहेकाले एउटाको विकल्प अर्को नभएको, तर समन्वय गर्दै अघि बढ्ने संगठनका रूपमा बुझ्न आवश्यक छ,’ महराले भने, ‘हामी सार्क र बिमस्टेक दुवैलाई आ–आफ्नै खालको महत्त्व दिनेछौं ।’ मन्त्रीस्तरीय बैठकमा गत असोजमा गोवामा व्यक्त प्रतिबद्धता र १६ बुँदे निर्णय कार्यान्वयनको अवस्थाको समीक्षा भएको जानकारी महराले दिए । नेपालले बिमस्टेकका ऊर्जामन्त्रीस्तरीय तेस्रो बैठक सन् २०१८ को सुरुमा गर्ने प्रस्ताव गरेको छ । बैठकमा गरिबी निवारण सम्मेलन गर्ने प्रस्तावसमेत नेपालको छ ।

बैठकमा सबै सदस्य मुलुक आतंकवाद, उग्रवाद तथा अन्य अपराध नियन्त्रणसम्बन्धी क्षेत्रीय अभिसन्धि र समान धारणासम्बन्धी सम्झौतामा हस्ताक्षर र अनुमोदन गर्न तयार भएका छन् । उक्त अभिसन्धि तथा सम्झौता आगामी चौथो शिखर सम्मेलनले पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।
व्यापार प्रवद्र्धनका लागि बिमस्टेक खुला व्यापार सम्झौता जतिसक्दो छिटो गर्ने सहमति पनि भएको छ । बिमस्टेक बैठकमा मोटर भेहिकल पारवहन, यातायात सहजतालगायतमा समेत सम्झौताको तयारी भइरहेको छ । मन्त्रीस्तरीय बैठकले पारित संयुक्त वक्तव्यमा पनि ती विषय छन् । प्रविधि हस्तान्तरण, व्यापार सहजीकरणलाई पनि अन्तिम रूप दिने सहमति भएको मन्त्री महराले जानकारी दिए ।
कमजोर व्यवस्थापनसाथ बिहीबार बिहान सचिवस्तरीय बैठक गरेर साँझ सुरु भएको १५ औं मन्त्रीस्तरीय बैठकको उद्घाटन प्रधानमन्त्री तथा बिमस्टेकका अध्यक्ष शेरबहादुर देउवाले गरेका थिए ।

बैठकमा सहभागी हुन आएका मन्त्रीहरूलाई संयुक्त भेट दिँदै देउवाले यस क्षेत्रको अवस्थाबारे छलफल गरेका थिए । बैठकमा सदस्य राष्ट्र नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका, म्यानमार र थाइल्यान्डका विदेशमन्त्री तथा उपविदेशमन्त्रीहरूको सहभागिता रहेको थियो । भारतीय विदेशमन्त्री स्वराज शुक्रबार फर्किएकी छन् । बंगलादेशका विदेशमन्त्री र थाइल्यान्डका उपमन्त्री पनि शुक्रबारै स्वदेश फिरेका छन् । अन्य मन्त्रीहरू शनिबार र आइतबार फर्कंदैछन् ।

नयाँ महासचिवमा बंगलादेशका सहिदुल
लामो समयको विवादपछि साढे तीन वर्षअघि बंगलादेशमा सचिवालय राख्ने र श्रीलंकाका पहिलो महासचिव हुने निर्णय भएको थियो । त्यहीअनुरूप सचिवालय बंगलादेशमा स्थापना भएको छ भने श्रीलंकाबाट पहिलो महासचिव सुमिथ नाकन्दला नियुक्त भएका थिए । उनको तीनवर्षे कार्यकाल समाप्त भएपछि सम्झौता अनुरुप नै बंगलादेशका सहिदुल इस्लामलाई बिमस्टेकको महासचिवका रूपमा नियुक्त गर्ने निर्णयसमेत मन्त्रीस्तरीय बैठकले गरेको छ । 

प्रकाशित : श्रावण २८, २०७४ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?