श्रेष्ठलाई बढुवा गर्न विशेष पद

कान्तिपुर संवाददाता

काठमाडौं — एक वर्षभन्दा लामो समययता अचेत भई उपचार गराइरहेका वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रमान श्रेष्ठलाई सरकारले विशेष पद सिर्जना गरी नायब प्रहरी महानिरीक्षकमा बढुवा गर्ने तयारी थालेको छ ।

गृह मन्त्रालयको बढुवा समितिले श्रेष्ठको बढुवाका लागि बाटो खोलेको हो । २०७३ साउन १५ मा धरानस्थित अञ्चल प्रहरी कार्यालयमा ब्याडमिन्टन खेल्दै गर्दा अचानक मुटुको धडकन बन्द भएर उनी बेहोस भएका थिए । त्यसयता श्रेष्ठको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छैन । बेहोस अवस्थामै उनको उपचार जारी छ । घटनाका बेला उनी पूर्वक्षेत्रीय तालिम कार्यालय, विराटनगरमा कार्यरत थिए । २०४६ फागुन २८ गते इन्स्पेक्टर भएका श्रेष्ठका ब्याची सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्कीसहितका १५ जना एक महिनाअघि नै डीआईजी भएका थिए । श्रेष्ठको लामो समयदेखि धरान र काठमाडौंको निजी अस्पतालमा उपचार गरिएको थियो । मस्तिष्कको तन्तुले काम गर्न नसक्दा उनी प्रतिक्रिया जनाउने अवस्थामा छैनन् । अहिले भने उनको उपचार प्रहरी अस्पतालमा चलिरहेको छ ।

 

प्रकाशित : भाद्र ८, २०७४ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्

प्रदेश २ मा सक्रिय हुन एमालेको निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौं — प्रमुख प्रतिपक्षी एमालेले प्रदेश २ को चुनावका लागि सक्रिय हुन पार्टीका सबै कमिटीलाई निर्देशन दिएको छ । एक चरणको स्थलगत चुनावी कार्यक्रम सम्पन्न गरिसकेको एमालेले निर्वाचन मिति नजिकिँदै जाँदा पुन: विशेष अभियान अघि बढाउन निर्देश गरेको हो ।

स्थायी कमिटीको बुधबारको बैठकले पार्टीको सम्पूर्ण शक्ति प्रदेश २ मा केन्द्रित गर्ने निर्णय गरेको छ ।

बैठकले त्यसका लागि प्रदेश केन्द्रित गतिविधि बढाउन मातहत सबै संगठनलाई आग्रह गरेको छ । एमालेले प्रदेश २ को चुनावका लागि केन्द्रबाटै जिल्ला–जिल्लाको कमान्ड गर्ने गरी पदाधिकारी तहका नेतालाई जिम्मेवारी दिइसकेको छ । जिम्मेवारी पाएका सबै नेताले पहिलो चरणको अभियान सकेर केन्द्रलाई प्रारम्भिक रिपोर्ट बुझाइसकेका छन् । 

बैठकमा आगामी मंसिर १० मा हुने प्रदेश र प्रतिनिधिसभा चुनावबारे पनि समीक्षा गर्दै त्यसका लागि पनि पार्टीपंक्तिलाई सक्रिय बनाउने निर्णय भएको सचिव प्रदीप ज्ञवालीले जानकारी दिए । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आउँदो शुक्रबार निर्वाचन आयोगमा पार्टी दर्ता गर्न उपाध्यक्ष वामदेव गौतमलाई जिम्मेवारी दिइएको उनले बताए ।

प्रकाशित : भाद्र ८, २०७४ ०७:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्