२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

बढ्दैछ अपराधको ग्राफ

जनकराज सापकोटा

काठमाडौं — प्रहरी प्रधान कार्यालयले पछिल्ला तीन वर्षमा देशव्यापी रुपमा सार्वजनिक अपराध, ज्यान सम्बन्धी अपराध र बैंकिक कसुरको संख्यामा उल्लेख्य बृद्धी भएको तथ्य सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७३/७४ मा देशभरीको प्रहरी कार्यालयमा दर्ता भएका मुद्दाका आधारमा सबैभन्दा धेरै अर्थात १० हजार ५४ वटा सार्वजनिक अपराध सम्बन्धी मुद्धा दर्ता भएका देखिन्छन् ।

बढ्दैछ अपराधको ग्राफ

प्रहरी प्रधान कार्यालयले पछिल्ला तीन वर्षमा देशव्यापी रुपमा सार्वजनिक अपराध, ज्यान सम्बन्धी अपराध र बैंकिक कसुरको संख्यामा उल्लेख्य वृद्धि भएको तथ्य सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७३/७४ मा देशभरीको प्रहरी कार्यालयमा दर्ता भएका मुद्दाका आधारमा सबैभन्दा धेरै अर्थात १० हजार ५४ वटा सार्वजनिक अपराध सम्बन्धी मुद्दा दर्ता भएका देखिन्छन् ।

पछिल्लाे एक वर्षमा सार्वजनिक अपराधको संख्यामा सबैभन्दा धेरै वृद्धि भएको देखिन्छ । प्रहरीका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष एक हजार पाँचसय ६३ वटा सार्वजनिक अपराधको धेरै भएको छ । आर्थिक वर्ष २०७२/७३ मा आठ हजार पाँच सय ३९ सार्वजनिक अपराध भएको थियो भने यो संख्या आर्थिक वर्ष २०७३/७४ मा बढेर १० हजार एकसय दुई पुगेको छ । सार्वजनिक अपराधमा भएको बढोत्तरी पछिल्ला तीन वर्षकै उच्च हो । आर्थिक वर्ष २०७१/७२ मा जम्मा नौ हजार ७ सय ४ वटा सावर्जनिक अपराधका घटना भएका थिए ।

यही अवधीमा ज्यान सम्बन्धी अपराधको संख्यामा पनि बढोत्तरी भएको देखिन्छ । आर्थिक वर्ष २०७२/७३ मा ५ हजार ३ सय ९२ ज्यान सम्बन्धी अपराधका घटना भएको थिए भने यो संख्या आर्थिक वर्ष २०७३/७४ मा बढेर ५ हजार ९ सय ४ पुगेको छ । पछिल्ला चार आर्थिक वर्षमा ज्यान सम्बन्धी अपराधको घटना सबैभन्दा धेरै वृद्धि भएको देखिन्छ । आर्थिक वर्ष २०७०/७१ मा ज्यान सम्बन्धी अपराध ४ हजार ६ सय ८७ मात्रै थियो । चार वर्षमै यस्तो अपराधको संख्यामा १ हजार २ सय १७ ले वृद्धि भएको देखिन्छ ।

पछिल्ला तीन वर्षमा बैंकिक कसुर सम्बन्धी मुद्दामा पनि उल्लेख्य वृद्धि भएको देखिन्छ । प्रहरीका अनुसार आर्थिक वर्ष २०७१/७२ मा ३६ वटा मात्रै रहेको बैंकिक कसुर सम्बन्धी मुद्दा यो आर्थिक वर्ष २०७३/७४ मा दोब्बर भन्दा धेरै अर्थात ९३ पुगेको छ । यो आर्थिक वर्षमा पश्चिमान्चलमा मात्रै ५२ र उपत्यकामा मात्रै २२ वटा बैंकिक कसुर सम्बन्धी मुद्दाहरु परेका देखिन्छन् ।

प्रहरीले पछिल्ला वर्षहरुमा समग्र अपराधजन्य मुद्दाको संख्यामा पनि वृद्धि भएको तथ्यांक सार्वजनिक गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्ष २०७३/७४ अपराधजन्य मुद्दाहरु १० दशमलव १५ प्रतिशतले वृद्धि भएको देखिन्छ । अघिल्लो आर्थिक वर्षमा २८ हजार ५ सय ६३ मुद्दा प्रहरीमा दर्ता भएका थिए भए यो आर्थिक वर्ष २०७३/७४ मा ३१ हजार ४ सय ६२ मुद्दा दर्ता भएका देखिन्छन् ।

पुर्व डिआईजी हेमन्त मल्ल प्रत्येक वर्ष प्रहरीको अनुसन्धान क्षमतामा वृद्धी भईरहे पनि अपराधको संख्यामा ह्वात्तै वृद्धी हुनु गम्भिर विषय भएको बताउँछन् । मल्लका अनुसार सार्वजनिक अपराधको संख्यामा भएको वृद्धि भन्दा ज्यान सम्बन्धी अपराधको संख्यामा भएको संख्यात्मक वृद्धि डरलाग्दो हुन्छ । मल्लको बुझाईमा सामाजिक दबाब थेग्न वा सम्भावित अभियुक्तमाथी अनुसन्धान बढाउन पनि प्रहरीले सार्वजनिक अपराध अन्र्तगत मुद्दा दर्ता गर्ने परिपाटीले यसको संख्या उल्लेख्य बढाएको हुनसक्छ । उनले भने, ‘ज्यान सम्बन्धी अपराधको संख्यामा भएको वृद्धिले के नेपाली समाज हिस्रक बन्दै गएको हो भन्ने प्रश्न उठाएको छ ।’

त्यसो त ज्यान सम्बन्धी अपराध बढेपनि पछिल्ला तीन वर्षमा जघन्य अपराधको संख्या भने घटेको देखिन्छ । प्रहरीका अनुसार आर्थिक वर्ष २०७२/७३ मा ३ हजार ७ सय १८ जघन्य अपराध भएका थिए भने आर्थिक वर्ष २०७३/७४ मा यो संख्या १ सय २५ ले घटेर ३ हजार ५ सय ९३ पुगेको छ । पूर्व डिआईजी हेमन्त मल्ल अपराधको घटनामा भएको बढोत्तरीको सम्बन्ध समाजको मनोविज्ञानसँग हुन्छ । उनले भने, ‘अपराधको उक्लिदो ग्राफले के आम नागरिकमा हिस्रक मनोविज्ञान बढ्दै गएको हो भन्ने प्रश्न उब्जाएको छ ।’

प्रकाशित : भाद्र १०, २०७४ २०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?