अस्थायी फड्केमा निर्भर तातोपानी

अनिश तिवारी

सिन्धुपाल्चोक — पाङ्सेर्पु पहाड झरेर लार्चा पुल भास्सिएपछि फुल्पिङकट्टी र तातोपानीबासी फड्के हालेर आउजाउ गरिरहेको सातादिन पुगिसकेको छ । पहिरो झरिरहेको कारणले बेलिब्रीज निर्माण कार्य तीब्रता पाउन सकेको छैन ।

हालसम्म तातोपानीका बासिन्दा अस्थायी फड्केमा जोखिम मोलेर आउजाउ गरिरहेका छन् । फड्केमा प्रयोग गरिएको ठूलाठूला ढुंगा र पाङ्सेर्पु पहाडको पहिरोको कारणले बेलिब्रीज निर्माणको काम चार दिनदेखि रोकिएको छ । सडक डिभिजन कार्यालयकाअनुसार अहिले लार्चामा ५० मिटर लामो बेलिब्रीज निर्माणको लागि सबै सामाग्री ल्याउने काम भइसकेको छ ।

‘पहिरो र ढुंगाको अवरोधले सुरुआती फाउण्डेशन स्ट्रक्चरको काम तीन दिनदेखि रोकिएको छ,’ सडक डिभिजनकी इन्जिनियर शिला न्यौपानले भनिन्,‘ सामाग्री समयमै आइपुग्दा पनि ढुंगा हटाउने कामको तयारी भइरहेको छ ।’

लार्चा पुल ७० मिटर लामो छ । तर यति लामो पुलको सामाग्री नेपालमा नभएपछि ५० मिटरको पुलको सामाग्री ल्याएर निर्माण थालिएको हो ।

लार्चास्थि तातोपानी नाका जोड्ने पुल भाँच्चिएपछि पारी नै रहेका बासिन्दा जोखिम मोल्दै तुइनबाट आवतजावत गरिरहेका थिए । सीमास्थित सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक (डीएसपी) बिमल डाँगीकाअनुसार प्रायः तुइनबीचैमा अड्किने डरले पाँच घण्टा पैदल हिँडेर वारी आउने गरेका थिए । तुइनको समस्याले नै बिरामी भेनपार्कीङबाट झोलुगें पुल तरेर पाङ्सेर्पु भएर नारानथान निस्कीएर खोकुण्डोल झर्ने गरेका थिए ।

‘अस्थायी फड्के पुल बनेपछि स्थानीयमा आशा पलाएको थियो,’ डीएसपी डाँगीले भने ,‘ बेलिब्रीजको काम रोकिएपछि स्थानीय निरुत्साहित भएका छन् ।’

भोटेकोसीमाथि रहेको ढुंगामा अड्याएर फलामे पुल बनाइएकोले पुल स्थायी नहुने स्थानीयको भनाइ छ । ‘बर्खालगत्तै कोसीले बगाएर लैजान सक्छ , भत्किएको लार्चा पुलको अवशेष धेरै पारीपट्टी थुप्रिएकोले नदी बग्ने स्थान साँघुर्‍याएको छ,’ लार्चाका स्थानीय पदम श्रेष्ठले भने,‘ तत्काल बेलिब्रीज नबनेसम्म तातोपानीसँग सम्पर्क बलियो बन्न सक्दैन ।’

अस्थायी पुलको भाग थोरै भएकाले बिरामी, बृद्धबृद्धादेखि सुत्केरीलाई आउन जान समस्या बनेको छ । गाउँपालिकाको पहलमा वारिपारि दुई जना तुइन तान्न राखिएका थिए । ‘साँझ परेपछि तुइनको सुविधाबाट समेत बञ्चित हुनुपर्थ्यो,’श्रेष्ठले भने,‘ फड्के बनेपछि स्थानीय आनन्दले आउजाउ गरिरहेका छन् ।’

२२ सयको बसोबास रहेको तातोपानीमा जोखिमको त्रासले अधिकाशंले घर छोडिसकेका छन् । विपन्न परिवार मात्रै जोखिम मोलेर आफ्नै थलोमा बस्न बाध्य छन् । बाँकी रहेका खाद्यन्नले केही समय पुग्ने भएता पनि स्वास्थ्य, शिक्षा, विद्युत र टेलिफोन विहिन हुदाँ उनीहरु समस्यामा परेका हुन् ।

लार्चा पुल भत्कीएको भोलिपल्टै लार्चा पुगेका प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवाल र सोमबार पुगेका भोटेकोसी गाउँपालिका प्रमुख राजकुमार पौडेल , सहितको उद्योग वाणिज्य संघको टोलीले अस्थायी पुल बनाउन सुरु गरेका थिए । सातादिनमा पुगेका सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सातादिनमा बेलिब्रीज निर्माणको काम सुरु गरिने स्थानीयलाई आश्वसन दिएका थिए ।

‘केही दिनको लागि बलियो फड्के हालेर फुल्पिङकट्टी र तातोपानीलाई सम्पर्क गराइएको छ,’ प्रमुख पौडेलले भने,‘ अब चाँडै लार्चामा बेलिब्रीज बन्नेछ ।’

स्थानीयकाअनुसार बेलब्रीज हाल्न सहज भने छैन् । पुलको दुवैको भागको छेउ भीरमुनी भएकाले पहिरोको जोखिम छ । खसेको पुलको भू-भागले नदी बगिरहेको स्थानलाई साँघुरो बनाएको छ । यसले बाढीको जोखिम बढाएको छ ।

प्रकाशित : भाद्र ५, २०७४ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

फायर फाइटिङ दमकल माग

कान्तिपुर संवाददाता

बाँके — नेपालगन्जमा फायर फाइटिङ दमकलको माग बढेको छ । ठूला आगलागीमा नेपालगन्ज विमानस्थलको एकमात्र फायर फाइटिङको भर पर्नुपरेपछि थप चाहिएको हो । उपमहानगरमा निकै पुरानो एउटा मात्र दमकल छ । त्यसको पानी आगो ननिभ्दै सकिन्छ ।


आगलागी नियन्त्रणका लागि कहिलेकाहीँ कोहलपुर, गुलरिया नगरपालिकाबाट मगाउने गरिए पनि त्यही समस्या दोहोरिँदो छ । उपमहानगरका पुराना २ दमकल बिग्रिएर थन्किएका छन् । आधुनिकस्तरको फायर फाइटिङ दमकल नहुँदा आगलागीले करोडौंको क्षति हुने गरेको हो ।
स्थानीय प्रशासन र प्रहरी अधिकारीले गृह मन्त्रालयसँग आग्रह गरी विमानस्थलको दमकल मगाउने गरेका हुन् । तर, विमानस्थलको फायर फाइटिङ मगाउने प्रक्रिया भने झन्झटिलो छ । यही कारण घटनास्थल पुग्न ढिला हुँदा क्षति बढी हुन्छ । बाहिर भएको आगलागी नियन्त्रणका लागि फायर फाइटिङ पठाउँदा नागरिक उड्डयन प्राधिकरणले उडान होल्ड गर्नुपर्ने सुरक्षा अधिकारी बताउँछन् ।
फायर फाइटिङ दमकलले पानीसँगै केमिकल फाल्दा आगलागी नियन्त्रण चाँडो हुन्छ । पानी मात्रै फाल्ने सामान्य दमकलबाट आगो नियन्त्रणमा लिन समय लाग्छ । बाँकेका प्रहरी प्रमुख एसपी टेकप्रसाद राईले आगलागीका घटनामा बाहिरबाट दमकल मगाउँदा ढिला हुने गरेको बताए । नेपालगन्जसम्म आउन गुलरियाको दमकलले ४० किमि दूरी पार गर्नुपर्छ । त्यस्तै नेपालगन्ज–कोहलपुरको दूरी १६ किमि छ ।
आधुनिक घर तथा ठूला कम्पनी र कारखानामाआगलागी हुँदा उक्त दमकलले आगो नियन्त्रण गर्न सम्भव नभएको कर्मचारीहरूको गुनासो छ । एसपी राईले अति संवेदनशील मानिने दमकललाई प्रहरी कार्यालयमा राख्नुपर्ने सुझाव दिए ।
‘प्रहरी चौबीसै घण्टा तैनाथ रहने भएकाले हाम्रो जिम्मामा दमकल दिनुपर्छ, आगलागी भएको खबर आएलगत्तै दमकलसाथ प्रहरी घटनास्थल पुग्न सक्छन्,’ उनले भने, ‘आगलागीको खबर आएपछि दमकलका कर्मचारी खोज्नुपर्छ । त्यसले पनि ढिलाइहुने गरेको हो ।’

प्रकाशित : भाद्र ५, २०७४ ११:३३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्