कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१० जनालाई राष्ट्रिय युवा प्रतिभा

कान्तिपुर संवाददाता

काठमाडौं — सरकारले युवा दिवसको अवसरमा १० युवालाई राष्ट्रिय युवा प्रतिभाबाट सम्मान गरेको छ । समाजमा योगदान पुर्‍याएका मध्येबाट छनोट भएका १० जनालाई सम्मान गरिएको युवा परिषद्ले जनाएको छ ।

वातावरण तथा थारू मौलिक संस्कृतिको संरक्षणमा सक्रिय बर्दियाका हेमन्त आचार्य र अटिजम भएका बालबालिकाका लागि कार्यरत सविता उप्रेती, सगरमाथा आरोही दोलखाका फुर्वा तेन्जिङ शेर्पा तथा लेखक रोहित भण्डारीलाई सम्मान गरिएको छ । स्नातकोत्तरपछि सैलुन व्यवसाय चलाएका बाराका सिकन्दरकुमार ठाकुरलाई उद्यमशीलता सम्मान प्रदान गरिएको छ । उनलाई एक लाख रुपैयाँसहित सम्मान गरिएको हो । अनुसन्धानकर्मी कालिकोटका वसन्तकुमार शाही, इन्जिनियरिङ विषयका खोजकर्ता दोलखाका रामु खत्री, शारीरिक अपांगता भएर पनि उद्यमी बनेकी कञ्चनपुरकी सीता राना थारू र उद्यमी झापाका विशाल राई सम्मानित भएका छन् । सम्मानितलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक लाख रुपैयाँ नगद र सम्मानपत्र प्रदान गरेकी हुन् ।

ट्यालेन्ट हन्टका उत्कृष्टलाई ५० हजार
युवा परिषद्ले यस वर्षदेखि सुरु गरेको युथ ट्यालेन्ट हन्टको प्रतिस्पर्धाबाट छानिएका युवालाई सम्मान गरेको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) सँगको सहकार्यमा प्रतिभाको खोजी गरिएको थियो । भिजन, वक्तृत्वकला, गायन प्रतियोगिताबाट उत्कृष्ट विद्यार्थीलाई पनि युवा दिवसकै दिन सम्मान गरिएको हो । वक्तृत्वकलामा डेनिसा चौलागाईं प्रथम, रोजिना आचार्य दोस्रो र विजयाकुमारी भट्टराई तेस्रो भइन् । गायनमा मुस्कान राई प्रथम, सुरेश बराल दोस्रो र डेकेन्द्र थापा तेस्रो भए । भिजन लेखनमा प्रदीप भट्टराई प्रथम, रौनिकराज अर्याल दोस्रो र सुवास रिसाल तेस्रो भए । पहिलोलाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रोलाई २० हजार पुरस्कार प्रदान गरिएको थियो ।

प्रकाशित : श्रावण २९, २०७४ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?