कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

संविधान संशोधन विधेयकमा आज मतदान

पारित हुने सम्भावना न्यून
राजेन्द्र फुयाल

काठमाडौं — सरकारले सोमबार संसद्मा संविधानको दोस्रो संशोधन विधेयक निर्णयार्थ पेस गर्ने तयारी गरेको छ । प्रधानमन्त्री निर्वाचनमा सत्तारूढ गठबन्धनलाई साथ दिएको राप्रपाले समेत विपक्षमा मतदान गर्ने निर्णय गरेका कारण संशोधन विधेयक पारित नहुने निश्चितप्राय: छ ।

संविधान संशोधन विधेयकमा आज मतदान

संविधान जारी भएदेखि नै असन्तुष्ट रहेका मधेस केन्द्रित दलहरूको माग सम्बोधन गर्न सरकारले राष्ट्रिय सभाको प्रतिनिधित्व, वैवाहिक अंगीकृत नागरिकता, भाषा र प्रदेश सीमांकन आयोगको क्षेत्राधिकारसहितका विषयमा संविधान संशोधन गर्ने प्रक्रिया अघि बढाएको हो ।

विधेयकमाथि संशोधन दर्ता गराउनेसहितका सांसदहरूले आइतबार दोस्रो दिनको दफावार छलफलमा भाग लिए । एमालेसहितका प्रतिपक्षी सांसदले विधेयक अघि बढाउने सरकारी कदमलाई ‘बेमौसमको बाजा’ भनेका छन् भने सत्तापक्षका सांसदले मधेसी दलको माग सम्बोधन गर्न संविधान संशोधनलाई मतदानमा लैजानुको विकल्प नभएको धारणा राखेका छन् ।

राजनीतिक घटनाक्रमले सोमबार बिहानसम्म कुनै नाटकीय मोड नलिए सोमबार अपराहन बस्ने संसदको बैठकमा संविधान संशोधन विधयेक निर्णयार्थ पेस हुनेछ । विधेयकमाथिको दफावार छलफल बाँकी रहेको र त्यसमाथि परेका ५० वटा संशोधनलाई क्रमैसँग निर्णयार्थ पेस गर्न लामै समय लाग्नेछ ।

प्रधानमन्त्री निर्वाचनमा सत्ता गठबन्धनतिर उभिएको राप्रपाले अहिले संशोधन विधेयकको विपक्षमा मत दिने औपचारिक निर्णय लिइसकेको छ । राप्रपाका ३७ सांसदमध्ये १९ सांसदले छुट्टै दल (राप्रपा प्रजातान्त्रिक) दर्ताका लागि संसद् सचिवालय र निर्वाचन आयोगमा दिएको निवेदनबारे निर्णय हुन बाँकी छ । संविधान संशोधन विधेयकका पक्षमा सदनमा तत्काल कायम रहेको कुल सदस्य संख्या (५९२) को दुई तिहाइ (३९५) मत नपरेको अवस्थामा विपक्षमा जतिसुकै कम मत परे पनि संविधान संशोधन प्रस्ताव अस्वीकृत हुन्छ । विधेयक पारित हुने/नहुने निर्णय लिन संसद्मा मतविभाजन प्रक्रिया (सांसदहरूले आ–आफ्नो वर्णानुक्रमअनुसारको नामावलीमा दस्तखत गर्ने) अपनाइन्छ ।

संसद्मा सत्तारूढ कांग्रेसको २०७, माओवादीको ८२, राजपाको २५, लोकतान्त्रिक फोरमको १६ र संघीय समाजवादी फोरमको १५ सिट छ भने सदनमा एक/दुई सिट मात्रै भएका केही साना दल पनि संविधान संशोधनको पक्षमा छन् ।

संशोधनको विपक्षमा प्रमुख प्रतिपक्षी एमालेका १८०, नेकपा (माले) का ५, नेमकिपाका ४, राष्ट्रिय जनमोर्चाका ३, परिवार दलका २ र एक/एक सिट रहेका मधेस समता पार्टी, नेपा पार्टी र बहुजन समाजवादी पार्टीका गरी १ सय ९७ सांसद छन् । सभामुख र निलम्बनमा रहेका एक सांसदले मतदान गर्न नपाउने भएकाले यो विपक्षी गठबन्धन नटुटदासम्म अन्य पक्षमा केही तलमाथि भए पनि संविधान संशोधन विधेयक पारित गर्न आवश्यक संख्या पुग्दैन ।

संसद्मा बहाल सदस्य संख्या : ५९२
दुई तिहाइ पुग्न आवश्यक संख्या : ३९५

विधेयकको पक्षमा
कांग्रेस २०७
माओवादी केन्द्र ८१ (सभामुखबाहेक)
राजपा २५
लोकतान्त्रिक फोरम १६
संघीय समाजवादी फोरम १५
नेकपा (संयुक्त) ३
साना दलहरू ५
जम्मा ३५२

विधेयकको विपक्षमा
एमाले १८०
राप्रपा १८
नेकपा - माले ५
नेमकिपा ४
राष्ट्रिय जनमोर्चा ३
परिवार दल २
नेपा पार्टी १
बहुजन समाजवादी १
मधेस समता पार्टी १

जम्मा २१५

निर्णय गर्न बाँकी
राप्रपाबाट बाहिरिएर दल दर्ता प्रक्रियामा रहेका सांसद १९
बाँकी साना दल ४
मतदान गर्न नपाउने २ (सभामुख र एक निलम्बित सांसद)
जम्मा ५९२

प्रकाशित : भाद्र ५, २०७४ ०४:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?