कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘मापदण्डविपरीत संरचना रोक’

दामोदर न्यौपाने

काठमाडौं — जिल्ला प्रशासन कार्यालयले हनुमानढोका दरबार क्षेत्रमा पुरातात्त्विक मापदण्डविपरीत बनिरहेको भवन निर्माण रोक्न महानगरीय प्रहरी प्रभागलाई आदेश दिएको छ ।

‘मापदण्डविपरीत संरचना रोक’

हनुमानढोका दरबारको संरक्षित क्षेत्रको ‘पोपर्टी जोन’ मा महर्जन विजनेस एसोसिएसन प्रालिको नाममा रहेको काठमाडौं महानगरपालिका वडा नं २४ को कित्ता नं ९४२ मा यसरी भवन बनेको हो । विश्वसम्पदा मापदण्ड विपरीत भएकाले निर्माण रोक्न पुरातत्त्व विभागअन्तर्गतको हनुमानढोका दरबार हेरचाह अड्डाले पत्राचार गरेको थियो । 

यो भवनमा पहिला क्रिष्टल होटल थियो । यसको स्वामित्व कृष्ण महर्जनको नाममा छ । भुइँचालोले भत्काएपछि यहाँ व्यावसायिक कम्प्लेक्स बनाउन लागिएको हो । पहिलाको जत्रै संरचना बनाउन महर्जनले अनुमति मागेका छन् । पहिला साढे ५ तला थियो । अहिले जमिनमुनिसहित तीन तला बनेको छ । यति निर्माण हुँदै गर्दा अहिले ३५ फिट नाघिसकेको छ । 

मापदण्डविपरीत संरचना निर्माण रोक्न पुरातत्त्व विभागले जिल्ला प्रशासन कार्यालय काठमाडौं, काठमाडौं उपत्यका विकास प्राधिकरण, हनुमानढोका दरबार हेरचाह अड्डा, काठमाडौं महानगरपालिकालाई साउन १६ मा पत्राचार गरिसकेको थियो । घरधनी लगायतलाई बोलाएर मापदण्ड विपरीत नजान कबुलसमेत गराएको थियो साउन १८ मा । तर घरधनीले अझै नटेरी निर्माण जारी राखेका छन् । पुरातत्त्वले २० गते फेरि उपस्थित हुन पत्र काट्यो । यो पत्रलाई अटेर गरी निर्माण जारी राखेको विभागले जनाएको छ । पुरातत्त्व अधिकृत देवेन्द्र भट्टराईले निर्माण जारी राखेकाले कारबाही गर्न सिफारिस गर्दै प्रतिवेदन बुझाएका छन् । ‘नगर्ने कबोल गराइए पनि निर्माण अझै भइराखेको छ,’ भट्टराईले दिएको प्रतिवेदनको टिप्पणी र आदेशमा छ,’ तेस्रो तला माथि पुनर्निर्माण जारी राख्दै कंक्रिट पिलरका लागि डन्डी राखी, रिङ बाँधी कार्य जारी राखेकाले निर्माण कार्य रोकी विभागमा उपस्थित हुन पत्राचार गरेको गर्दा पनि घरधनी विभागमा आएनन् । अत: विभिन्न चरणमा प्राविधिकले दिएको प्रतिवेदन र स्वीकृत मापदण्डविपरीत भएको र आफ्नै प्रतिबद्धता, मन्जुरीनामा विपरीत देखिन आएको हुँदा ऐनले तोकेबमोजिम जिल्ल प्रशासन कार्यालयमार्फत अग्रिम कारबाही अघि बनाउन पर्ने देखिएको छ ।’

पुरातत्त्वको यही पत्रअनुसार जिल्ला प्रशासन कार्यालयले भवन निर्माण रोक्न पत्राचार गरेको हो । ‘पुरातत्त्व विभाग विश्वसम्पदा संरक्षण शाखाको चनं ४४९, मिति २०७४ साउन २७ को पत्रको छाया कपी यसैसाथ संलग्न छ,’ जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत अरुण सापकोटाले लेखेको पत्रमा उल्लेख छ, ‘विस्तृत व्यहोरा सोही पत्रबाट अवगत गर्नुभइ पत्रमा उल्लिखित हनुमानढोका दरबार संरक्षित स्मारक क्षेत्रभित्र मापदण्डविपरीत भइरहेको निर्माण कार्य तत्काल रोक्का राख्न लगाउन हुन आदेशअनुसार अनुरोध छ ।’

जमिनमुनि बनाउने बेलामै मापदण्डविपरीत भयो भनेर पुरातत्त्वले महानगरलाई पनि पत्राचार गरेको थियो । तर काम रोकिएन । ‘यो पुरातात्त्विक मापदण्डविपरीत भएकाले रोक्न हामीले महानगरलाई पत्राचार गर्‍यौं,’ हनुमानढोका दरबार हेरचाह अड्डाकी प्रमुख अरुणा नकर्मी भन्छिन्, ‘तर काम रोकेर कारबाही गरेको हामीलाई जानकारी दिइएन । उल्टो भवनको तला थप्ने काम भइरह्यो ।’ विश्वसम्पदा क्षेत्रमा अन्डरग्राउन्ड संरचना बनाउन नपाइने नकर्मीले बताइन् । ‘हामीले जमिनमुनिका संरचना बनाउन पाइँदैन भनेर त्यति बेलै भनेका थियौं,’ नकर्मी भन्छिन्, ‘तर अन्डरग्राउन्ड संरचना बनाइयो । कि अग्लो बनाउन दिनुस्, नत्र अन्डरग्राउन्ड बनाउन दिनुस् भन्ने माग घरधनीको थियो । यी दुवै गर्न मिल्दैन । मापदण्ड विपरीत हुन्छ ।’

दरबारसँगै जोडिएको छ भवन । जमिनमुनि डोजर लगाएर भवन बनाइएको थियो । डोजर लगाउँदा पुरातात्त्विक संरचनाका जग हल्लिने, पुराना धारा सुक्ने जस्ता समस्या आउने नकर्मीले बताइन् । ‘हामीले महानगरलाई पनि पत्र काटेर मापदण्ड सम्झाइदियौं,’ नकर्मी भन्छिन्, ‘त्यही मापदण्डअनुसार महानगरले नक्सा पास गरोस् । नत्र यो विश्वसम्पदालाई असर गर्छ ।’ सर्वसाधारणले पूजा गर्दै आएको गणेश र कुमारीको मन्दिरसमेत यही घरभित्र परेको थियो । घर भत्काउने क्रममा कुमारीको मूर्ति जोगाइदिन स्थानीयवासीले माग गरेका थिए । घर भत्काउने क्रममा मन्दिर पुर्न लागेपछि सर्वसाधारणले मूर्तिबारे चासो राख्दा कुमारी र गणेशको मूर्ति घरभित्र पारेको पत्ता लागेको थियो । 

स्थानीयवासीले यसबारे खोजी गर्न पुरातत्त्व विभागमा गत वर्षको असार ८ मा उजुरी दिएका थिए । स्थानीयवासीको मागअनुसार विभागले हनुमानढोका दरबार हेरचाह अड्डालाई खोजी गर्न पुरातत्त्व विभागले अध्ययन गरेर रायसहित प्रतिवेदन पेस गर्न निर्देशन दिएको थियो । प्रतिवेदन तयार पार्न संरक्षण अधिकृत नारायण कार्कीलाई खटाएको थियो । कार्कीसहितको टोलीले खोजी गर्दा कुमारी मन्दिर निजी प्रयोजनमा प्रयोग गरेको प्रतिवेदन दिएको थियो । 

प्रकाशित : भाद्र ५, २०७४ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?