कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

भारतका पूर्व कुटनीतिज्ञ तथा विश्लेषक भन्छन्– ‘काठमाडौंले भारतको वास्तविक सुरक्षा चासोलाई त्यति ध्यान दिएको छैन’

कमलदेव भट्टराई

नयाँदिल्ली — प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको पाँच दिने राजकिय भ्रमण सुरु गरेकै दिन भारतका पूर्व कुटनीतिज्ञ तथा विश्लेषकहरुले भारतको वास्तविक सुरक्षा चासोलाई काठमाडौंले पर्याप्त ध्यान नदिएको बताएका छन् ।भारतको राजधानी नयाँ दिल्लीमा आयोजना गरिएको दुई देशका जनता–जनताबीचको सम्बन्ध विषयक कार्यक्रममा बोल्दै कुटनीतिज्ञ तथा विश्लेषकहरुले नेपाल–भारत सम्बन्धलाई चीनसंगको सम्बन्धसंग तुलना नै गर्न नमिल्ने समेत बताए ।

भारतका पूर्व कुटनीतिज्ञ तथा विश्लेषक भन्छन्– ‘काठमाडौंले भारतको वास्तविक सुरक्षा चासोलाई त्यति ध्यान दिएको छैन’

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको पाँच दिने राजकिय भ्रमण सुरु गरेकै दिन भारतका पूर्व कुटनीतिज्ञ तथा विश्लेषकहरुले भारतको वास्तविक सुरक्षा चासोलाई काठमाडौंले पर्याप्त ध्यान नदिएको बताएका छन् ।

भारतको राजधानी नयाँ दिल्लीमा आयोजना गरिएको दुई देशका जनता–जनताबीचको सम्बन्ध विषयक कार्यक्रममा बोल्दै कुटनीतिज्ञ तथा विश्लेषकहरुले नेपाल–भारत सम्बन्धलाई चीनसंगको सम्बन्धसंग तुलना नै गर्न नमिल्ने समेत बताए । प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा भारतीय पक्षले आफ्नो सुरक्षा चासोलाई अझ मुखरित रुपमा राख्ने तयारी गरिरहेको सन्दर्भमा भारतीय विश्लेषकहरुले समेत यही कुरामा जोड दिएका हुन् ।

नेपालकालागि पूर्व भारतीय राजदुत केभी राजनले भने, ‘भारतको वास्तविक चासोलाई काठमाडौंले त्यति धेरै चासो नदिएको जस्तो देखिन्छ । भारतको सुरक्षाचासोलाई नेपालले सम्बोधन गर्नु पर्दछ ।’ उनले नेपाल र भारतको सम्बन्ध अरु कुनै मुलुकसंग तुलना हुन नसक्ने बताए ।

‘नेपाल र भारतको सम्बन्ध अहिले जुन तहको छ, चीन र नेपालको सम्बन्ध कहिल्यै पनि त्यही तहमा पुग्न सक्दैन यसलाई काठमाडौंले स्वीकार गर्नुपर्दछ,’ उनले भने ‘काठमाडौंमा देखिएको उग्र राष्ट्रवादले नेपाल र भारत दुवैको हित गर्दैन बरु यसले नेपालमा भारत विरोधी भावना बढाएको छ ।’

उनले भारतले नेपालको मामिलामा भारतले ‘माइक्रो म्यानेज’ गरिरहेको भन्ने आरोपमा आंशिक सत्यता भएको बताए ।

‘केही विज्ञहरु भन्ने गर्दछन् की नेपालका नेताहरु भारतमा सुझाव लिन आउँछन् र भारतले सुझाव दिन्छ । तर काठमाडौं फर्केपछि उनीहरु त्यसलाई हस्तक्षेप मान्दछन् । भारतले भने जस्तो नेपालमा हुँदैन भन्ने तत्कालकै नेपालको केही राजनीतिक घट्नाक्रले देखाउँछ,’ राजनले भने । उनले नेपाल र भारतको सम्बन्धलाई सुधार गर्नका लागि संस्थागत तथा नीतिगत सुधार गर्न आवश्यक भएको बताए ।

नेपाल मामिलाका जानकार अशोक मेहताले पछिल्लो समयमा नेपाल–भारत सम्बन्धमा चाइना–फ्याक्टर जबरजस्त रुपमा आउन थालेको बताए । उनले नेपालको राजनीतिक दलहरुमा चीनले आफ्नो प्रभाव बढाउँदै लगेको समेत बताए । दोक्लाम तनावको विषयमा बोल्दै मेहताले नेपालका परराष्ट्रमन्त्री कृष्णबहादुर महराले यसमा नेपाल तटस्थ बस्छ भनेको प्रसंग उल्लेख गर्दै भने, ‘महराको अभिव्यक्ति पृथ्वीनारायण शाहको विदेश नीतिसंग मिल्दछ । तर भारत र चीनको बीचमा युद्ध भयो भने नेपालले के गर्छ ? किनकी भारतीय सेनामा ५० हजार गोर्खा सैनिकहरु छन् । त्यतिवेला नेपाल तटस्थ बस्छ कि गोर्खा सैनिकको पक्षमा बोल्दछ । त्यसैले नेपाल यतिबेला धेरै ट्रिकी पोजिसनमा छ ।’

उनले नेपाली नेताहरुले भारतमा आएपछि विशेष सम्बन्धको कुरा गर्ने तर काठमाडौं फर्केपछि त्यसलाई बिर्सने बताए । मेहताले जनता–जनताबीचको सम्बन्धलाई सुदृढ गर्नकालागि भारतले आफ्नो मुलुकमा रहेका नेपालीलाई सम्मान गर्नुपर्ने बताए ।

नेपाल मामिलालाई निरन्तर फलोअप गर्ने भारतीय नेता विजयप्रताप सिंहले नेपालको बारेमा भारतको उच्च राजनीतिक तहमा कम जानकारी रहेको बताए ।

यस्तै अर्का जानकार उद्धव प्याकुरेलले भारतले दुई वर्ष अगाडि लगाएको नाकाबन्दीको कारण भारत विरोधी भावना नेपालमा बढेको दाबी गरेका थिए । ‘जनता र जनताबीचको सम्बन्ध राम्रो होइन बिग्रदो अवस्थामा छ,’ उनले भने, ‘पहिला भारतमा पहाड र मधेशका नागरिकलाई हेर्ने दृष्ट्रिकोण समान थियो । मधेश आन्दोलनपछि दिल्लीमा मधेशका नागरिक र पहाडका नागरिकलाई फरक रुपमा हेरिन्छ ।’

प्रकाशित : भाद्र ७, २०७४ १४:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?