२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

जनकपुर पनि डुबानमा, एक हजारभन्दा बढी घरमा बाढी पस्यो

श्यामसुन्दर शशि

जनकपुर — पुरानो जलाद नदीमा आएको बाढीबाट जनकपुर उपमहानगरपालिका १ शिवपथ, मुसलमान बस्ती तथा वकिल टोलसँगै वडानम्बर १६ पुलचोक र कपिलेश्वरका एक हजारभन्दा बढी घर डुबानमा परेका छन् ।

जनकपुर पनि डुबानमा, एक हजारभन्दा बढी घरमा बाढी पस्यो

दुई परिवारको चार कोठो कर्कतपाताको घर बाढीमा बगेको छ । घरभित्र पानी पसेकोले सयौं परिवार विस्थापित भएका छन् । करोडौं मूल्यबराबारको सरसमान, लत्ताकपडा तथा अन्न बाढीको पानीसँगै बगेको छ । बिहान ३ बजेदेखि सुरु भएको बाढीका कारण पीडितहरुले आफ्ना सरसामान समेत सुरक्षित स्थानमा राख्न भ्याएनन् । विगत पाँच दिनदेखि परेको अविरल वर्षाका कारण पुरानो जलाद नदीमा आएको बाढीका कारण शिवपथ एरिया पूरै डुबानमा छ । सडकमा चार फिटसम्म पानी बगेको छ । पुलचोकस्थित पुलमा घाँसपात अडिएको कारण पानीको मुहान थुनिएको छ । स्थानीय कमलेश मण्डलका अनुसार पानी निकास बन्द भएकोले नदीको पानी घर ईलाकामा फैलिएको छ । अचेल जनकपुर उपमहानगरपालिकाको दुई डोजर पुल नजिकको अवरोध हटाउने काममा जुटेको छ ।

यसै गरी जनकपुरको किसोरीनगर, शान्ति नगर, वकिलटोल, बजरंग टोल, जानकी मन्दिर पश्चिमको मुसलमान मोहल्ला, वलवा टोल, मुसहरी टोलसहितका ईलाका जलमग्न छन् । शिवचौक–भानुचौक सडकमा दुई फिटसम्म पानी जमेको छ ।

यसै गरी कमला नदीमा आएको बाढीको कारण पूर्वी धनुषाको जनजीवन कष्टकर बनेको छ । सयौं विगाहमा लगाइएको धान बाली नष्ट भएको छ भन्ने कम्तीमा दस गाउँ डुबानमा परेको छ । चारनाथ खोलामा आएको बाढीका कारण ७६ बिगाह गाउँका २० घर उच्च जोखिममा छन् । मध्य धनुषाबाट बग्ने जलाद नदीमा पानीको स्तर बढ्दो छ । स्थानीयवासीका अनुसार वर्षा नथामिए, जलाद नदीमा पनि बाढी आउने खतरा छ ।

कमला नदीमा आएको बाढीका कारण छेउछाउका ढोलवज्जा, किरतपुर, बरमझिया, हौवाही, सोनापारालगायत गाउँ जलमग्न बनेको छ । बरमझिया गाउँको घर–घरमा पानी पसेको छ । स्थानीय विशेश्वर यादवका अनुसार तटबन्ध कटानलाई समयमै रोकिएन भने पुरै बस्ती विस्थापित हुनेछ ।

यसै गरी किरतपुरस्थित कमला नहरमा आएको पानीको उच्च बहावका कारण तटबन्ध भत्काएको छ । भत्केको तटबन्ध मर्मत गर्न स्थानीयवासी तथा जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयका प्राविधिकहरु घटनास्थलमा पुगेको जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयका डिई आनन्दकुमार झाले जानकारी दिए ।

यसैबीच चारनाथ खोलामा आएको बाढीले जूरी बाजारभन्दा उत्तरको तटबन्ध कटान गर्न थालेको छ । कटान नियन्त्रण गरिएन भने चारनाथ खोलाको मूहान फेरिन थगन बर्मझिया, रघुनाथपुर, सवैला, यदुकुहा, भठिहनलगायत गाउँहरु जोखिममा पर्न सक्ने संभावना छ । स्थानीय सूर्य यादवका अनुसार बाढीको पानी घरमा पसे पछि भरतपुर ३ का राशलाल यादव र देवदत्त यादवको घर क्षतिग्रस्त भएको छ भने महिद राईन, इद्रिस राइन, असर्फी यादवलगायत एक दर्जन घरमा पानी पसेको छ ।

प्रकाशित : श्रावण २९, २०७४ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?