कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बन्यो विद्युतीय ह्वीलचियर

फातिमा बानु

काठमाडौं — युवा इन्जिनियरको टोलीले विद्युतीय ह्वीलचियर ‘लियोपार्ड’ बनाएका छन् । इन्जिनियर सुनिल परियार, सन्तोषराज न्यौपाने, प्रजेश श्रेष्ठ र मेनसन लाखेमरूको समूहले बनाएका हुन् ।

बन्यो विद्युतीय ह्वीलचियर

इन्जिनियरहरूको अनुसन्धान गर्ने संस्था ‘इन्फिनिटी ल्याब’ मार्फत उनीहरूले यो ह्वीलचियर बनाएको बताए ।

लगभग दुई वर्षको अध्ययनपछि ह्वीलचियर बनाउन सकिएको समूहका इन्जिनियर परियारले बताए । नेपालमै विद्युतीय ह्वीलचियर बनेपछि अब विदेशबाट आयात गर्नुपर्ने समस्याको अन्त्य हुने उनीहरूको दाबी छ । ‘दुई वर्षअघिको भूकम्पपछि देशमा अपांगता भएका व्यक्तिहरूको संख्या बढेपछि हीलचियर निर्माणमा नयाँ आयाम थप्न जागिरछोडेर अनुसन्धानमा लाग्यौं,’ इन्जिनियर न्यौपानेले भने ।

 नयाँ बनेको ह्वीलचियरको विशेषता परम्परागत ह्वीलचियरभन्दा निकै फरक र सुविधाजनक भएको दाबी उनीहरूको छ । ‘बिग्रेको र खाल्डाखुल्डी सजिलै नाघ्न सक्छ, हीलचियरमा आवश्यक सामानसमेत बोक्न सकिन्छ,‘ इन्जिनियर श्रेष्ठले भने, ‘हीलचियरमा पिसाब थैलीसमेत जोडिएको छ ।’ अपांगता भएका व्यक्तिलाई सार्वजनिक शौचालय प्रयोग गर्न मुस्किल भएका कारण ह्वीलचियरमै पिसाब थैली जोडिएको इन्जिनियर लाखामरूले बताए । ‘परम्परागत ह्वीलचियरलाई जस्तो उकालो चढ्न पनि मुस्किल छैन, नेपालको भौतिक संरचनाको अनुसन्धान गरेर यहाँको सडकमैत्री ह्वीलचियर बनाएका हौं,’ लाखामरूले भने ।

एकपटक चार्ज गरेपछि यो ह्वीलचियर २० देखि २५ किमि सजिलै चल्न सक्ने उनीहरूले बताए । ह्वीलचियर चलाउन प्रयोगकर्तालाई थप साथी पनि चाहिँदैन । ‘प्रयोगकर्ता दुर्घटनामा परेमा तत्काल परिवारले थाहा पाउँछन् । ह्वीलचियरमा सूचना मेसिन जडान गरिएको छ, ‘इन्जिनियर श्रेष्ठले भने, ‘जतासुकै भए पनि यसले प्रयोगकर्ताका परिवार र आफन्तकहाँ लोकेसनसहितको सूचना पठाउँछ ।’ परम्परागत ह्वीलचियर प्रयोगकर्ताले ह्वीलचियरमाथि एकै आसनमा बस्दा विभिन्न समस्या भोग्दै आएका थिए । छाला जाने, छाला पातलो हुने र घाउ भएर संक्रमण हुने जस्ता समस्या भएकाले सजिलै हावा आदानप्रदान हुन्छ, त्यही कारण यस्तो हवीलचियरमा छाला जाने र घाउ संक्रमण हुँदैन,’ श्रेष्ठले भने ।

हातसम्बन्धी अपांगता भएका व्यक्तिका लागि पनि यो ह्वीलचियर उपयुक्त हुने उनीहरूले बताए । ‘जिब्रो, आँखा र नाकमा सेनसर हुन्छ, त्यसैबाट नियन्त्रण गर्न सकिन्छ,’ उनीहरूले भने । उनीहरूले ह्वीलचियर भदौ १९ मा सार्वजनिक गर्ने भएका छन् । ह्वीलचियरको मूल्य ३ लाख तोकिएको छ । तर, माग बढेपछि मूल्य घट्न सक्ने उनीहरूले बताए । नेपालमा लगभग दुई लाख ह्वीलचियर प्रयोगकर्ता भएको अपांग महासंघको तथ्यांक छ । नेपालमै बनेको ह्वीलचियर प्रयोग हुन सकेमा ती प्रयोगकर्ताका धेरै समस्या समाधान हुने महिला अपांग महासंघकी अध्यक्ष निर्मला धितालले बताइन् । ‘विदेशबाट ल्याएको ह्वीलचियर एकपटक बिग्रिएपछि थन्किन्छ, नेपालमा बन्दैन, ‘उनले भनिन्, ‘ती ह्वीलचियर नेपालको भौतिक संरचना हेरेर बनाइएको हुँदैन, यहाँ चलाउनै मुस्किल छ ।’ यो ह्वीलचियर प्रयोगमा आउन सकेमा रोजगारी सिर्जना हुने र विदेश निर्यातसमेत गर्न सकिने इन्जिनियरले बताए ।

प्रकाशित : भाद्र ५, २०७४ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?