३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

भारतको सुरक्षा चासोमा काठमाडौंले ध्यान नदिएको गुनासो

माइक्रो म्यानेजको आरोप आंशिक सत्य : पूर्वराजदूत राजन
-नेपालका राजनीतिक दलमा चीनको प्रभाव बढ्दो : मेहता
कमलदेव भट्टराई

नयाँदिल्ली — प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको पाँचदिने राजकीय भ्रमण सुरु गरेकै दिन भारतका पूर्वकूटनीतिज्ञ तथा विश्लेषकहरूले भारतको वास्तविक सुरक्षा चासोलाई काठमाडौंले पर्याप्त ध्यान नदिएको बताएका छन् ।

भारतको सुरक्षा चासोमा काठमाडौंले ध्यान नदिएको गुनासो

भारतको राजधानी नयाँदिल्लीमा आयोजना गरिएको ‘दुई देशका जनता–जनताबीचको सम्बन्ध’ विषयक अन्तक्र्रियाका सहभागी कूटनीतिज्ञ तथा विश्लेषकहरूले नेपाल–भारत सम्बन्धलाई चीनसँगको सम्बन्धसँग तुलना गर्नै नमिल्ने बताए । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भारतीय पक्षले आफ्नो सुरक्षा चासोलाई अझ मुखरित रूपमा राख्ने तयारी गरिरहेको सन्दर्भमा भारतीय विश्लेषकहरूले समेत यही कुरामा जोड दिए ।

‘भारतको वास्तविक चासोलाई काठमाडौंले त्यति चासो नदिएजस्तो देखिन्छ,’ भारतका लागि पूर्वनेपाली राजदूत केभी राजनले भने, ‘भारतको सुरक्षा चासोलाई नेपालले सम्बोधन गर्नुपर्दछ ।’ उनले नेपाल र भारतको सम्बन्ध अरू कुनै मुलुकसँग तुलना हुन नसक्ने बताए । ‘नेपाल र भारतको सम्बन्ध अहिले जुन तहको छ, चीन र नेपालको सम्बन्ध कहिल्यै त्यो तहमा पुग्न सक्दैन । यसलाई काठमाडौंले स्वीकार गर्नुपर्दछ,’ उनले काठमाडौंमा देखिएको उग्र राष्ट्रवादले नेपाल र भारत दुवैको हित नगर्ने भन्दै त्यसले नेपालमा भारतविरोधी भावना बढाएको दाबीसमेत गरे । भारतले नेपालको मामिलामा माइक्रोम्यानेज गरिरहेको भन्ने आरोप आंशिक सत्य रहेको राजनको धारणा थियो ।

‘केही विज्ञहरू भन्ने गर्दछन् कि नेपालका नेताहरू भारतमा सुझाव लिन आउँछन् र भारतले सुझाव दिन्छ तर काठमाडौं फर्केपछि उनीहरू त्यसलाई हस्तक्षेप मान्दछन् । भारतले भनेजस्तो नेपालमा हुँदैन भन्ने तत्कालकै नेपालको केही राजनीतिक घटनाक्रमले देखाउँछ,’ राजनले भने । उनले नेपाल–भारत 

सम्बन्ध सुधार गर्न संस्थागत तथा नीतिगत कदम सुधार्नुपर्ने औंल्याए । नेपाल मामिलाका जानकार अशोक मेहताले पछिल्लो समयमा नेपाल–भारत सम्बन्धमा चाइना फ्याक्टर जबर्जस्त रूपमा आउन थालेको बताए । उनले नेपालका राजनीतिक दलहरूमा चीनले आफ्नो प्रभाव बढाउँदै लगेको समेत बताए । नेपालका परराष्ट्रमन्त्री कृष्णबहादुर महराले दोक्लम तनावमा नेपाल ‘तटस्थ’ बस्छ भनेको प्रसंग उल्लेख गर्दै मेहताले भने, ‘महराको अभिव्यक्ति पृथ्वीनारायण शाहको विदेश नीतिसँग मिल्छ । तर भारत र चीनबीच युद्ध भयो भने नेपालले के गर्छ ? किनकि भारतीय सेनामा ५० हजार गोर्खा सैनिक छन् । 

त्यतिबेला नेपाल तटस्थ बस्छ कि गोर्खा सैनिकको पक्षमा बोल्छ ? त्यसैले नेपाल यतिबेला धेरै ट्रिकी पोजिसनमा छ ।’ मेहताले नेपाली नेताहरू भारत आएर विशेष सम्बन्धको कुरा गर्ने तर काठमाडौं फर्केपछि त्यसलाई बिर्सने गरेको आरोप लगाए । जनता–जनताबीचको सम्बन्ध सुदृढ गर्न भारतले आफ्ना मुलुकमा रहेका नेपालीलाई सम्मान गर्नुपर्ने उनको भनाइ थियो । नेपाल मामिलालाई निरन्तर फलोअप गर्ने भारतीय नेता विजयप्रताप सिंहले नेपालबारे भारतको उच्च राजनीतिक तहमा कम जानकारी रहेको बताए । 

नेपाल–भारत मामिलाका जानकार उद्धव प्याकुरेलले भारतले दुई वर्षअघि लगाएको नाकाबन्दीका कारण भारतविरोधी भावना बढेको स्विकारे । उनले भने, ‘जनता र जनताबीचको सम्बन्ध राम्रो होइन, बिग्रँदो अवस्थामा छ । पहिला भारतमा पहाड र मधेसका नागरिकलाई हेर्ने दृष्टिकोण समान थियो । मधेस आन्दोलनपछि दिल्लीमा मधेसका नागरिक र पहाडका नागरिकलाई फरक रूपमा हेरिन्छ,’ प्याकुरलेले भने । उनले सन् १९५० को सन्धिअनुसार नेपालले मात्र भारतीय श्रमबजारको फाइदा लिएको कुरा सही नभएको बताए । उनले भने, ‘विहार र उत्तरप्रदेशका धेरै भारतीय नागरिक नेपालमा काम गर्छन् ।’

प्रकाशित : भाद्र ८, २०७४ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?