सोमबार बेलुकीसम्मै ‘भारी वर्षा’

अाइतबारदेखि मनसुन निष्क्रिय हुँदै जाने मौसमविदको अनुमान
अब्दुल्लाह मियाँ

काठमाडौं — पानी पार्ने न्यून चापीय मनसुनी रेखा नेपालको चुरे पहाडी क्षेत्रसम्मै आएपछि शनिबार देशैभर भारी वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले न्यून चापीय रेखा औसतभन्दा बढी उत्तरतिर सरेकाले शुक्रबारदेखि नै देशैभर ‘अस्वाभाविक’ वर्षा भएको बताए ।

सोमबार बेलुकीसम्मै ‘भारी वर्षा’

पानी पार्ने न्यून चापीय मनसुनी रेखा नेपालको चुरे पहाडी क्षेत्रसम्मै आएपछि शनिबार देशैभर भीषण वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले न्यून चापीय रेखा औसतभन्दा बढी उत्तरतिर सरेकाले शुक्रबारदेखि नै देशैभर ‘अस्वाभाविक’ वर्षा भएको बताए । ‘मनसुन चाहेभन्दा बढी सक्रिय भएको अवस्था हो यो,’ रिमालले शनिबार कान्तिपुरसँग भने, ‘सोमबार बेलुकीसम्म मुलुकका धेरै भागमा भीषण वर्षा हुने देखिन्छ ।’

सामान्यतया दक्षिण (भारतीय क्षेत्र) मा सक्रिय रहने न्यून चापीय रेखा सर्दै शुक्रबार बिहान नेपालको चुरे र पहाडी क्षेत्रसम्मै पुगेपछि भीषण वर्षा सुरु भएको हो । ‘एक्कासि मनसुन सक्रिय भएपछि देशैभर भीषण वर्षा भयो,’ उनले भने, ‘पूर्वी क्षेत्रमा आज (आइतबार) देखि मनसुनी प्रभाव रोकिन्छ ।’ मुलुकको मध्य र पश्चिम भागमा भने सोमबारसम्म मध्यमदेखि भीषण वर्षा हुने महाशाखाको अनुमान छ । सोमबार मध्याहनदेखि मनसुन कमजोर बनेर मौसममा सुधार आउने महाशाखाको अनुमान छ ।

न्यून चापीय प्रणाली मध्य तथा आसपासका भागमा विद्यमान रहेका कारण मनसुन बिहीबार रातिदेखि एक्कासि सक्रिय भएको महाशाखाद्वारा शनिबार जारी विशेष बुलेटिनमा उल्लेख छ । शनिबार राति पनि मुलुकका विभिन्न भागमा भीषण वर्षा हुने र नदी–जलाधारमा पानीको सतह बढ्ने भएकाले सतर्क रहन विशेषज्ञहरूले सुझाएका छन् ।

‘सोमबारदेखि मनसुनी रेखा दक्षिणतिर सर्दै जानेछ,’ मौसमविद् रिमालले थपे, ‘त्यसपछि नेपालमा मनसुन अलि निष्क्रिय हुनेछ ।’ सामान्यतया जुलाईमा मनसुन सक्रिय भएर बढी वर्षा हुनुपर्नेमा यस पटक त्यस्तो भएन । ‘जुलाईमा बढी पानी पर्नुपर्ने हो,’ काठमाडौं विश्वविद्यालयमा मौसम विज्ञानका अध्यापक मणिरत्न शाक्यले भने, ‘पछिल्ला केही वर्षदेखि अगस्ट तेस्रो सातापछि मनसुन कमजोर बन्दै गएको देखिन्छ ।’ जुलाई महिनामा पश्चिमी क्षेत्रमा बढी वर्षा भएको थियो भने पूर्वी भाग सुक्खा थियो ।

दक्षिण एसियाका मौसमविद्ले यो वर्ष नेपालमा पश्चिममा भन्दा पूर्वी भागमा बढी वर्षा हुने पाँच महिनाअघि नै प्रक्षेपण गरेका थिए । दक्षिण एसियाका मौसमविद् मनसुनबारे प्रक्षेपण गर्न मनसुन सुरु हुनुभन्दा अघि नै भेला हुने गरेका छन् । यस पटक मनसुनको अन्त्यतिर बढी वर्षा हुनेसमेत मौसमविद्हरूले अनुमान गरेका थिए ।

भीषण वर्षाका कारण नदी–जलाधारमा पानीको सतह बढ्ने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले सचेत गराएको छ । शाखाले विशेष बुलेटिन निकालेर पानीको सतह बढेर बस्तीमा पस्न सक्ने भएकाले सतर्क रहन गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन केन्द्र, विभिन्न जिल्लाका प्रशासनलगायतलाई जानकारी गराएको छ ।

शाखाका अनुसार शुक्रबारदेखि अविरल वर्षाका कारण पूर्व–पश्चिम राजमार्गको बबई नदीका विभिन्न जलाधार क्षेत्रमा पानीको सतहले खतराको तह पार गरेको छ । पूर्व–पश्चिम राजमार्गको चेपाङ, दाङको घोराही, तुलसीपुर, पदमपुर, अम्बापुर जलाधारमा पानीको सतहले खतराको तह पार गरेको छ । पश्चिम राप्तीको कुसुम मापन केन्द्रले समेत खतराको तह पार गरेको देखाएको छ ।

ती नदीमा खतराको तह पार गर्नेबित्तिकै शाखाले आफ्नो वेबसाइटमा समेत खतरा कायम रहेको संकेतस्वरूप साइरन बजाएको छ । अविरल वर्षाकै कारण मध्यभागको नारायणी नदीको माडी, गोविन्द बस्तीमा पनि पानीको सतहले खतराको तह पार गरेको छ । ती नदी जलाधारमा खतराको तह पार गर्नेबित्तिकै शाखाले स्थानीयलाई सुरक्षित रहन मोबाइल एसएमएस पठाएको छ । शाखाका बाढी पूर्वानुमान विज्ञ विनोद पराजुलीका अनुसार कन्काई, माडी, पश्चिम राप्ती, बबई र पूर्वी राप्ती चितवनमा एसएमएस पठाइएको हो । ‘साढे ५ लाखलाई सुरक्षित ठाउँमा बस्न मोबाइलमा सन्देश पठाइयो,’ पराजुलीले भने, ‘जसले मानवीय क्षति कम भयो ।’ मोबाइल सन्देश पाउनेबित्तिकै स्थानीय सुरक्षित स्थानतिर भागेर ज्यान जोगाएका हुन् ।

शाखाले शनिबार राति पनि पूर्वी नेपालमा भीषण वर्षा हुने जनाएको छ । शाखाले पूर्वको झापा, इलाम, सुनसरी, मोरङ, सप्तरी, उदयपुर, धनकुटा, मध्यको रौतहट, सर्लाही, पर्सा, बारा, मकवानपुर, चितवन, नवलपरासी, रूपन्देही, कपिलवस्तुलगायत क्षेत्रका जलाधारमा पानीको सतहले खतराको तह पार गर्ने चेतावनी दिएको छ ।

शाखाका अनुसार पश्चिमको कञ्चनपुर, कैलाली र बर्दियाका चुरे र महाभारतबाट प्रवाह हुने नदीहरूमा पानीको सतह बढ्ने जानकारी दिएको छ । मेची, निन्दा, बिरिङ, कन्काई, पथरी, त्रियुगा, बुढी खोला, वागमती, पूर्वराप्ती, रिउखोला, विनयखोला, अरुण खोला, तिनाउ, वाणगंगा र पश्चिमका मछेली, मोहना, बबईलगायत नदी जलाधारमा आइतबारसम्मै पानीको सतहले खतराको तह पार गर्ने भएकाले सचेत रहन अनुरोध गरिएको छ ।

कति पर्‍यो ?
महाशाखाका अनुसार १२ घण्टायता सबभन्दा बढी सिमरा (२१७ मिमि) मा वर्षा भएको छ । काठमाडौंमा ३०.५, नेपालगन्ज १६९.३, वीरेन्द्रनगर २६.५, दाङ १६७.४, भैरहवा ३९.६, पोखरा ९.७, ताप्लेजुङ १५.४ र जनकपुरमा १३७.६ मिलिमिटर वर्षा भएको छ ।

वर्षामापन केन्द्रै डुब्यो
विराटनगरमा वर्षामापन केन्द्र नै डुबानमा परेको छ । विराटनगर एयरपोर्टस्थित वर्षामापन केन्द्र नै डुबेका कारण उक्त क्षेत्रमा कति पानी परेको छ, मापन गर्न सकिएको छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रिमालले वर्षामापन केन्द्र नै डुबेपछि वर्षामापन गर्न नसकिएको बताए । ‘विराटनगरमा मापनकेन्द्र नै डुबेपछि वर्षा मापन गर्नै सकिएको छैन,’ रिमालले भने, ‘विराटनगरमा बढी नै वर्षा भएको हाम्रो अनुमान छ ।’

बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म विराटनगरमा ५७ मिलिमिटर वर्षा भएको थियो । रिमालले शुक्रबार रातिदेखि भीषण वर्षा भएका कारण विराटनगरलगायत पूर्वी क्षेत्र डुबानमा परेको बताए ।

प्रकाशित : श्रावण २९, २०७४ ००:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?