सप्तरीका १० हजार घर डुबानमा, ५ सय परिवार विस्थापित

सदरमुकामका मुख्य सडकमा बाढी, सरकारी कार्यालयहरु पनि डुब्यो
विद्युत् र मोबाइल सेवा अवरुद्ध, उद्धार तथा राहतको पर्खाईमा पीडित
अवधेशकुमार झा

राजविराज — निरन्तरको वर्षाका कारण विभिन्न नदीमा बाढी आउँदा सप्तरी जिल्लाका १० हजार घर डुबानमा परे भने ५ सय परिवार विस्थापित भएका छन् । खाँडो, कोसी जिता, महुलीलगायत नदीमा आएको बाढीका कारण सदरमुकाम राजविराजसहित जिल्लाका २ दर्जनभन्दा बढी गाउँ डुबेका छन् ।

सप्तरीका १० हजार घर डुबानमा, ५ सय परिवार विस्थापित

निरन्तरको वर्षाका कारण विभिन्न नदीमा बाढी आउँदा सप्तरी जिल्लाका १० हजार घर डुबानमा परे भने ५ सय परिवार विस्थापित भएका छन् ।

खाँडो, कोसी जिता, महुलीलगायत नदीमा आएको बाढीका कारण सदरमुकाम राजविराजसहित जिल्लाका २ दर्जनभन्दा बढी गाउँ डुबेका छन् । राजविराजको खर्साल टोल, पानी टंकी, मदननगर, रुपनी रोड, कञ्चनपुर रोडलगायत बस्तीमा पानी पसेको छ ।

यस्तै सिरहा रोड, अड्डा लाइनलगायत सडकमा ३ फिटसम्म बाढी बगिरहेको छ । जिल्ला प्रशासन कार्यालय, अञ्चल प्रहरी कार्यालय, जिल्ला अदालत, कृषि विकास बैंक सुपरिवेक्षण कार्यालय, जिल्ला कृषि विकास कार्यालय, उच्च अदालत राजविराज ईजलास डुबानमा परेको छ । अञ्चल प्रहरी कार्यालय राजविराजको परिसरमा कम्मरसम्म पानी बगिरहेको छ । वर्षा हुन रोकिएको छैन । बाढीका कारण यहाँ विद्युत् र नेपाल टेलिकमको मोबाइल सेवा समेत अवरुद्ध छ । मोबाइल सम्पर्क अवरुद्ध हुँदा सरकारी अधिकारीहरुसँग सम्पर्क हुन सक्ने अवस्था छैन् । राजविराज नगरपालिकाकै डुकरी शिवथान, बिरौल, देउरी भरुवा, झल्ही फर्सेठलगायत स्थान पनि डुबानमा परेका छन् ।

भारतीय पक्षले दसगजासित जोडेर निर्माण गरेको पक्की बाँधका कारण विभिन्न खोलानदीको पानी निकास हुन नसक्दा सप्तरीको मल्हनिया गाउँ तीनदिनदेखि टापुमा परिणत भएको छ । हनुमाननगर कंकालिनी नगरपालिका १४ को मल्हनिया बस्तीका २ सय ५० घरमा पानी पसेको छ । खाँडो, जिता र कोसी नदीको पानी बस्तीमा पसेपछि त्यहाँका बासिन्दा अग्लो स्थान खोज्दै ज्यान जोगाएका छन् ।

खाडो, जिता र कोसी नदीको बाढी भारततर्फ निकास हुनुपर्ने र निकास हुने स्थानमा भारतीय पक्षले पक्की बाँध निर्माण गरेकाले आफूहरुको बस्ती टापुमा परिणत भएको स्थानीय बेचन कामतले बताए । ‘तीन दिनदेखि डुबिरहेका छौं, राज्यको उपस्थिति छैन’मल्हनियास्थित पोखरीको डिलमा सुरक्षित स्थान खोज्दै शुक्रबार दिनभर रहेकी फुलोदेवी खंगले भने,‘भान्सासँगै सबै घरमा पानी छ न खाना बनाउन दाउरा छ, चुल्होमा पनि पानी नै पानी छ ।’

भारत सरकारले सिमावर्ती क्षेत्रमा विगत १५ वर्ष अगाडिदेखि नै पक्की बाँध निर्माण गरेकाले विभिन्न खोला नदीको बाढीको पानी थुनिन गई बस्तीहरु डुबानमा पर्दै आएको छ । कुनौली बोर्डरदेखि तिलाठीको पश्चिमी भागसम्म बनाइएको भारतीय पक्की बाँधमा एक स्थानमा मात्र २० मिटर जति पानी निकास हुने अवस्था छ । ‘तीनवटा नदीको बाढीको बहाव अत्यधिक छ तर भारतीय बाँधका कारण बहावको मुहान २० मिटरमात्रै छ’तिलाठीका देवनारायण यादवले भने,‘त्यो मुहनाको २० मिटर पनि भारतीय पक्षले थुन्न खोजेका थिए तर नेपाली पक्षको विरोधका कारण सकेनन्, नभए अहिले अझै बितण्डाको अवस्था हुन्थ्यो ।’

खाँडो खोला, जिता खोला र कोसी नदीको पानी एकैपटक मल्हनिया बस्तीमा पसेको हो । उक्त बस्तीका केही बासिन्दा घरमै खाटमा दिनरात काटिरहेका छन् भने केही स्थानीय दिनभरि बाढीबाट जोगिन नजिकैको पोखरीको डिलमा रहेको अग्लो स्थानमा खुल्ला आकाशमुनी बस्न बाध्य छन् । ‘तीन दिनदेखि खाना सकेका छैनौं’ स्थानीय ६८ वर्षीय बेचन कामैतले भने,‘घरमा घुँडासम्म पानी छ घर बाहिर छातीसम्मै पुग्ने पानी, कहाँ जाउँ कतै ठाउँ छैन ।’वृद्ध कामैतले भारतीय बाँधका कारण पानी निकास हुन नसक्दा आफूहरु वर्षेनी डुबानमा पर्दै आएको बताए । मल्हनिया गाँउका धेरै पुरुष रोजगारीका लागि मुलुक बाहिर छन् । घरमा रहेकी वृद्धवृद्धा, महिला र बालबालिकाको स्थिति बेहाल रहेको स्थानीय देवलाल यादवले बताए । ‘तीन दिनदेखि घर बाहिर निस्कन सकेका छैनौं, सरकारीस्तरबाट हेर्न पनि कोही आएका छैनन्’यादवले भने,‘हामी टापु बनेको आफ्नै घर गाउँमा आफ्नो दु:खका दिन हेरेर बस्नुबाहेक कुनै विकल्प छैन ।’

यस्तै तोताका १ सय परिवार विस्थापित भएका छन् । उनीहरु स्थानीय विद्यालयमा आश्रय लिएर बसेका छन् । यहाँका ५ सय घर डुबानमा छन् भने स्थानीय बस्तीबाट निस्कन सकेका छैनन् ।

प्रकाशित : श्रावण २८, २०७४ १२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?