१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

भ्रष्टाचार महालुटमा परिणत हुँदैछ : पूर्वप्रधानन्यायाधीश कार्की

थापाको ‘रजगज : दल दरवार, अदालत र अख्तियारभित्रका भ्रष्टाचार’ सार्वजनिक

काठमाडौं — पूर्वप्रधानन्यायाधिश सुशीला कार्कीले मुलुक भ्रष्टाचारले आक्रान्त बनेको र न्यायपालिकासमेत त्यसबाट मुक्त नरहेको बताएकी छन् । कान्तिपुर दैनिकका समाचार सम्पादक हरिबहादुर थापाले लेखेको ‘रजगज : दल दरवार, अदालत र अख्तियारभित्रका भ्रष्टाचार’ पुस्तक मंगलबार राजधानीमा सार्वजनिक गर्दै कार्कीले राज्यका सबै निकायमा इमानदारीपूर्वक काम गर्नेहरूलाई अप्ठ्यारामा पार्ने गरिएको बताइन् ।

भ्रष्टाचार महालुटमा परिणत हुँदैछ : पूर्वप्रधानन्यायाधीश कार्की

‘केही अदृश्य व्यक्तिहरूको सुझाव मानेको भए प्रकाश श्रीमान (सर्वोच्च अदालतका पूर्व–न्यायाधीश तथा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य प्रकाश वस्ती) अदालतबाट बीचैमा हिड्नुपर्ने थिएन’ कार्कीले भनिन्, ‘केही व्यक्तिले न्यायाधीश बनाउनेकोमा दालचामल मै कहाँबाट जान्छ, अब कसरी न्यायाधीश हुँदो रहेछन् हेरौं भनेर उहाँ (वस्ती) लाई अवरोध गरे । सुनको थालमा धुप नैवेद्य चढाएको भए उहाँलाई कुनै अप्ठेरो पर्ने थिएन ।’

नेताहरु कहाँ चियापान गर्न जाने र सम्झौता गर्ने न्यायाधिशहरुले मात्रै सुरक्षित महसुस गर्ने अवस्था आएको भन्दै उनले इमानदारीपूर्वक काम गर्ने मान्छेलाई विभिन्न बहानामा अवरोध गर्ने गरिएको बताइन् ।

भ्रष्टाचारका केही मुद्दा किनारा लगाउँदा २/४ घण्टा सडक अवरुद्ध पार्नेसम्मको काम भएको भन्दै उनले न्यायालयमै कालोपट्टि बाँधेर विरोध गर्ने हिम्मतसमेत देखिएको बताइन् । उनको यो संकेत तत्कालिन महान्यायाधिवक्ता रमण श्रेष्ठको नेतृत्वमा सरकारी वकिलहरुले गरेको इजलास बहिस्कारको घटनाप्रति थियो ।

सडकको दुरावस्था, राजस्व चुहावट, भ्रष्टाचारका आरोपितहरुको उन्मुक्तिलगायतका घटनाहरुको विवरण पेश गर्दै उनले देशका हरेक नागरिकले महसुस गर्नेगरी भ्रष्टाचार छताछुल्ल भएको बताइन् । ‘यही अवस्था जारी रहे भ्रष्टाचार महालुटमा परिणत हुनेछ’ उनले भनिन्, ‘हामी सिद्धिएको भ्रष्टाचारले नै हो, भावी पुस्तालाई जोगाउन पनि यसको विरोध गर्न सक्नुपर्छ ।’

सर्वोच्च अदालतका पूर्व न्यायाधिश एवं राष्ट्रिय मानव अधिकार आयोगका सदस्य प्रकाश वस्तीले केही वर्षयता शक्तिमा रहेकाहरूले राज्यलाई लुट्ने साधन ठानेको टिप्पणी गरे । गैरकानुनी सम्पत्ति आर्जनमाथिको छानबिन प्रभावकारी हुन नसकेको औल्याउँदै उनले भएको छानबिनमा समेत विभिन्न बहाना बनाएर उन्मुक्ति दिने क्रम नरोकिएको बताए ।

अकुत सम्पत्ति आर्जनका आरोपितहरुलाई पुर्ख्यौली आर्जन, दाइजो–पेवा, कृषि आम्दानी भनी बहाना देखाउन निकै सजिलो भएको छ’ वस्तीले भने, ‘उनीहरूको दाबी हेर्दा कतिपय आरोपितका जग्गामा रहेका रूखले आँप होइन, पैसा फलाएको अनुभूति हुन्छ ।’ नीतिगत भ्रष्टाचारको छानबिन प्रभावहीन देखिएको भन्दै आजको दिनमा भ्रष्टाचारका घटना देखेर इमानदार नै लजाउनुपर्ने अवस्था आएको उनले बताए । उनले भने, ‘यस्ता घटना देखेर लाज मान्नु नै आजको समाधान हो जस्तो भइसकेको छ ।’

सांसद राधेश्याम अधिकारीले जनप्रतिनिधिमूलक संस्था स्वार्थको द्वन्द्वमा फस्दै गएको बताए । पछिल्ला घटनाक्रम र प्रवृत्तिले संसदले आफ्नो स्वरूप गुमाइरहेको औल्याउँदै उनले मुहानबाटै रोकथामको प्रयास हुनुपर्ने आवश्यकता औंल्याए । संसदको राज्यव्यवस्था समितिमा पुगेको राजनीतिक दलसम्बन्धी विधेयकमा आफूले ‘भ्रष्टाचारका आरोपित’ को राजनीतिक भविष्य रोक्न नखोजेको उनको भनाइ थियो । ‘भ्रष्टाचारको सजाय भोगिसकेपछि उनीहरुको राजनीति नरोकौं भन्ने मेरो उदेश्य हो । जीवनभर प्रतिबन्ध लगाउनु हुँदैन भन्ने मेरो आशय हो’ उनले भने, ‘मेरो प्रस्तावमात्रै हो, पारित हुने या नहुनेमा मेरो कुनै सरोकार छैन ।’ आफ्नो प्रस्ताव पारित नभए पनि कुनै गनासो नहुने उनले बताए ।

कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्माले मुलुकमा छोटो अवधिमा राजनीतिक परिवर्तनहरु भएपनि समृद्धितर्फको यात्रामा भने भ्रष्टाचार नै बाधक बनेको बताए । ‘सत्ता र राज्य सञ्चालकमा करिव ५० जना अनुहार नै बारम्बार हावी हुने गरेका छन्’ उनले भने, ‘दोषीमाथि कारबाही नहुँदा एउटा घटनाका विवादास्पद व्यक्ति नै अर्कोमा समेत देखिने गरेका छन् ।’

लेखक हरिबहादुर थापाले राजनीतिक दल, तत्कालीन दरबार, अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगभित्रका विकृतिहरूलाई पुस्तकमा समेटिएको बताए । भ्रष्टाचार नियन्त्रणको दायित्व अख्तियार र अदालतको मात्रै नभएको उल्लेख गर्दै उनले कार्यकारी अधिकार पाएको सरकार र जनप्रतिनिधिमूलक संसद सुशासन कायम गर्ने मामिलामा चुकिरहेको बताए । ‘हामीकहाँ बेलाबखत बाहेक संस्थागत रूपमा भ्रष्टाचार तथा विकृतिविरुद्धको लडाइँमा नेतृत्वदायी भूमिका निर्वाह गर्न दलहरु चुकेका छन्’ उनले भने, ‘दलका नेताहरु भनेको भ्रष्टाचारका नायक हुन् भन्ने धारणा समाजमा गहिरोसँग स्थापित हुदै छ ।’

फाइनप्रिन्ट बुक्सले प्रकाशित गरेको पुस्तकमा तत्कालीन राजदरवारको दाउपेच, विभिन्न घटना अध्ययनका क्रममा हुने जाँचबुझ र कार्यान्वयन नहुने प्रतिवेदन, पञ्चायतकालिन काण्डहरु, भ्रष्टाचारमा मुछिएका राजनीतिक अनुहारहरू, कर्मचारीतन्त्रको विकृतिलगायतका विषय समेटिएका छन् ।

प्रकाशित : भाद्र १३, २०७४ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?