प्याँखमय मध्यपुर

कान्तिपुर संवाददाता

भक्तपुर — गाईजात्राको भोलिपल्ट मध्यपुर थिमि धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक पृष्ठभूमि बोकेको विभिन्न मल्लकालीन नाच (प्याँख) मय बनेको छ ।

मध्यपुर थिमिको बोडेमा नीलबाराही नाच, नगदेशमा महाकाली, लायू, बालकुमारीलगायत स्थानमा भैल: (भैरव) नाच, इन्द्र अप्सरालगायत नाच (प्याँख) प्रदर्शन गरिएको छ । नीलबाराही देवीले एक दिन बोडेमा आएर स्थानीय धों थरका एक व्यक्तिलाई नीलबाराही जंगलमा लगेर चार दिनसम्म राखी नाचको विधिविधान सिकाएर पठाएपछि नाच सुरु भएको किंबदन्ती रहेकोधाँ बाजा वादक श्रीकृष्ण खम्बु श्रेष्ठले बताए ।

त्यसैगरी, मध्यपुर थिमि लायु, बालकुमारीस्थित पैंतालीस वर्षदेखि बन्द भई गत वर्षदेखि स्थानीयको पहलमा सञ्चालन भएको प्रसिद्ध एवं ऐतिहासिक लायु भैल: (भैरव) नाच प्रदर्शन भएको छ । भाद्र कृष्ण द्वितीयाको रातिबाट सुरु हुने लायु भैल: नाच चार रातसम्म निरन्तर नचाइएको छ ।

भैल: नाचमा दुई दुई भैरव र दा:गि (कुमारी) तथा एक ज्यापु ग:चा गरी पाँच देवगण रहने स्थानीय अर्जुन श्रेष्यठले बताए । कलाकारहरूले एक महिनादेखि प्रत्येक दिन साँझ नाच अभ्यास गरेर भैल: प्याँख (नाच) प्रदर्शन गरेको छ ।

पाटनमा नरसिंह जात्रा

पाटनमा नरसिंह जात्रा मनाइएको छ । जात्राका लागि राजोपाध्याय गुरुहरूले शुक्रबार चुतर्थी पूजा गरेका थिए ।

गुरुपूर्णिमामा पाटन दरबार स्क्वयारस्थित सुन्दरी चोक पुगी मल्ल राजालाई जात्राको निमन्त्रणा चढाएका थिए । जनैपूर्णिमामा गर्नुपर्ने उपाकर्म यसपालि चन्द्रग्रहण गरेकाले नागपञ्चमीमा गरिएको नरसिंह जात्रा समारोह समितिले जनाएको छ । शनिबार विष्णु भगवानको दस अवतारमध्ये चौथो शान्त स्वभावको खुट्टामा अल: (एक प्रकारको रङ) कम्मरमा जबी, लच्कन भएको कपडा, ताय: माला, मुकुट लगाएको नरसिंहको भेषमा एक पुरुषलाई नगर परिक्रमा गराइयो ।

यात्रामा नरसिंहको कम्मरमा मधु र कैटभ दैत्यको प्रतीकका रूपमा दुई पुतली बाध्ने गरिन्छ । नरसिंह जात्रा समारोह समितिका संयोजक माधवश्याम शर्माले नरसिंहको कम्मरमा बाँधिएको पुतली दैत्य हिरण्यकशिपु र हिरण्याक्षको प्रतीकका रूपमा लिइने बताए ।

प्रकाशित : श्रावण २९, २०७४ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?