अरुण तेस्रोको शिलान्यास मिति टुंगो लगाइने

प्रधानमन्त्रीको भारत भ्रमण
कान्तिपुर संवाददाता

काठमाडौं — भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले प्रधानमन्त्री शेरबहादुर देउवाको भदौ ७ देखि हुने भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीबाट अरुण तेस्रो जलविद्युत् परियोजनाको संयुक्त शिलान्यासको टुंगो लगाउने गरी प्रस्ताव अघि बढ्ने बताएका छन् ।

अरुण तेस्रोको शिलान्यास मिति टुंगो लगाइने

 

भ्रमणका क्रममा भारतीय सरकारी कम्पनी सतलजले निर्माण गर्ने ९ सय मेगावाटको अरुण तेस्रो शिलान्यासका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने मिति टुंगो लगाइनेछ । मोदी शिलान्यासका लागि नेपाल आउँदा उनलाई प्रमुख पर्यटकीय स्थलहरू लुम्बिनी, जनकपुर, मुक्तिनाथलगायतका ठाउँमा समेत भ्रमण गराउने गरी छलफल भइरहेको राजदूत उपाध्यायले बताए ।

‘विगतका सहमति र सम्झौता कार्यान्वयन हुने गरी ठोस सहमति हुन्छ । पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई अन्तिम रूप दिने, माथिल्लो कर्णालीको काम तत्काल अघि बढाउने र अरुण तेस्रो आयोजनामा दुवै देशका प्रधानमन्त्रीबाट संयुक्त शिलान्यास जस्ता अडकिएका विषयमा टुंगो लाग्नेछन्,’ उपाध्यायले राजधानीमा शनिबार आयोजित कार्यक्रममा भने ।

विगतका सम्झौता र सहमति कार्यान्वयनमा नै यो भ्रमण केन्द्रित हुने उनले बताए । अरुण तेस्रो अघि बढ्न नसकेको विषयमा कसको कमजोरी रहेको भन्ने स्पष्ट पार्दै काम अघि बढाउनेसमेत जनाइएको छ । सहमति नबन्दा महाकाली सन्धिको २२ वर्ष बितेको भन्दै राजदूत उपाध्यायले यसमा ढिलाइ गर्न नहुने बताए । भारत र बंगलादेशबीच सीमा नदीका विषयमा भएजस्तो माथिल्लो र तल्लो तटीय सहकार्यको मोडालिटी नेपालमा लागू गरेर समस्या समाधान गरिँदै अघि बढ्नेसमेत उनले स्पष्ट पारे ।

लोडसेडिङ अन्त्यका लागि भारतको विशेष सहयोग रहेको बताउँदै उपाध्यायले भने, ‘आउँदो हिउँदमा लोडसेडिङ नहुने गरी विद्युत् उपलब्ध गराउन भारत तयार छ ।’ उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र विहारका मुख्यमन्त्री नितिश कुमारसँगको भेटमा नेपालका नदी अभिशापका रूपमा नभई वरदानका रूपमा प्रयोग गर्न जलविद्युत् योजना अघि बढाउन आग्रह गरेको उल्लेख गर्दै उपाध्यायले भारतबाट लगानीको पहल हुनेसमेत बताए ।

उनले भारतसँग पेट्रोलियम पाइपलाइन विस्तार सम्झौता भएर काम अगाडि बढिसकेको र अब प्राकृतिक तथा खाना पकाउने ग्यासका लागि पनि सम्झौता हुने जानकारी दिए ।

प्रकाशित : श्रावण २९, २०७४ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?