कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिनियाँ उपप्रधानमन्त्री वाङ फर्किए

परराष्ट्रमन्त्री महराले बिदाई गरे
निकै खुशी भएर फर्केका छन् : वाङ परराष्ट्र अधिकारी

काठमाडौं — चिनियाँ राष्ट्रपति सी चिनफिङका विशेष प्रतिनिधीको रुपमा आएका उपप्रधानमन्त्री वाङ याङ तीन दिने नेपालको औपचारिक भ्रमण सम्पन्न गर्दै स्वदेश फर्केका छन् । वाङ सार्क सदस्य तथा चीनको आर्थिक साझेदार छिमेकी मुलुक पाकिस्तानको ७१ औं स्वतन्त्रता दिवसमा सहभागी भएर नेपाल सोमबार साँझ आइपुगेका थिए । उनले तीन रात होटल सोल्टीमा बिताए ।

चिनियाँ उपप्रधानमन्त्री वाङ फर्किए

उनी राजनीतिक र रणनीतिक भेटघाटमा सक्रिय रहे । अधिकांशलाई होटल सोल्टीमा नै भेटे । दुईपक्षीय उच्चस्तरीय वार्ता पनि उनी रहेकै होटलमा सम्पन्न भयो । नेपाल र चीनबीच भएका यसअघिका सहमति र सम्झौता अघि बढाउन तीन फरफफरक सम्झौतामा हस्ताक्षर भए । शिष्टाचार भेटका लागि उनी बालुवाटार र शितल निवास पुगे । सबै भेटमा चीनको नेपाललाई उच्च प्राथमिकतामा राखेको भन्दै विकास प्रक्रियामा सघाउन र लगानी गर्न चीन सधैं तयार रहेको उनले बताए ।

पूर्व प्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल र केपी ओलीसँग सोल्टिमा भएको भेटमा उनले नेपाल र चीनको सम्बन्ध तथा दलिय सम्बन्धलाई स्मरण गर्दै भनेका थिए, ‘राजनीतिक स्थायीत्व दलिय सहकार्यबाट हुने छ । यसमा नेपाल अघि बढेको छ । राजनीतिक स्थायीत्व पछि नेपाल चीन सम्बन्ध झन् उचाईमा पुग्नेछ ।’

उनले भेटवार्तामा नेपाललाई चीनले कति महत्व दिन्छ भन्ने विषय आफ्ना काठमाडौं बसाईले पुष्टिगरेको बताउँदै भने, ‘म पाकिस्तानमा एक रात बिताए तर नेपालमा तीन रात । यसबाट पनि स्पष्ट हुन्छ हामी नेपाललाई कति नजिक ठान्छौं र महत्व दिन्छौं ।’ 

भारत र चीनबीच दोक्लममा आमने सामने मात्र होइन उनी यहाँ रहेकै दिन लद्दाखमा ढुंगा हानाहानको अवस्था सृजना भएको समचार आएको थियो । यो समयमा भएको उक्त भेटवार्ताको निकै अर्थ रहने अधिकारीहरुले बताएका छन् । भित्री छलफल बारे सबै धारणा बाहिर आइनसके पनि उनले प्रतिपक्ष दलका प्रमुख नेतासँग गरेको एक्लाएक्लै वार्ता र सबै भेटमा नेपालको असंलग्नता कूटनीतिको प्रशंसा आफैंमा अर्थपूर्ण छ । 

वाङ आउनु पाँच दिन अघिमात्र परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन नै गरेर नेपाल भारत र चीनको मामिलामा तटस्थ बसेको जानकारी दिंदै शान्ति पूर्ण वार्ताको लागि दुवै मुलुकलाई आग्रह समेत गरेको थियो । उनी आउनु दुई दिन अघि भारतीय विदेश मन्त्री सुष्मा स्वराजले उनले भेटेका सबै ब्यक्तिलाई भेटेर फर्केकी थिइन् ।

निकै प्रशन्न मुद्रामा स्वदेश फिरेका वाङलाई उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले बिदाई गरेका थिए । उनको स्वागत संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री जितेन्द्र देवले गरेका थिए । बिदाई गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महरासँग वाङले आपसी छलफल समेत गर्दै नेपाल र चीन सम्वन्धमा यो भ्रमण एक मत्वको कडिमा रहेको बताए । भ्रमण निकै सफल र सवल रहेको बताउदै दुईपक्षीय सम्वन्ध थप उचाईमा पुगेको महरालाई सुनाउँदै नेपालको कूटनीतिको प्रशंसा जाँदाजाँदै पनि गरेको बिदाईमा सहभागि अधिकारीले जानकारी दिए ।
  

प्रकाशित : भाद्र १, २०७४ ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?