लगातार बर्षाका कारण पहिरो, एकको मृत्यु, तीन जना बेपत्ता

शाहीमान राई

पाँचथर — पाँच दिनदेखि अविरल बर्षाका कारण पाँचथरको फालेलुङ गाउँपालिका क्षेत्रमा जान थालेको पहिरो अझै थामिएको छैन । लगातार बर्षाको कारण बाढी पहिरोले त्यस क्षेत्रका वस्तीहरु जोखिममा छन् ।

लगातार बर्षाका कारण पहिरो, एकको मृत्यु, तीन जना बेपत्ता

सदरमुकाम फिदिमदेखि २२ कोस सु्दुर उत्तर फालेलुङ गाउँपालिका–३ मेमेङका ताङलेपा, खोलाघर, फालेलुङ –४ एकतीनस्थित चुप्पादेनलगायत आसपासको क्षेत्रमा गएको पहिरोले घर सहित बगाएर एक जनाको मृत्यु भएको छ । मेमेङस्थित निवा खोला जलविद्युत आयोजनाका चौकिदारसमेत एकैघरका तीनलाई बाढीले बगाएर वेपत्ता छन् ।

फालेलुङ गाउापालिका–३ मेमेङको ताङ्लेपाका ५९ बर्षीय विष्णुभक्त राई, उनकी छोरी १३ बर्षीया गंगा र १३ बर्षीया नातिनी प्रिया राई शव आइतबार अपरान्हसम्म बेपत्ता छन् । खोजी कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी विनोद कुमार खडकाले बताए ।

पहिरोले घरैसहित पुरिएका फालेलुङ–४ एकतीनस्थित चुप्पादेनका ८३ बर्षीय त्रिलोचन विश्वकर्माको शव फिदिमस्थित जिल्ला अस्पतालमा पोष्टमार्टम गरी दाहसंस्कार गरिएको छ । फालेलुङ आसपासको क्षेत्रमा १५ ठाउँमा ठूलठूला पहिरो खसेकोले स्थानीयबासी समेत वारपार गर्न कठिन भएको बताइएको छ । फालेलुङको एकतीन र मेमेङमा ४ दर्जनभन्दा बढी घर पहिरोले क्षतिग्रस्त भएकाले भागेर बाँचेकाहरु सुरक्षित गोठमा भोकभोकै बस्न बाध्य छन् ।

पहिरोले बगायो जलविद्युत आयोजना

उतरी पाँचथरको फालेलुङ गाउँपालिका–३ मेमेङस्थित स्थानीयबासीको सक्रियतामा निर्मित १३ किलोवाट क्षमताको निवाखोला लघुजलविद्युत आयोजना समेत बाढीपहिरोले शुक्रबार विहान बगाएको छ । आयोजनाको विद्युतगृह, कुलो र विद्युतीय उपकरण पूर्णरुपमा क्षतिग्रस्त छ । विद्युत आयोजना बगाएपछि एक हजार घरपरिवार भन्दा बढी उपभोक्ताहरु तीन दिनदेखि अन्धकारमा बस्न बाध्य छन् । जलविद्युत आयोजना निरीक्षण गर्न जानसक्ने अवस्था समेत नभएको स्थानीयले बताए ।

विद्युत र सञ्चार सेवा समेत अवरुद्ध

नियमित बर्षाका कारण नेपाल विद्युत प्राधिकरणको १३२ केभि राष्ट्रिय प्रशारण लाइन अवरुद्ध हुादा इलाम, पाँचथर, ताप्लजुङलगायत पूर्वी पहाडमा सर्बसाधारण तीन दिनदेखि आध्यारोमा बस्न बाध्य छन् । झापाको दमकस्थित विद्युत सवस्टेसनमा ट्रन्सफर्मरमा खरावी आएपछि विद्युत सेवा अवरुद्ध हुँदा टेलिफोन, मोवाइल र इन्टरनेट सेवा समेत अवरुद्ध भएको छ । विद्युत नहुदा पाँचथरको अधिकांश ठाउँमा सञ्चार सम्पर्कविहीन छ ।

नेपाल टेलिकमलगायत सेवाप्रदायक कम्पनीले जेनेरेटरबाट फाट्टफुट्ट सेवा सञ्चालन गरेपनि सञ्चार प्रणालीमा सुधार नभएपछि संचारसम्पर्क विच्छेद हुँदा इन्टरनेट, मोवाइल र टेलिफोनको नेटवर्क बन्द हुने गरेको छ । सञ्चारसम्पर्क विच्छेद भएपछि सरकारी तथा गैरसरकारी कार्यालयबाट सर्बसाधारणलाई सेवा प्रवाह गर्न कठिन भएको छ । मेची पहाडी क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएपछि सर्वसाधारण कठिन जीवनयापन गर्न बाध्य छन् ।

प्रकाशित : श्रावण २९, २०७४ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?