कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टिप्पणी : काठमाडौं बन्न सक्छ, भारत–चीन वार्ताको ‘भेन्यु’

चन्द्रशेखर अधिकारी

काठमाडौं — भारत र चीनबीच दोक्लम तनाव आरम्भसँगै नेपाललाई आफ्नो पक्षमा पार्न दुवै छिमेकी चलाखीपूर्ण ढंगले लागिपरेका छन् । नेपाल दुई छिमेकीबीचको तनावमा तटस्थ बस्न खोजिरहेको छ ।

 टिप्पणी : काठमाडौं बन्न सक्छ, भारत–चीन वार्ताको ‘भेन्यु’

पछिल्लो समय नेपालको कूटनीति खस्किँदै गएको भए पनि यसको इतिहास कमजोर छैन । राजनीतिक अवस्था र स्वार्थकेन्द्रित हुँदा केही विषयमा नेपाल कतै न कतै ढल्कन सक्ने अवस्था भए पनि आम जनताको खबरदारीले त्यति सहज छैन । नेपालमा भारत र चीनको मात्र होइन, यी दुईबीचको प्रतिस्पर्धालाई लिएर सबैको आँखा परेको छ । शुक्रबार भारत र भुटानका विदेशमन्त्रीको साइडलाइन वार्ता र दोक्लम विषयले पनि यसलाई झनै महत्त्व पाएको हो । 

नेपालले यतिबेला चीन र भारतको तनावको अर्को पक्ष भुटानसँग आफैंले वार्ता नगरे पनि भुटान र भारतबीच वार्ताको वातावरण तय गरिदिएको छ । परराष्ट्र उच्चस्रोतका अनुसार आरम्भमा भुटान साइडलाइन वार्ता गर्न तयार थिएन । भारत र चीनको कूटनीतिक चासो र महत्त्व पछिल्लो समय हवात्तै बढेको समयमा दोक्लमबारे अर्को सरोकारवाला मुलुक भुटानसँग काठमाडौंमा दुईपक्षीय वार्ता नेपालले गराउँदै भारत–चीन वार्ताका लागि समेत काठमाडौं उपयुक्त स्थल हुन सक्ने कूटनीतिक संकेत दिएको छ ।

वार्ताको व्यवस्थापन गरेर नेपालले भारतीय चाहना पूरा गरिदिएको हो । पछिल्लो समय भुटान भारतीय सुरक्षा छाताबाट बाहिरिन खोजिरहेको छ । पछिल्लो सन्धिअनुसार भुटान भारतको सुरक्षा छाताबाट बाहिर भए पनि व्यवहारमा त्यस्तो छैन । त्यही समयमा चीनले भुटानमा आफ्नो कूटनीतिक सञ्जाल विस्तार गर्न ढोका खोजिरहेको छ । यो अवस्थामा दोक्लमको विषय एकाएक बाहिर आएकाले पनि भारतले भुटानसँग बाह्य भेन्युमा छलफलका लागि पहल गरेको हो । भारत–चीन विवादमा शान्तिपूर्ण वार्ताको पहलकदमी नेपालले गर्नुपर्ने आवाज उठिरहेका बेला भारत र भुटानका विदेशमन्त्रीबीच शुक्रबार होटल सोल्टीमा करिब आधा घण्टा वार्ता भयो । दोक्लममा भारतले लिएको कदममा भुटानको धारणा र आफ्नो कुरा भुटानको विदेशमन्त्रीलाई सुनाउन भारतले यो ‘भेन्यु’ रोजेको हो । 

अन्यथा भुटानका मन्त्रीलाई भारतले दिल्ली निम्त्याउन नसक्ने अवस्था थिएन । नेपालले पछिल्लो समय हतार गरेर बिमस्टेक बैठकको तिथि तय गरेको विषयदेखि नै यस्ता त्रिपक्षीय र उपक्षेत्रीय सहकार्यको विषय उठदै आएको हो ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले चीनसँग जारी दोक्लम तनावबारे अर्को सरोकारवाला पक्ष भुटानका विदेशमन्त्री दाम्चो दोर्जीसँग साइडलाइन वार्ता गर्ने क्रममा भारतीय र भुटानी अधिकारीहरू मात्र उपस्थित थिए । काठमाडौंमा सम्पन्न १५ औं बिमस्टेक बैठकमा सहभागी हुन काठमाडौं आएकी स्वराजले दोक्लमबारे छलफल गरेकी हुन् । स्वराज आइपुगेलगत्तै भारतीय दूतावासले बिमस्टेक ‘होस्ट’ मुलुक नेपाललाई औपचारिक आग्रह गरेको थियो । भारत र चीन तनाव तथा भुटान यसमा जोडिएका कारण नेपालले यसपटक साइडलाइन वार्तामा चासो राखेको थिएन । भारतीय अधिकारीले आग्रह गरेपछि नेपालले साइडलाइन वार्ता तय गरेको परराष्ट्र अधिकारीले जनाए । चीन र भारतको तनाबबारे तटस्थ रहने नेपालको नीति सार्वजनिक गर्दै सरकारले वार्ताबाट समाधान खोज्न आग्रह गरेको छ । यो अवस्थामा नेपालले अर्को पक्षसँग छलफलको वातावरण जुराएको हो ।

चीनले दोक्लममा भारत सम्बन्धित पक्ष नभएको बताइरहेको र भुटान दोक्लमको विषयमा मौन बसिरहेको अवस्थामा यो भेटवार्ता अर्थपूर्ण छ । चीनले दोक्लम आफू र भुटानबीचको मामिला रहेको भन्दै भारतलाई आफ्नो सेना फिर्ता गर्न आग्रह गरिरहेको छ । भारतले यसमा चीनसँग वार्ता चाहेको छ । तर, चीनले वार्ता सुरु गर्नुअघि भारतलाई आफ्नो सेना फिर्ता लैजान भनेको छ । सेना फिर्ता नभएसम्म चीनले भारतसँग वार्ता नगर्ने जनाउ दिँदै आएको छ भने भारतले पनि आफ्नो सेना त्यहाँबाट फिर्ता नहुने बताइसकेको छ । भारतलाई चीनले पटकपटक आरोप लगाएको छ, ‘अर्काको मामिलामा भारतको ‘घुसपेठ’ हो । यो हामीलाई स्वीकार्य रहँदैन ।’

भुटानले दोक्लम विवादको आरम्भमा भुटानको भूभाग चीनले मिचेको भने पनि भारतीय सेनाको उपस्थितिपछि आफ्नो कुनै पनि धारणा सार्वजनिक गरेको छैन । दिल्लीस्थित भुटानी दूतावासले नजिकै रहेको चिनियाँ दूतावासमा पुगेर भूभाग मिचिएको र समस्या समाधान वार्ताबाट गर्न आग्रह गर्दै कूटनीतिक पत्र दिएको थियो । भुटानले कुनै पहल नै नगरी एक्कासि भारतीय सेना दोक्लम पुगेको भनिरहेको अवस्थामा स्वराजले भुटानी मन्त्रीलाई भेटेकी हुन् । भुटानी मन्त्रीले सोल्टी होटल परिसरमा कान्तिपुरले एक्कासि अनौपचारिक रूपमा भेटदै जिज्ञासा राख्दा आफ्नो ध्यान बिमस्टेक बैठकमा नै रहेको भन्दै पन्छिए । दोक्लम विषयमा नबोले पनि शरणार्थीको विषयमा कुरा गर्न आग्रह गरिए पनि एक सहयोगीले यो विषयमा अन्य भेटमा कुरा गर्ने बताएर बैठक कक्षतिर प्रवेश गरे । बिहीबारदेखिको प्रयासमा पटकपटक आमनेसामने भए पनि भुटानले मिडियासँग छलफल गर्न नै चाहेन । भारतीय र अन्य मिडियाले पनि भुटानी अधिकारीलाई फलो गरिरहेका थिए ।

बिमस्टेक बैठक भारतका लागि साइडलाइनमा नै सही, आफ्नो कूटनीतिक लबिइङका लागि राम्रो फोरम साबित भएको छ । भारतले नेपाल, भुटान र श्रीलंकासँग उक्त कुरा राख्यो । बंगलादेशसँग पनि अनौपचारिक छलफल भएको थियो । त्यस्तै, म्यानमार र थाइल्यान्डका उपविदेशमन्त्री बीच पनि छलफल अनौपचारिक मात्र भए । छुट्टै साइडलाइन वार्ता भएन । काठमाडौंले त्यसमा सहयोग नै गरेको बुझाइ भारतको देखियो । भारतीय दूतावासमा सुष्मा स्वराजको सम्मान र भारतको स्वतन्त्रता दिवसका अवसरमा आयोजित रात्रिभोजमा समेत उपस्थित उच्च अधिकारी तथा राजनीतिज्ञहरूले भारत र भुटानको वार्ताको विषयमा नै चासो राखेका थिए । उनीहरू भन्दै थिए, ‘भारत र चीनका लागि छलफल गर्ने उपयुक्त स्थान नेपाल हो । हामीले भेन्यु दिँदै वार्ताका लागि पहल गर्न सके साच्चै नेपाल त्रिपक्षीय सहकार्यको ‘मियो’ बन्नेछ ।’ स्वराजले भुटानबाहेक अन्य मुलुकका मन्त्रीहरूसँग पनि भेटवार्ता गरेकी छन् । सबै भेटमा आफ्नो पक्षमा कूटनीतिक पहल बलियो बनाउँदै भारतको अडान स्पष्ट राखेकी छन् ।

स्वराजले शुक्रबार काठमाडौं उत्रेका श्रीलंकाका विदेश राज्यमन्त्री वसन्था सेनानायेकेलाई पनि भेटिन् । श्रीलंकाको निकै व्यस्त मानिने डिप सि हम्बनटोट्टा बन्दरगाहको विकास र प्रयोगको जिम्मा चीनले लिएको छ । त्यो विषयमा भारतको पहिलेदेखि नै चासो रहेको थियो । 

प्रकाशित : श्रावण २९, २०७४ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?