कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

रसुवागढी–केरुङ अब अन्तर्राष्ट्रिय नाका

तेस्रो मुलुकका नागरिक पनि आउजाउ गर्न पाउने
चन्द्रशेखर अधिकारी

काठमाडौं — दक्षिण एसियाली मुलुकसँग जोड्ने महत्वपूर्ण प्रवेश मार्गको रुपमा विकास गर्ने उद्देश्यसहित चीनले रसुवागढी–केरुङ नाकालाई अन्तर्राष्ट्रिय नाकाको रुपमा मान्यता दियो । नेपालको लगातार प्रयासपछि रसुवागढी–केरुङ नाका अन्तराष्ट्रिय नाकाको रुपमा चीनले मान्यता दिएको हो ।

रसुवागढी–केरुङ अब अन्तर्राष्ट्रिय नाका

उक्त नाकालाई बुधबार (भदौ १४) देखि तिब्बत सरकारले अन्तराष्ट्रिय नाका भएको घोषणा गरे । 

चीन र नेपालबीच रहेको एकमात्र अन्तराष्ट्रिय नाका तातोपानी भूकम्पपछि बन्द भएकोले रसुवागढी–केरुङ नाकालाई अन्तराष्ट्रियकरण गर्न नेपालले आग्रह गर्दै आएको थियो । चीनले पूर्वाधार पुरा नहुँदा यसलाई अन्तर्राष्ट्रिय नाकाको मान्यता दिन नसकेको बताउँदै आएको थियो । उसले नेपालतर्फको पूर्वाधारमा पनि चासो राख्दै ब्यवस्थित बनाउन आग्रह गरेको छ । 

नेपाल र जनवादी गणतन्त्र चीनको तिब्बत स्वशासित क्षेत्रबीच रहेको रसुवागढी–केरुङ नाका २०७१ मंसिर १५ देखि दुईपक्षीय रुपमा सञ्चालनमा आएको हो । नाका संचालनपछि नेपाली र चीनियाँ नागरिकहरु वैधानिक राहदानी र भिसा लिएर एकअर्काका मुलुकमा आवत–जावत गर्न सकेपनि अन्य मुलकका नागरिक त्यो नाकाबाट आवतजावत गर्न पाउँदैन थिए । बुधबार भएको निर्णयले उक्त नाकाबाट अब तेस्रो मुलकुका नागरिक पनि आवतजवत गर्ने बाटो खुलेको छ । भिसा भएका तेस्रो मुलकका नागरिकले उक्त बाटो प्रयोग गर्न सक्छन् । त्यो नाका नखुल्दा स्थलमार्गबाट चीनबाट सामान ल्याउने भारतीय ब्यापारीलाई असहज भएको थियो । अब अन्य मुलुकका पर्यटक पनि त्यहाँबाट सिगात्से तथा ल्हासा जान पाउने छन् । 
 
‘बुधबारदेखि उक्त नाका स्तरोन्नति गरिएको छ । अन्तराष्ट्रिय नाकाको रुपमा रुपान्तरण भएपश्चात अब रसुवागढी–केरुङबाट नेपाली र चीनियाँ नागरिकका साथसाथै तेस्रो मुलुकका नागरिकहरु समेत आवतजावत गर्ने बाटो खुला भएको छ,’ ल्हासाका लागि महाबाणिज्य दूत गोबिन्दबहादुर कार्कीले कान्तिपुरसँग भने,  ‘चीन सरकारले यो नाकालाई महत्व दिएको छ । छोटो समयमा नै रेल केरुङ पुग्ने हुनाले यो नाकाको महत्व हाम्रो लागि समेत रहेको छ ।’ उनले नेपालतर्फ सडक विस्तार र भन्सार निर्माण लगायतको काम भइरहको पनि बताए । 

अन्तर्राष्ट्रिय नाका बनाउनका लागि नेपाल र चीन सरकारबीच साढे दुई महिनाअघि कूटनीतिक पत्र आदान–प्रदान भएको थियो । सोही आधारमा चीन स्वशासित क्षेत्र तिब्बत सरकारका सहायक अध्यक्ष लिओ मेईले उक्त नाकालाई ल्हासामा पत्रकार सम्मेलन आयोजना गरी अन्तराष्ट्रिय स्तरको भएको घोषणा गरेकी हुन् । पत्रकार सम्मेलनमा महावाणिज्यदूत कार्कीलाई पनि निम्त्याइएको थियो । उनले नाकालाई स्तरोन्नति गरिएको  घोषणा गर्दै चीनतर्फ नाकाको भौतिक पुर्वाधार पुनर्निर्माण तथा स्तरोन्नतिको कार्य लगभग पूरा भएको बताइन् । साथै यसले दुई देशबीचको व्यापार, पर्यटन तथा जनस्तरको सम्पर्कमा अभिबृद्धि हुने तथा यसबाट चीनको बेल्ट एण्ड रोड इनिसियटिभ्स (बीआरआई) कार्यावन्यनमा सहयोगी हुने बताइन् । 
 
केरुङको बजार भविष्यमा जति पनि विस्तार गर्न सकिने हुनाले पनि चीनले खासाभन्दा केरुङलाई बढी महत्व दिएको एक नेपाली अधिकारीले बताए । चिनियाँहरुले अनौपचारिक भेटघाटमा खासालाई सामान सिधा ल्याउने नाकाको रुपमा र रसुवागढीलाई अन्तराष्ट्रिय मैत्री नाकाको रुपमा विस्तार गरिने भन्दै नेपालतर्फको निर्माण कार्य चुस्ता बनाउन समेत आग्रह गर्ने गरेका छन् । 

महावाणिज्यदूत कार्कीले पत्रकार सम्मेलनमा तातोपानी–खासा नाका पुन: संचालनमा ल्याउनु पर्ने बताएका थिए । ‘बन्द भएको तातोपानी नाका पनि खोल्नु पर्छ र सहमतिमा थप नाकाहरु खोल्नु पर्छ,’ उनले आफुले पत्रकार सम्मलेनमा बोलेको कुरा बताए । चिनियाँ अधिकारीहरुले भने रसुवागढी–केरुङ नाका अन्तर्राष्ट्रिय नाका बनाएको विषयमा प्रचारप्रसार गरेर महत्व बढाउन बढी जोड दिएको नेपाली अधिकारीको भनाई छ । पत्रकार सम्मेलनमा तिब्बत सरकारका अन्य पदाधिकारीहरुले रसुवागढी–केरुङ नाका अन्तराष्ट्रिय स्तरमा सञ्चालनमा आएपश्चात व्यापार तथा पर्यटन प्रबर्धन भई दुवै मुलुकलाई फाइदा हुने भएकाले यसको प्रचारप्रसार जरुरी रहेको भन्दै नाकामा विभिन्न कार्यक्रम गरिने जानकारी समेत दिएका थिए । पुराना तथ्यहरु हेर्ने हो भने तत्कालीन राजा महेन्द्रले तातोपानी खोल्न प्रस्ताव गर्दासमेत चीनले रसुवागढीलाई महत्व दिएको थियो । 

प्रकाशित : भाद्र १४, २०७४ १९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?