काठमाडौं नेसनलले ‘ईआईए’ नै गरेन

अब्दुल्लाह मियाँ

काठमाडौं — त्रिभुवन विश्वविद्यालयबाट एमबीबीएस अध्यापन गर्न अनुमति पाएको घट्टेकुलोस्थित काठमाडौं नेसनल मेडिकल कलेजले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) नै नगराएको पाइएको छ ।

वातावरण मन्त्रालयको ईआईए शाखाकी ज्वाला श्रेष्ठले काठमाडौं नेसनलले ईआईए गरेको मन्त्रालयलाई जानकारी नभएको बताइन् । ‘हाम्रो सूचीमा उक्त मेडिकल कलेजले ईआईए गरेको देखिन्न,’ श्रेष्ठले बुधबार कान्तिपुरसित भनिन्, ‘विगतका सबै प्रतिवेदन हेर्दा पनि त्यस (नेसनल) को भेटिएन ।’ वातावरण मन्त्रालय ईआईए स्वीकृत गर्ने आधिकारिक सरकारी निकाय हो । 

वातावरण नियमावली, २०५४ मा एक सय बेडभन्दा माथिको अस्पताल/नर्सिङ होम वा चिकित्सा व्यवसाय (अध्ययन/अध्यापन) गर्ने निकायले अनिवार्य रूपमा ईआईए गराउनुपर्ने उल्लेख छ । उक्त मेडिकल कलेजले ३ सय शय्या रहेको दाबीसहित शिक्षण अस्पताल सञ्चालनका लागि सरकारसित अनुमति मागेको थियो । नियमावलीमा १६ तलाभन्दा माथि र ५० मिटरभन्दा अग्लो भवनले अनिवार्य ईआईए गर्नुपर्नेसमेत उल्लेख छ । उक्त अस्पतालको संरचना हेर्दा ईआईए गर्नुपर्ने देखिन्छ । 

नियमावलीमा १० हजार वर्गमिटरभन्दा बढी क्षेत्रफलमा फैलिएको व्यावसायिक संरचना खडा गर्दा पनि ईआईए अनिवार्य गर्नुपर्ने व्यवस्था छ । १६ तलाभन्दा कम, १० हजार वर्गमिटर र ५० मिटरभन्दा कम रहेको संरचनाले भने प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) मात्र गरे पुग्छ । भौतिक, जैविक, सामाजिक तथा सांस्कृतिक अवयवमा खलल पर्न नदिई विकास निर्माणका कार्य तथा सञ्चालनका बखतको फोहोर व्यवस्थापन वातावरणमैत्री ढंगले सञ्चालन गर्नु नै ईआईए हो । ‘तीन सय शय्याको शिक्षण अस्पताल हुने भएकाले जैविक फोहोर बढी उत्पादन हुन्छ,’ ईआईए शाखाकी श्रेष्ठले भनिन्, ‘ईआईएमा त्यसको व्यवस्थापन यसरी गरिनेछ भन्ने उल्लेख हुनुपर्छ, त्यसको पालना हुनुपर्छ तर ईआईए नै गरेको देखिएन ।’ 

कुनै पनि विकास निर्माणकार्य गर्नुअघि नै उक्त निर्माण वा पछि पार्ने सामाजिक, आर्थिक, सांस्कृतिक, भौतिक, जैविकलगायत समग्र वातावरणीय प्रभावको अध्ययन गर्ने र निर्माण तथा सञ्चालनको अवस्थामा सकारात्मक वातावरणीय प्रभाव अभिवृद्धि गर्ने र नकारात्मक वातावरणीय प्रभाव न्यूनीकरण तथा निराकरण गर्ने उपायसहितको वातावरणीय व्यवस्थापन योजना तयार गर्नुलाई ईआईए (वातावरणीय प्रभाव मूल्यांकन) भनिन्छ । विकास र वातावरणलाई एकीकृत गरी विभिन्न प्रकृतिका विकास कार्यमा वातावरणीय अवधारणालाई समावेश गर्ने र वातावरण संरक्षणमा निर्णायक भूमिका खेल्नु ईआईएको मुख्य उद्देश्य हो । 

अस्पतालका प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारीले अस्पताल सञ्चालनका लागि सबै प्रक्रिया पुर्‍याएको दाबी गरे । ‘यो गरेको छु र त्यो गरेको छु भनेर कसलाई भन्दै हिँडूँ,’ अन्सारीले वीरगन्जबाट भने, ‘सरकारलाई राजस्व बुझाएको छु ।’ वातावरण संरक्षण ऐन, २०५३ मा ईआईए नगर्ने वा गरे पनि कार्यान्वयन नगर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना वा व्यवसाय बन्द गर्न सक्नेसम्मको व्यवस्था छ । विगतमा ईआईए कार्यान्वयन नगर्ने पानी कम्पनी, अस्पताल, अपार्टमेन्ट र हाउजिङ कम्पनीलाई वातावरण मन्त्रालयले कारबाहीसमेत गरेको थियो ।

प्रकाशित : भाद्र ८, २०७४ ०६:३४
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

बाढीपीडितको उपचारमा जाँदै केसी

कान्तिपुर संवाददाता

काठमाडौं — ११ औं अनशन स्थगित गरेको नवौं दिन बिहीबार डा. गोविन्द केसी बाढीपीडितको उपचार गर्न सप्तरी जाने भएका छन् । उनले सप्तरीको बाढी प्रभावित क्षेत्र कञ्चनपुरमा स्वास्थ्य शिविर सञ्चालन गर्न लागेका हुन् ।

यसपछि उनी बाढी प्रभावित अर्को क्षेत्र तिलाठी जानेछन् । सप्तरीबाटै उनले काठमाडौं नेसनल मेडिकल कलेजलाई दिइएको सम्बन्धन खारेजीलगायत माग राख्दै सरकारलाई केही दिनको अल्टिमेटम दिने मनस्थितिमा डा. केसी रहेको उनी निकटहरूले बताएका छन् । 

प्रधानमन्त्री शेरबहादुर देउवा बुधबारदेखि भारत भ्रमणमा रहेकाले उनी फर्किएर आउञ्जेल केही दिन केसीले सरकारलाई माग पूरा गर्न समय दिनेछन् । मुलुकको चिकित्सा शिक्षा क्षेत्रमा भइरहेको भ्रष्टाचार, अपराध सार्वजनिक हुँदा पनि त्रिविका कुलपति प्रधानमन्त्री शेरबहादुर देउवाले उपकुलपति तीर्थ खनियाँलाई कारबाही नगर्नुले सबैको मिलेमतोमा सम्बन्धनलगायत चलखेल भएको आरोप डा. केसीको छ । ‘गैरकानुनी सम्बन्धन प्रकरणमा प्रम देउवासहित वर्तमान सरकार कानमा तेल हालेर बस्नु भनेकै ठूलो चलखेल हो,’ केसी भन्छन् । हाल सरकार, दल, नेता, पदाधिकारीले आफ्ना माग नसुनेको उल्लेख गर्दै केसीले भने, ‘जनताले सरकारलाई माग पूरा गर्न बाध्य तुल्याउने छन् ।’ 

हाल आफू पूर्णरूपमा स्वस्थ नभए पनि बाढीपीडित नेपालीबीच पुगेर सेवा गर्न पाउँदा आफूलाई सन्तुष्टि प्राप्त हुने उनी बताउँछन् । आफ्नो सबैभन्दा लामो २३ दिनको अनशन स्थगन गरेको ९ दिन मात्र भएकाले अलि शारीरिक समस्या देखिन सक्ने भए पनि यसले खासै असर नपर्ने उनी बताउँछन् ।

प्रकाशित : भाद्र ८, २०७४ ०६:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT