पहिरोले बगायो ‘पावर हाउस’

कान्तिपुर संवाददाता

बागलुङ — बर्षाले आईतबार पहिरो जाँदा बडीगाड गाउँपालिका ७ भिमगाडस्थित भिमगाड प्रथम जलविद्युत आयोजनाको विद्युत उत्पादन गृह (पावर हाउस) बगाएको छ । जलविद्युत उत्पादन गृह बगाएपछि उक्त क्षेत्रका करिव ४ सय ५० घर अन्धकारमा रहेको विद्युत गृहका सदस्य शंकर थापाले बताए ।

पहिरोले स्थानीय भिमगाड खोला थुनिएपछि खोलाको किनारामा रहेको ४२ किलोवाट क्षमताको उक्त विद्युत गृह बगाएको उनले जानकारी दिए । जलविद्युत बगाएपछि लाखौंको क्षति भएको उनले जानकारी दिए ।

‘पहिरोले खोला तालिएर फुट्दा जलविद्युतको भवन समेत बगायो,’ उनले भने, ‘धन्न मानवीय क्षति भने भएन ।’ १३ वर्ष अघिदेखि सञ्चालनमा आएको उक्त जलविद्युत गृहमा पहिरोको जोखिम नभएको भनिएपनि पहिरोले खोला थुनिएपछि अकल्पनिय क्षति बेहोर्नु परेको उनले बताए ।

‘यस पटकको पहिरोले वित्यासै पार्‍यो,’ स्थानीय रेशमलाल भुषालले भने, ‘अब अन्धकारमा बस्नु पर्ने भयो ।’

पहिरोले थुनिएर ताल परेको खोलाले आफ्नो गति लिई सकेकोले थप क्षति टरेको उनले बताए ।

जलविद्युत सञ्चालनको लागि राज्यबाट पहल हुन आवश्यक रहेको उनले बताए । विद्युतबिच्छेद पछि मोबाईल चार्ज गर्न पनि घण्टौं चहार्नु पर्ने बाध्यता रहेको उनले जानकारी दिए ।

प्रकाशित : श्रावण २९, २०७४ १७:३७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बाढी प्रभावित क्षेत्रमा महामारी फैलिने खतरा, करिब ६० लाख जनसंख्या बाढी प्रभावित

अतुल मिश्र

काठमाडौं — जनस्वास्थ्य विशेषज्ञहरूले मुलुकको बाढी प्रभावित तराई क्षेत्रमा पानी र किटजन्य महामारी फैलिन सक्ने चेतावनी दिएका छन् । यसपटकको बाढीमा बढी मात्रामा मधेसको सहरी र ग्रामीण जनजीवन प्रभावित रहेकोले प्रकोपको जोखिम समेत उच्च छ । उनीहरूले सरकारले तुरुन्त सम्भावित महामारीको सम्बोघन गर्न तयारी सुरु गर्नु पर्ने बताएका छ्न् ।

पानी र खाद्यजन्य महामारी २४ घन्टामै फैलिन सक्ने सम्भावना रहने गरेको औल्याउँदै स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक डा. विडी चटौतले सम्भावित महामारीको लागि तम्तयार रहनु पर्ने बताए। हाल तत्काल बाढी प्रभावित क्षेत्रमा झाडा पखाला, हैजा, टाइफाइड, जण्डीस (हेपाटाइटिस)लगायत खाना र पानीजन्य रोग देखिने सम्भावना छ भने केही दिनपछि औलो, डेगी, चिकनगुनियालगायत किटजन्य रोग देखिने सम्भावना रहेको विज्ञहरू औंल्याउँछन् ।
यस्तै आँखा पाक्ने रोग (कजंक्टिवाइटिस), लेप्टोस्पोरोसिस र छालासम्बन्धी रोग देखिने समेत सम्भावना छ ।

'बाढी प्रभावित क्षेत्रमा २४ घन्टाभित्रदेखि नै पानीजन्य रोग देखिन सक्ने सम्भावना रहन्छ', इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. जीडी ठाकुर भन्छन्- 'प्रभावित क्षेत्रमा शुद्ध पौष्टिक खाना र पानीको आपूर्ति सुनिश्चित हुनुको साथै शिविरमा दिसा पिसाबको उचित व्यवस्थापन हुनु पर्छ ।'

विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)को अनुसार बाढी प्रभावित जनतालाई तत्काल शुद्ध खानेपानीको सुनिश्चितता गर्नु पर्छ । यसले पानीजन्य रोगको प्रकोप फैलिनबाट जोगाउँछ । यस्तै हेपाटाइटिस 'ए' विरूद्धको खोप र औलो रोगबाट बचाउको उपाय बाढी प्रभावित क्षेत्रमा तत्काल अपनाउनु पर्छ ।
 
हाल सरकारले बाढी प्रभावित क्षेत्रमा ठाउँ ठाउँमा स्वास्थ्य शिविर राख्नुको साथै तुरुन्त औषधि उपलब्धता सुनिश्चित गर्नु पर्ने आवश्यकता डा. चटौत औल्याउँछन् ।
हालसम्म बाढीले गर्दा कुनै रोगको प्रकोपन देखिएको उल्लेख गर्दै इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भीम आचार्य भन्छन्- 'अस्तव्यस्त भएकोले जति जानकारी आउनु पर्ने हो त्यो आइरहेको छैन, जति जानकारी आएको छ त्यसले आत्तिनु पर्ने अवस्था छैन ।'


गृह मन्त्रालयको तथ्यांकअनुसार तराईका १८ जिल्ला बाढीको प्रकोप देखिएको औल्याउँदै डा आचार्य भन्छन्- 'हाम्रो प्रारम्भिक अनुमानअनुसार ६० लाखभन्दा बढी जनसंख्या बाढीले प्रभावित छ'

बाढी प्रभावित क्षेत्रमा झाडापखाला र औलो फैलिने क्रम विगतमा समेत देखिएको छ । करिब ३ वर्षअघि बाँके, बर्दिया र सुर्खेतका बाढीपीडितमा झाडापखालाको समस्या देखिएको थियो । 

यस्तै करिब एक दशकअघि बाढीको ६ सातापछि बाँकेको राप्ती पारिमा देखिएको औलोले ३३ जनाको मृत्यु भएको विज्ञहरू बताउँछन् ।

प्रकाशित : श्रावण २९, २०७४ १७:३७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT