१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पाटनमा नरसिंह जात्रा

प्रशान्त माली

ललितपुर — पाटनमा नरसिंह जात्रा मनाइएको छ । जात्राका लागि राजोपाध्याय गुरुहरुले शुक्रबार चुर्तर्थी पूजा गरेका थिए । गुरु पूर्णिमामा पाटन दरवार स्क्वयारस्थित सुन्दरी चोक पुगि मल्ल राजालाई जात्राको निमन्त्रण चढाएका थिए । भने नागपञ्चमीमा भगवानको उपाकर्म गरिएको थियो ।

पाटनमा नरसिंह जात्रा

जनैपूर्णिमामा गर्नुपर्ने उपाकर्म यसपालि चन्द्रग्रहण गरेकाले नागपञ्चमीमा गरिएको नरसिंह जात्रा समारोह समितिले जनाएको छ । शनिबार विष्णु भगवानको दश अवतारमध्ये चौथो शान्त स्वभावको खुट्टामा अल: (एक प्रकारको रङ) कम्मरमा जबी, लच्कन भएको कपडा, ताय: माला, मुकुट लगाएको नरसिंहको भेषमा एक पुरुषलाई नगर परिक्रमा गराइयो । 

जात्रामा ताज, शिरविन्दु, भिपु माला लगाएका अप्सराको प्रतीकका रुपमा कुचो लिएका दुई बालिका अग्रपंक्तिमा थिए । उनीहरुले नरसिंह हिडने बाटो सफा गर्ने भूमिका खेलेका थिए । लगत्तै अर्का दुई/दुई बालिकाले गाईको दूध दूबो र लावा अविर छर्किएर बाटोलाई चोखो बनाइरहेका थिए । त्यसपछि राजदण्ड समाएर दुई बालिका अगाडी बढेका थिए । उनीहरु प्रत्येक दुई/ दुई जनालाई झल्लरवाला छत्रले ओढाईको थियो । यात्रामा नरसिंहका स्त्री (शक्ति) सरस्वती र लक्ष्मीको भेषमा सजिएका दुई बालक नरसिंहको दायाँबायाँ बसेका थिए । भक्त प्रल्हदको भेषमा सजिएका एक पुरुषले नरसिंहलाई नमस्कार गर्दै पछाडीपट्टि फर्केर अगाडी बढेका थिए ।

पाटन दरवार स्क्वयारस्थित भीमसेन मन्दिर अगाडीबाट सुरु भएको यात्रा हखा: टोल–सौगोल–सुनधारा–ओकुबहाल–टंगल–हौगल–तिछुगल्ली–इखालखु–पूर्णचण्डी हुदै गाहबहाल पुगेका थिए । गाहबहालबाट छाबाहल–पिम्बहाल–नागबहाल–कुम्भेश्वर हुदै मंगलबजार पुगेर टुगिएको थियो । नरसिंह जात्रालाई नेवारीमा उपाकुलं साया: भनिन्छ । राजोपाध्याय समुदायमा ज्येष्ठताको आधारमा पालो चलाइने जात्रा यसपालि तुइलाक्व टोलका धनश्याम शर्माको पालो हो । जात्रामा पालोवालाको ज्वाई अथवा भान्जा नरसिंह बनेर ललितपुर प्राचिन नगरीमा साया: रुटमा परिक्रमा गराउने चलन छ ।

यात्रामा धार्मिक मान्यताअनुसार नरसिंहको कम्मरमा मधु र कैटभ दैत्यको प्रतीकका रुपमा दुई पुतली बाध्ने गरिन्छ । नरसिह जात्रा समारोह समितिका संयोजक माधवश्याम शर्माले नरसिंहको कम्मरमा बाधिएको पुतली दैत्य हिरण्यकशिपु र हिरण्याक्षको प्रतीकका रुपमा लिइने बताए । ‘६ कुल (षटुल) देवब्राह्मण (नेवार ब्राहमण) राजोपाध्यायहरुको उपाकर्म गुठीका प्रत्येक सदस्यले ज्येष्ठताका आधारमा पालैपालो खर्च गरी जात्रा मनाउदै आएको छ,’ उनले भने, ‘जात्राका लागि ललितपुर महानगरपालिकाबाट केहि रकम सहयोग गर्ने गरेतापनि पर्याप्त छैन ।’

यात्रामा धिमे बाजा, नायखि, धा: बाजा, भजनसँगै तन्त्रमन्त्र गर्ने झाक्री सहभागी थिए । उपाकर्म गुठीको हस्तलिखित ग्रन्थमा नेपाल संवत् ८६९ अर्थात् विसं १८०६ देखि जात्रा सुरु भएको अभिलेख पाइन्छ । जात्रा सिद्धिनरसिंह मल्ल राजाको पालादेखि सञ्चालन हुदै आएको जनविश्वास छ । 

तस्बिरहरु : हेमन्त श्रेष्ठ

प्रकाशित : श्रावण २८, २०७४ २०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?