कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पशुपन्छीलाई अस्पताल

सदर चिडियाखाना
प्रशान्त माली

ललितपुर — सदर चिडियाखानामा ‘एनिमल हस्पिटल (पशु अस्पताल)’ छ । उक्त अस्पतालमा जनावर तथा पशुपन्छीलाई घाउचोट लाग्दा उपचार हुन्छ तर भर्ना गरेर उपचार गर्नुपर्‍यो भने त्यो सुविधा छैन ।

पशुपन्छीलाई अस्पताल

राष्ट्रिय प्रकृति संरक्षण कोषले बिरामी परेका जनावर तथा पशुपन्छीको खुल्ला आकाशमुनि राखेर उपचार गर्न नपरोस् भनेर चिडियाखानाभित्रै ‘नर्सरी एन्ड क्वारेनटाइन फेसिलिटी’ को भवन निर्माण गरिरहेको छ । क्वारेनटाइनमा पशुपन्छीलाई भर्ना नै गरेर उपचार गर्न मिल्छ । चिडियाखानाबाहिर उद्धार गरेर ल्याइएका घाइते जनावरको पनि क्वारेनटाइनमा राखेर उपचार गर्न मिल्छ ।

अहिले बिरामी परेका जनावर तथा पशुपन्छीको उपचार कोषको कार्यालय परिसरभित्र बनाइएका खोरमा लथालिंग अवस्थामा छ । राष्ट्रिय प्रकृति संरक्षण कोषका सहायक प्रशासक भेषबहादुर गुरुङले हाल चिडियाखानमा रहेको ‘एनिमल हस्पिटल’मा औषधि, उपचारका औजार र कर्मचारीमात्र बस्न मिल्ने बताए । ‘जनावरलाई अस्पतालभित्रै राखेर उपचार गर्न मिल्दैन,’ उनले भने, ‘क्वारेनटाइन भवन निर्माण भइसकेपछि जनावर तथा पशुपन्छीको उपचारमा केही राहत मिल्नेछ ।’

कोषका अनुसार चिडियाखानाको उत्तरपूर्वी कुनामा निर्माण गरिएको एकतले चार कोठाको क्वारेनटाइन भवन लगभग निर्माण सम्पन्न भई हस्तान्तारणको क्रममा छ । भवन निर्माणको ठेक्का प्रयास निर्माण सेवाले ६ महिनामा सम्पन्न गर्ने गरी २०७३ फागुन २३ मा भ्याटसहित ३३ लाख ७ हजार ३३ रुपैयाँमा सम्झौता भएको हो । अहिले चिडियाखानामा १५ वटा खोरमा बिरामी र चिडियाखाना बाहिरबाट उद्धार गरेर ल्याएका जनावर तथा पशुपन्छी छन् । एनिमल अस्पतालअगाडि बिरामी परेर ल्याइएका लाटो कोसेरो, हुचिल, चिल, चरी बाघ, कछुवालगायतको खुला आकाशमुनि उपचार भइरहेको छ । नजिकैको खोरमा उद्धार गरेर ल्याएका बाँदर, उल्लुलगायत छन् ।

त्यस्तै, चिडियाखानाभित्र जनावर तथा पशुपन्छीलाई भोजन तयार गर्ने ठाउँ ‘सेन्टर एनिमल किचेन’ को भवन पनि निर्माणाधीन अवस्थामा छ । पहिले किचेन भवन पुरानो अव्यवस्थित र भूकम्पले धराप भएकाले नयाँ भवन निर्माण गरिएको कोषले बताएको छ । कोषका अनुसार साढे दुई तले किचेन भवन निर्माणको ठेक्का दुर्जा बिल्डरसँग १ वर्षमा सम्पन्न गर्ने गरी २०७३ फागुन ३० मा १ करोड ८४ लाख ६१ हजार ६ सय ७८ रुपैयाँमा सम्झौता भइसकेको छ । कोषका सहायक प्रशासक गुरुङले पुरानो किचेन भवनमा दाना–आहारा, फलफूल र माछामासु गरी तीनथरी भोजनको व्यवस्था मिलाउन समस्या भएको बताए । ‘नयाँ निर्माणाधीन भवनबाट चारै वटा सेक्सनमा भोजन पठाउन पनि सजिलो छ,’ उनले भने, ‘दानाआहारामा मकै, चामल, गहुँ, धान, बदाम, चना, सख्खर पर्दछ ।’ उनले किचेनको नयाँ भवन निर्माण भइसकेपछि पुरानो किचेन भवनस्थलमा जनावरको खोर बनाइने बताए । ‘नयाँ भवन बनाइएको ठाउँमा निलगाई थियो,’ उनले भने, ‘भवन निर्माणको काम ४० प्रतिशत सम्पन्न भइसकेको छ ।’

भवन निर्माणको ठेक्का दुर्जा/ इन्फिनिटी/ बीएनएस जेभीले २०७४ साउन ११ मा ९ महिनामा सम्पन्न गर्ने गरी भ्याटसहित ४२ लाख ११ हजार रुपैयाँमा ठेक्का पाएको छ । १२ कोठे साढे एकतले कार्यालय भवन भने निर्माण सम्पन्न भई कर्मचारीसमेत व्यवस्थापन भइसकेको कोषले बताएको छ ।

 

प्रकाशित : भाद्र ८, २०७४ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?