कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढीपहिरोमा पूर्वमा ९ जनाको मृत्यु, केही बेपत्ता, सयौं घर डुबानमा

माधव घिमिरे

विराटनगर — दुई दिनयताको लगातार वर्षाका कारण विभिन्न खोलामा आएको बाढीले बगाएर सुनसरी र मोरङमा ९ जनाको मृत्यु भएको छ । मोरङको बक्राहा र नुनसरी खोलामा डुबेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिक्लाजुङ २ का ३२ वर्षीय गंगाराम खतिवडा र केराबारी गाउँपालिका ९ का मीनबहादुर थापा रहेको प्रहरीले जनाएको छ ।

बाढीपहिरोमा पूर्वमा ९ जनाको मृत्यु, केही बेपत्ता, सयौं घर डुबानमा

यसैगरी सुनसरीको गैरागाउँस्थित बुढीखोलाले बगाएर ६ जनाको मृत्यु भएको छ । पूर्वक्षेत्रीय प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा भोजपुर घर भइ इटहरी बस्दै आएकी माया राईकी ८ वर्षीया छोरी रुपसनी राई, तीन वर्षका छोरा रुपेश राई, इटहरी ४ आइतबारेका ४० वर्षीय ईश्वर सुनुवार, गौरीगाउँकी ३० वर्षीया माला साह, उनको १० वर्षीया छोरा सिटी साह र इटहरी तरहराका एकजना पुरुष रहेको प्रहरीले जनाएको छ ।

बुढीखोला र टेग्राहा खोलामा आएको बाढी पसेर इटहरी उपमहानगरपालिका क्षेत्र पुरै जलमग्न बनेको छ । घरघरमा तीन–चार फिटसम्म पानी जमेको छ । मुख्य बजारभन्दा केही वरपरका बस्तीमा रहेका घरहरु बाढी पसेर क्षतिग्रस्त बनेका छन् । बाढीबाट प्रभावित भएका बासिन्दालाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाको संयुक्त टोलीले सुरक्षित स्थानमा लैजाने प्रयास गरिरहेका छन् ।

खोलाको बाढी पसेर गाउँ बस्ती जलमग्न भएपछि सयौं परिवार विस्थापित बनेका छन् । केही गाउँलेहरु सम्पर्कबिहीन बनेको प्रहरीले जनाएको छ । दुई दिनयताको लगातार वर्षाका कारण मोरङको विराटनगर महानगरपालिका लगायत विभिन्न गाउँ डुबानमा परेका छन् ।

सुनसरीको इटहरी, दुहबीलगायत स्थानमा खोलाको बाढी पसेर तीन सयभन्दा बढी घर डुबानमा परेका छन् । यसैगरी  कोसी गाउँपालिकाको वडा ३, ४, २ र १ का दर्जनौं घर डुबानमा परेका छन्. । यसैगरी लौकही, जमुवा, झापा टोल, उराव टोल र आसपास क्षेत्रका सयभन्दा बढी घर डुबानमा परेका छन् ।

खोलाको भल बाढी पस्दा स्थानीय बासिन्दाको खाद्यान्न नष्ट भएको छ । घरभित्र भएका कपडा, भााडाकुाडा र अन्य धनमाल पानीमा डुबेर क्षति भएको प्रहरीले जनाएको छ । गाउँ पसेको बाढीले चापाकल समेत डुबेपछि खानेपानीको समस्या भएको छ । घर पुरै डुबानमा परेर खाद्यान्न, कपडा नष्ट भएपछि दर्जनौं परिवार सुरक्षित बास खोज्दै विद्यालयलगायत सार्वजनिक स्थानमा गएका छन् ।

कतिपय परिवारका चौपायाहरु डुबेर मरेको बाढी पीडित क्षेत्रका बासिन्दाले बताएका छन् । यसैगरी खोलाको बाढी पसेर सयौं बिघा क्षेत्रफलमा लगाइएको धानबाली नष्ट भएको छ । कतिपय स्थानमा बलौटे भलले धान खेत पुरेको छ । बाढी प्रभावित क्षेत्रहरुमा सशस्त्र, नेपाल प्रहरी र सेनाले उद्धार प्रयास गरिरहेका छन् । 

मोरङको बुढीगंगा गाउँपालिका २ बौराहा टोलमा बुढीखोलाको बाढी पसेर चार सयभन्दा बढी घर डुबानमा परेका छन् । गाउँ जलमग्न भएर घरहरुमा क्षति पुग्न थालेपछि प्रहरीले स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सार्ने प्रयास गरिरहेको छ । यस्तै उर्लाबारी नगरपालिका ८ स्ीिथत माझी टोलमा बक्राहा नुनसरी खोलाको बाढी पसेर दर्जनौ घर डुबानमा परेका छन् । यसैगरी मिक्लाजुङ गाउँपालिका ६ साबेझोडामा बाढीले दुई दर्जनभन्दा बढी घरमा क्षति पुगेको छ । मोरङकै बेलबारी नगरपालिका ५ स्थित भित्री सडकमा रहेको पक्की पुल लोहन्द्रा खोलाको बाढीले बगाएको प्रहरीले जनाएको छ ।

लगातारको वर्षापछि भलबाढी पसेर विराटनगर महानगरपालिकाका विभिन्न वडा जलमग्न बनेका छन् । वडा ४, ५, ६, ११ र १२ मा भल पसेर सयौं घर जोखिममा परेका छन् । ती स्थानका करिब ६ सय परिवारलाई सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । यसैगरी महानगर ४ स्थित आयल निगमको क्षेत्रीय कार्यालयको कम्पाउन्ड पर्खाल भत्किएको छ । उता, मोरङको रतुवामाइ नगरपालिकाका ५, ७, ८, ९ वडा जलमग्न हुँदा सात सय परिवार जोखिममा परेका छन् । यस्तै धनमालथान गाउँपालिकास्थित लोहन्द्रा खोलाको बाँध भत्केर बाढी पस्दा त्यहाँका करिब दुई सय घर डुबानमा परेको प्रहरीले जनाएको छ ।

मोरङको लेटाङमा पहिरोमा परी गोपीमाया तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण २८, २०७४ १३:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?