कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

वर्षाले झापामा हजारौं घर डुबानमा, २ को मृत्यु, ६ बेपत्ता, सयौं विस्थापित

अर्जुन राजवंशी

दमक — लगातारको वर्षाले झापाका हजारौं घर डुबानमा परेका छन् । रतुवा, कमल, बनियानी, झिलझिले, सतासी, कनकाई, विरिङ, अन्धुवा, देउनिया, निन्दा, मेचीलगायतका नदी र खोलामा आएको बाढीले जिल्लाका दर्जनौं गाउँ डुबानमा परेका छन् । सयौं घरपरिवार विस्थापित भएका छन् । जिल्लाको दक्षिणी ग्रामिण क्षेत्रका दर्जन बढी बाटोमा क्षति पुगेको छ ।

वर्षाले झापामा हजारौं घर डुबानमा, २ को मृत्यु, ६ बेपत्ता, सयौं विस्थापित

  

नेपाल रेडक्रस सोसाइटीका अनुसार खोलाले बगाउँदा जिल्लामा दुई जनाको मृत्यु भएको छ । अन्य ६ जना बेपत्ता छन् । कनकाई नदीमा आएको बाढीले बगाउँदा झापा गाउँपालिका-२ की कमला घोर्साने र झिलझिले खोलाले बगाउँदा शिवसताक्षी नगरपालिका १ का २८ बर्षीय लेखनाथ पाण्डेको मृत्यु भएको छ । कनकाई नदीको बाढीले बगाउँदा झापा गाउँपालिका २ कै कालिप्रसाद राजवंशीसहित उनको चार जनाको परिवार बेपत्ता छ । बेपत्ता रहेका उनीहरुको खोजी कार्य भइरहेको रेडक्रसले जनाएको छ । दमकस्थित दीपिनी खोलाले बगाउँदा भारत बिहार घर भई हाल दमकमा ज्याला मजदुरी गर्ने २५ बर्षीय कपोस मण्डल बेपत्ता छन् । उनको पनि खोजी भइरहेको दमक प्रहरीले जनाएको छ । 

कनकाई नदीमा आएको बाढीले झापा गाउँपालिकाको वडा नं. ६ र ७, विरिङ खोलाको बाढीले उक्त गाउँपालिकाको १ देखि ५ नम्बर वडाका हजारौं घर डुबानमा परेका छन् । कनकाईकै बाढीले गौरीगञ्ज गाउँपालिका वडा नं. १ साविकको महाभारा गाविसका ६ सय घर डुबानमा परेका छन् । टुनुबस्ती र बिर्खे बस्तीमा डुबानमा परेका एक सय परिवारलाई काठको डुंगाबाट उद्दार गरिएको वडाध्यक्ष कार्तिकलाल राजवंशीले जानकारी दिए । 

उनीहरुलाई स्थानीय रामजानकी विद्यालय र टुनुबस्ती रेडक्रसको हलमा राखिएको छ । उक्त वडाको झोडामा ८५ घरपरिवार उद्दारको पर्खाइमा रहेको वडाध्यक्ष राजवंशीले बताए । वर्षा भइरहेको र सडक सबै डुबानमा परेकोले उनीहरु भएको स्थानसम्म पुग्न नसकिरहेको उनले बताए । उनका अनुसार गौरीगञ्ज १ नम्बर वडाबाट मात्र करिब ३ सय परिवार विस्थापित बनेका छन् । 

कमल खोलाको बाढी गाउँ पस्दा शिवसताक्षी नगरपालिका २ धरमपुरको माझी बस्तीका करिब ५ घर डुबानमा परेका छन् । शिवसताक्षीकै माइधारबाट १० परिवार विस्थापित भएका छन् । कनकाई नदीमा आएको बाढीले नदीको पश्चिमपट्टी यसै बर्ष बनाइएको बाँध भत्काएको छ । बाँध भत्किएकोले नदी किनारका १ सय ५० परिवार कटानको उच्च जोखिममा परेका छन् । कटानले एउटा मन्दिर र खड्ग बहादुर वस्तीको घर भने भत्किएको छ । 

उक्त नगरपालिका वडा नं. ४ र ६ का हजार बढी घर डुबानमा परेका छन् । बाह्रदशी गाउँपालिकाको राजगढ, कचनकवल गाउँपालिकाको घेराबारी क्षेत्रमा पनि सयौं घर डुबानमा परेका छन् । निन्दा खोलाको बाढीले मेचीनगर नगरपालिकाअन्तर्गत ज्यामिरगढी क्षेत्रमा तथा मेची नदीको बाढीले भद्रपुरका सयौं घर डुबानमा पारेको छ । यस्तै रतुवा खोलामा आएको बाढीले कमल गाउँपालिका र अन्धुवा खोलामा आएको बाढीले बिर्तामोड नगरपालिकाका सयौं घर डुबानमा पारेको छ । 

भारी वर्षासंगै चलेको हावाले रतुवामाई वृक्षारोपण आयोजनाको वन क्षेत्रमा सयौं मसलाका रुख ढालेको छ । ढलेका रुखहरुको व्यवस्थापनमा आयोजनाबाट कर्मचारी नखटिदा स्थानीयवासीले आफै काटेर ल्याइरहेका छन् । वन क्षेत्रका रुख ढल्दा ठाउँठाउँमा विजुली र टेलिफोनका तारहरु चुडाएको छ । जिल्लाको अधिकांश स्थानमा विद्युत सेवा ठप्प छ । 

शुक्रबार रातिदेखि नेपाल टेलिकमको ल्याण्डलाइन, प्रिपेड र पोस्पेड फोनको सेवा अवरुद्ध थियो । मध्यन्ह १२ बजेपछि पोस्पेड र प्रिपेड सेवा सूचारु भएपनि ल्याण्डलाइन फोन अझै अवरुद्ध हुँदा वर्षाले पुर्‍याएको क्षतिको विवरण संकलन तथा उद्दारमा कठिनाइ भइरहेको छ । वर्षाले ग्रामिण क्षेत्रका सडकहरु भत्किएका कारण आवतजावत समेत अवरुद्ध भएको छ । 

प्रकाशित : श्रावण २८, २०७४ १५:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?