कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

तीन सातादेखि उपत्यकाकै बस्ती डुबानमा

लीला श्रेष्ठ

भक्तपुर — सूर्यविनायक नगरपालिका–२ बालकोट हाइटस्थित रागिनी आर्ट अगाडिको बस्ती डुबानमा परेको तीन साता भयो । डुबानले अझै निकासा पाउन सकेको छैन । परम्परागत रूपमा वर्षौंदेखि बग्दै आएको ढल तथा पानीको निकास बन्द भएपछि तीन सातादेखि १० घर डुबानमा परेका हुन् ।

तीन सातादेखि उपत्यकाकै बस्ती डुबानमा

सडक विस्तारका क्रममा ढल व्यवस्थित गरे पनि तल्लो भेगका स्थानीयले निकास बन्द गरिदिएपछि बस्ती डुबानमा परेको स्थानीयको गुनासो छ । ‘बस्ती डुबानमा परेपछि घरमा ओहोरदोहोर गर्न समेत समस्या परेको छ,’ स्थानीय शर्मिला पोखरेलले भनिन्, ‘तीन दिनदेखिको वर्षाले पाँच फिटभन्दा बढी डुबान भएको छ ।’ 

ढल तथा पानी निकासका लागि वडा कार्यालय, डिभिजन सडक कार्यालय, नगरपालिका, जिल्ला प्रशासन कार्यालयमा आवेदन दिँदा पनि समस्याको समाधान नभएको उनीहरूको गुनासो छ । नगरपालिका र सडक कार्यालयको पहलमा ढल खोल्ने प्रयास भए पनि तल्लो भेगका स्थानीयको अवरोधका कारण डुबान भएको स्थानीय भूमिराज उपाध्यायले बताए । 

लगातारको वर्षातका कारण डुबान क्षेत्रको जनजीवन थप प्रभावित भएको स्थानीय सुमित्रा कार्कीले बताइन् । ‘घरभित्र पानी छिरेर बसिसक्नु छैन, बालबच्चा जोगाउनै मुस्किल छ,’ उनले गुनासो गरिन् । 

स्थानीयकै अवरोधका कारण ढल निकास रोकिएर डुबान भएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख गुरुप्रसाद अधिकारीले भने, ‘दुई पक्ष बीचको झगडा हो, स्थानीयको समन्वयबिना समाधान हुँदैन ।’ उनले स्थानीय तहबाटै सहमति गरेमात्र समस्या समाधान हुने बताए । सडक कार्यालय एक्लैले समस्याको समाधान गर्न नसक्ने उनको भनाइ छ । ढल निकासका लागि कार्यालयले आवश्यक सामग्री लगायत मेसिन उपलब्ध गराउने प्रतिबद्धता पहिल्यै भइसकेको र दुई पक्ष नमिलेको उनले बताए ।

लगातारको वर्षातले मध्यपुर थिमी नगरपालिका निकोसेरा, भक्तपुर र चाँगुनारायण नगरपालिकाको संगमस्थल ब्यासी झौखेललगायतका स्थानहरू डुबानमा परेका छन् । त्यसैगरी ललितपुर र भक्तपुरको सीमामा पर्ने गोदावरी खोलामा आएको बाढीका कारण महालक्ष्मी नगरपालिका टिकाथली, चाँगाथली, विष्णुडोल क्षेत्रको सयौं रोपनी धान, मकै र तरकारी बाली नष्ट गरेको स्थानीयले बताए । 

प्रहरी प्रवक्ता पुस्कर कार्कीले अबिरल वर्षाका कारण हालसम्म उपत्यकामा मानवीय क्षति भने नभएको बताए । ‘लगातारको वर्षाका कारण छिटफुट डुबानको घटना भइरहेकै छ तर उपत्यकामा वर्षा/बाढीले मानवीय क्षति गरेको घटना आइपुगेको छैन,’ उनले भने ।

प्रकाशित : श्रावण २८, २०७४ २०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?