२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

देउवा–मोदी ‘आकस्मिक’ भेटवार्ता

द्विपक्षीय मामिलाहरूमा आज विस्तृत छलफल हुने
कमलदेव भट्टराई

नयाँ दिल्ली — भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र समकक्षी नरेन्द्र मोदीबीच बुधबार साँझ भेटवार्ता भएको छ ।

मोदी र देउवाको बिहीबारको दुईपक्षीय वार्ताको तयारीस्वरूप आकस्मिक भेटवार्ता भएको नेपाली अधिकारीले जानकारी दिएका छन् ।

देउवा–मोदी ‘आकस्मिक’ भेटवार्ता

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र समकक्षी नरेन्द्र मोदीबीच बुधबार साँझ भेटवार्ता भएको छ ।

मोदी र देउवाको बिहीबारको दुईपक्षीय वार्ताको तयारीस्वरूप आकस्मिक भेटवार्ता भएको नेपाली अधिकारीले जानकारी दिएका छन् । कार्यतालिकामा नभएको भेटघाटका लागि दूतावासमा आयोजना गरिएको कार्यक्रम छोट्याएर देउवा मोदी निवास सेभेन रेस कोर्स गएका थिए । भेटवार्ताको तयारी बुधबार बिहानैदेखि सुरु भएको थियो ।

नेपाली अधिकारीहरूले देउवा र मोदीबीचको भेटलाई भारतले देउवाको भ्रमणलाई उच्च महत्त्व दिएको रूपमा बुझ्नुपर्ने बताएका छन् । जनआन्दोलन २०६२/६३ को सफलतापछि भारत भ्रमणमा आएका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई तत्कालीन भारतीय समकक्षी मनमोहन सिंहले विमानस्थलमै आएर स्वागत भेट गरेका थिए । त्यसयता दुई मुलुकका प्रधानमन्त्रीहरूबीच बुधबार कार्यतालिकामा नै नभएको भेट भएको हो ।

दुई नेताको भेटपछि प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार दिनेश भट्टराईले भने, ‘यो एउटा शिष्टाचार भेटघाट हो । यो भेटघाटले प्रधानमन्त्री देउवाको भ्रमणलाई महत्त्व दिइएको दर्शाउँछ,’ भट्टराईले भने । उनले द्विपक्षीय एजेन्डाहरूका विषयमा भने बिहीबार नै विस्तृतमा छलफल हुने बताए । देउवासँगको भेटपछि मोदीले आफ्नो व्यक्तिगत ट्वीट एकाउन्टमार्फत निकट छिमेकी मित्र मुलुक नेपालका प्रधानमन्त्री देउवालाई स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘बिहीबारको बृहत् कुराकानीका लागि पर्खिरहेको छु ।’

स्रोतका अनुसार देउवा र मोदीबीचको भेटमा पञ्चेश्वर परियोजनालगायत नेपाल र भारतको लामो समयदेखि हल नभएका विषयमा कुराकानी भएको थियो । केही ठूला परियोजनाबारे प्रशासनिक तहमा लामो समयदेखि कुराकानी भए पनि हल हुन नसकेकाले त्यसलाई राजनीतिक तहबाट समाधान गर्ने प्रयास भइरहेको छ । पञ्चेश्वरलगायत परियोजना अगाडि बढाउनेबारे केही समययता मोदी आफैंले पहल गरिरहेका छन् । उनले मंगलबार मात्र पनि द्विपक्षीय परियोजनाहरूलाई अगाडि बढाउनेबारे सरोकारवाला निकायहरूसँग छलफल गरेका थिए । स्रोतका अनुसार नेपाल र भारतबीच विभिन्न क्षेत्रमा समस्या हल हुनुको साटो झन् बढ्दै गएकाले त्यसलाई कसरी हल गर्ने भन्नेबारे उनले विमर्श गरेका थिए ।

भेटवार्तामा भारत र चीनबीच दोक्लम तनावबारे कुराकानी भए/नभएको विषयमा अधिकारीहरूले केही पनि बताएका छैनन् । भारतीय कूटनीतिज्ञ तथा विश्लेषकहरूले भने यसबारे पनि कुराकानी हुने दाबी गरिरहेका छन् । तर नेपाली अधिकारीले यस विषयमा कुराकानी हुने विषयलाई ठाडै अस्वीकार गर्दै आएका छन् ।

देउवाले बुधबारै केही महिनायता बिरामी भई घरमै आराम गरिरहेका नेसनलिस्ट कंग्रेस अफ इन्डियाका महासचिव डीपी त्रिपाठीसँग भेटघाट गरे । भेटमा आफूले नेपालको शान्ति, स्थायित्व र विकासमा जोड दिएको त्रिपाठीले कान्तिपुरलाई बताए । ‘नेपालले आफ्ना आन्तरिक विषयहरूलाई हल गरेर देशलाई स्थायित्वमा लैजानुपर्छ भन्ने मेरो सुझाव थियो । दुईपक्षीय सम्बन्धलाई सुदृढ बनाउने विषयमा समेत कुराकानी भयो,’ उनले भने । त्रिपाठीसँगको भेटमा देउवाले नेपालमा हुन लागेको चुनावमा भारतको सद्भाव आवश्यक भएको बताएका थिए । ‘भ्रमणमा आएपछि होस्ट मुलुकको सद्भाव खोज्नु सामान्य कुरा हो,’ त्रिपाठीले भने ।

अपराह्न दिल्ली आइपुगेका देउवालाई इन्दिरा गान्धी विमानस्थलमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेकी थिइन् । भारतले प्राय: विदेशी सरकार प्रमुखलाई स्वागत गर्नका लागि राज्यमन्त्रीलाई पठाउने गर्छ । विमानस्थलबाट सोझै राष्ट्रपति भवन पुगेका देउवा त्यसपछि नेपाली दूतावासले आयोजना गरेको स्वागत कार्यक्रममा सहभागी भएका थिए । दूतावासमा उनले विभिन्न राजनीतिक दलका प्रवासी नेपाली संगठनहरूले बुझाएको ज्ञापनपत्र बुझेका थिए ।

दूतावास परिसरमा जम्मा भएका नेपालीहरूलाई संक्षिप्त सम्बोधन गर्दै देउवाले नेपाल र भारतको सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि भूमिका खेल्न आग्रह गरे ।

उनले नेपाल र भारतबीच खुला सीमा तथा अन्य विभिन्न कारणले दुईपक्षीय सम्बन्ध प्रगाढ रहेको बताए । प्रधानमन्त्री देउवाले बिहीबार समकक्षी मोदी, राष्ट्रपति रामनाथ कोविन्द, भारतीय मन्त्रीहरू, विपक्षी दलका नेताहरू लगायतसँग भेटघाट गर्ने कार्यक्रम छ । बिहीबार नै मोदी र देउवाका बीच दुईपक्षीय कुराकानी र दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा केही समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ । भ्रमणलाई उपलब्धिमूलक बनाउन तयारी भए पनि केही साना विषयहरूमा समझदारी गर्नेबाहेक ठूलो एजेन्डा तय भएको छैन ।

नेपाल र भारतका बीचमा हुने लागू पदार्थको गैरकानुनी ओसारपसार कम गर्ने सम्बन्धमा सहकार्य गर्ने, सीमामा निर्माण हुने मेची पुलको लगानी बाँडफाँड, निर्माण कार्यतालिका, भारतले आफ्नो एक्जिम बैंकबाट नेपाललाई सहुलियतपूर्ण ऋण दिने तथा भूकम्पपछिको पुनर्निर्माणपछि भारतले दिन लागेको सहयोगसम्बन्धी ३ विषयमा दुई देशबीच बिहीबार समझदारीपत्रमा हस्ताक्षर हुने छ । यसमा शिक्षा, स्वास्थ्य, घर निर्माण, सांस्कृतिक तथा अन्य धरोहर निर्माणसम्बन्धी विषय समेटिने छन् ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवालाई विभिन्न राजनीतिक दलसम्बद्ध संगठनहरूले नेपालीले भारतमा भोग्नुपरेका समस्याबारे ज्ञापनपत्र बुझाएका छन् । साथै उनीहरूले आफ्ना समस्या भारतीय राजनीतिक नेतृत्वसमक्ष उठाउनसमेत आग्रह गरेका छन् । उनीहरूले भारतमा रहेका कामदारले बैंक खाता खोल्न विभिन्न समस्या भोग्नुपरेको, भारतबाट नेपालमा फोन गर्दा चर्काे मूल्य तिर्नुपरेको लगायत समस्याबारे जानकारी गराएका थिए । चेलीबेटी बेचबिखन, सीमामा नेपालीले भोग्नुपरेका समस्यालगायत विषयमा पनि उनीहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

प्रकाशित : भाद्र ७, २०७४ १८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?