कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुस्ताङमा हावाबाट बिजुली, ओलीले गरे उद्‍घाटन

विनोद त्रिपाठी

मुस्ताङ — पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले शनिबार जोमसोममा हावाबाट उत्पादन भएको बिजुली प्रविधिको उद्घाटन गरेका छन् ।

मुस्ताङमा हावाबाट बिजुली, ओलीले गरे उद्‍घाटन

मुस्ताङ प्रहरी कार्यालय परिसरमा हावाबाट बिजुली बाल्न प्रयोग भएको मेसिनको मेन स्विच अन गरेर उनले उद्घाटन गरेका हुन् । उद्घाटनपछि उनले आफ्नो भनाइलाई ‘हावामा उडाउने’ हरूले मुस्ताङमा आएर हावाबाट चम्किलो उज्यालो दिएको बिजुली हेर्न अनुरोध गरे । ‘मेरो प्रधानमन्त्रीकालमा मैले नसक्ने कुरा कहिल्यै गरिनँ, अबुझहरूले बुझेनन्, बुझ्नेहरूले बुझ पचाइदिए,’ उनले भने, ‘हावाबाट बल्यो त बिजुली । यो सम्भव विषय थियो र मैले बोलेको थिएँ ।’

मुस्ताङ मात्रै होइन, नवलपरासी र हेटौंडामा पनि हावाबाट बिजुली बलेर प्रमाणित भइसकेको उनले बताए । हाल ३ किलोवाट उत्पादन भइरहेको छ । स्पेनिस लगानीकर्ताबाट आफूले ४० मेगावाट बिजुली उत्पादनको योजना रहेको जानकारी पाएको उनले बताए ।

‘७ अर्ब खर्च लाग्ने सुनेपछि मैले नेपाल यो योजना बनाउन तयार छ र जुन सरकार भए पनि तयार हुनुपर्छ भनें,’ स्पेनिस लगानीकर्ताको प्रशंसा गर्दै उनले भने, ‘तपाईंहरूको साहसलाई म सलाम गर्छु ।’ मुस्ताङमा रहेका प्राकृतिक वस्तुहरू हावा, युरेनियम, नुनको उपयोग गर्न ढिलाइ गर्न नहुने उनले बताए । ‘म प्रधानमन्त्री भएका बेला भारत भ्रमणमा जाँदा भारतीय कलाकारलाई भनेको थिएँ, ‘मुस्ताङमा फिल्म सुटिङ गर्न आउनुस्, हामीसँग विश्वमै नभएका प्राकृतिक स्रोतहरू छन्,’ उनले भने, ‘यहाँको संरचनाको महत्त्वको विषयमा प्रचार खाँचो छ ।’ प्राकृतिक स्रोतको उपयोग गरे मात्र मुलुक धनी बन्ने सपना आफूले धेरै देख्ने गरेको उनले बताए । स्पेनिस लगानीकर्ताले १६ महिनापछि हावाबाट बिजुली निकाल्ने काममा सफलता पाएका हुन् । उक्त उपकरण सदरमुकाम जोमसोमस्थित जिल्ला प्रहरी कार्यालय परिसरमा राखिएको छ । निजी लगानीबाट निस्किएको बिजुली र यसका सबै संरचना लगानीकर्ताले शनिबार नै सरकारलाई हस्तान्तरण गरेका छन् । परीक्षण सफल भएकाले मुस्ताङभरिलाई चाहिने थप बिजुली निकाल्न विदेशी टोली वैशाखदेखि जोमसोममै खटिएको छ । मेगा प्रोजेक्टका रूपमा हावाबाट ४० मेगावाट विद्युत् उत्पादनको अध्ययन भइरहेको स्पेनमा व्यवसाय गर्दै आएका पुष्पराज तिमिल्सेनाले बताए ।

स्पेनिस लगानीकर्ता राफेल भेनस पिच र तिमिल्सेना मिलेर बुद्ध पावर प्रालि खोलेर गत वर्षको वैशाखदेखि काम थालेका थिए । कार्यक्रममा राफेलले यो परीक्षणले सबैलाई विद्युत्को ज्ञान दिने विश्वास व्यक्त गरे । ‘हामीले ४० मेगावाट बिजुली यही ठाउँमा हावाबाट निकाल्न सक्छौं तर स्थानीयको पनि यो परियोजनामा साझेदारी होस् भन्ने हाम्रो अपेक्षा छ,’ उनले भने, ‘यसका लागि ७ अर्ब रुपैयाँ लाग्ने हाम्रो अनुमान छ ।’ यो परीक्षणको उद्देश्य आधुनिक प्रविधि र लगानी भित्र्याउनु रहेको उनले बताए ।

कोरला नाका खुल्छ
हेलिकप्टरबाट आएका ओली चीनको सिमाना कोरला नाका पुगेर जोमसोम फर्किएका थिए । भ्रमणपछि जोमसोममा उनले कोरला नाका खुल्ने दाबी गरे । ‘हाम्रोतर्फ र चीनतर्फ सडक बनिरहेको छ,’ उनले भने, ‘सडक निर्माण पूरा हुनेबित्तिकै कोरला नाका दीर्घकालीन रूपमै खुल्छ, यसको ग्यारेन्टी म दिन्छु ।’ उनले हालै चीनको तिब्बत क्षेत्र भ्रमण गर्दा कोरला नाकाको प्रसंग छलफलमा आएको बताए ।

प्रकाशित : श्रावण २९, २०७४ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?