रुकुमको दुर्गम गाउँ खदीमा अज्ञात राेगका कारण २ सय बढी बिरामी

महामारीको रुप लिन सक्ने भन्दै चिन्ता व्यक्त
हरि गौतम

रुकुम — आठविसकोट नगरपालिका–३, खदीमा अज्ञात रोगका कारण २ सय बढी बिरामी परेका छन् । हप्ता दिन यता सर्वसाधारणहरु धमाधम बिरामी परिरहेको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार टाउको दुख्ने, पेट दुख्ने, हातगोडा दुख्ने, वान्ता हुने जस्ता लक्षणका कारण गाउँका अधिकांश सर्वसाधारण बिरामी परेका छन् ।



नगर प्रमुख गोर्खबहादुर केसीले अज्ञात रोगका कारण खदीका सर्वसाधारण बिरामी परेको बताए । भिन्नभिन्न लक्षणका बिरामीहरु दैनिक रुपमा बढ्दै गएको प्रमुख केसीले बताए । साविकको स्यालाखदी गाविसमा पर्ने उक्त ठाउँमा स्वास्थ्य चौकी पनि छैन । स्यालामा रहेको स्वास्थ्य चौकी पनि अनमीको भरमा चल्दै आएको नगर प्रमुख केसीले बताए । हालसम्म उक्त प्रकोप कुन रोगको हो भन्ने नै पत्ता लाग्न सकेको छैन ।

हरेक दिन बिरामी बढ्दै गएपछि आठविसकोट नगर स्तरीय स्वास्थ्य संस्थाबाट २ जना स्वास्थ्यकर्मीसहित औषधि पठाइएको छ । एकजना हेल्थ असिस्टेन्ट र एकजना अहेब १ जना भरिया औषधिसहित खदीतर्फ गएको नगर प्रमुख केसीले बताए ।

‘बिना कुनै जाँच अनुमानका भरमा औषधि लिइएको छ,’ उनले भने, ‘त्यो औषधि उक्त रोगका लागि फिट हुने हो वा होइन थाह छैन । एकजनाले मात्रै बोकेको औषधिले कतिजना बिरामीलाई पुग्ने हो त्यो पनि समस्यै छ ।’ यसलाई तत्काल नियन्त्रणमा ल्याउन नसके महामारी फैलने होकी चिन्ता नगर प्रमुख केसीेले व्यक्त गरे ।

हेल्थ असिस्टेन्ट मनिराज शाह र अर्को १ जना अहेब बुधबार जिल्ला अस्पतालबाट औषधिसहित त्यसतर्फ गएका हुन् । उनीहरु आज बेलुकासम्म सो स्थानमा पुग्न सक्ने अनुमान गरिएको छ । जिल्ला अस्पतालका महामारी नियन्त्रण कार्यक्रमका फोकल पर्सन नन्दलाल महत्तोले एक्कासी धेरैजनामा ज्वरो आएकोले आवश्यक औषधिसहित स्वास्थ्यकर्मी पठाइएको बताए ।

प्रकाशित : भाद्र १, २०७४ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?