निजीकरणविरुद्ध नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीद्वारा जिल्ला प्रशासन र नगरपालिकामा धर्ना

लीला श्रेष्ठ

भक्तपुर — नेपाल इन्जिनियरिङ कलेजलाई निजीकरण गरेको भन्दै कलेजमा अध्यनरत विद्यार्थी र विद्यार्थी संगठनहरुले विरोध प्रर्दशन गरेका छन् । बुधबार कलेजका विद्यार्थी, नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनहरुले कलेज निजीकरणको विरोध गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुर र चाँगुनारायण नगरपालिकामा विरोध प्रदर्शन गर्दै धर्ना दिएका हुन् ।

मुनाफारहित सामुदायिक संस्थाको रुपमा स्थापना भई सञ्चालनमा आएको कलेजको आम्दानी संस्थाले शैक्षिक सुधारको प्रयोजनमा खर्च गर्नुपर्नेमा सञ्चालकहरुले लाभांशको रुपमा लिएको भन्दै उनीहरुले विरोध गरेका हुन् ।

Yamaha

‘करिब २ हजार विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने यस्तो कार्यप्रति खेद व्यक्त गर्दछौं,’ नेविसंघ कलेज इकाई अध्यक्ष क्रान्तिराज पौडेलले भने, ‘शैक्षिक माफियाकरण र दलालीहरु निर्मुल पार्न जस्तोसुकै कदम चाल्न पनि तयार छाैं ।’

विद्यार्थीहरुले कलेजलाई सामुदायिक संस्थाकै रुपमा सञ्चालन गर्नुपर्ने, पोखरा विश्वविद्यालयको सम्बन्धन कायम हुनुपर्ने माग गरेका छन् । ‘हामी सबै मिलेर शैक्षिक माफियाको भन्डाफोर गर्छांै,’ अनेरास्ववियू सचिवालय सदस्य अद्रता रेग्मीले भनिन्, ‘संस्था बचाउन हामी जस्तोसुकै कदम चाल्न पनि तयार छौं ।’

‘सामाजिक संस्थाका रूपमा दर्ता भएको नेपाल इञ्जिनियरिङ कलेजलाई कुनै पनि हालतमा व्यक्तिको नाममा ल्याउन मिल्दैन,’ उनले भनिन् ।

विरोधमा उत्रिएका विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय र चाँगुनारायण नगरपालिकालाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

विद्यार्थीहरुले आफ्नो कलेज बचाइदिन र सामूदायिक संस्थाको रुपमा सञ्चालन भएको कलेजलाई निजीकरण हुन नदिन चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोमप्रसाद मिश्रलाई माग गरेका छन् ।

ज्ञापनपत्र बुझ्दै मिश्रले कलेजमा देखिएको समस्या समाधानका लागि मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने बताए । विद्यार्थीहरुको भविष्य सुनिश्चित गर्नका लागि नगरपालिकाले जिम्मेवारी बहन गर्ने उनले बताए । विद्यार्थीको विरोधका कारण कलेजको पठनपाठन ठप्प भएको छ भने कलेजको आन्तरिक परिक्षा समेत रद्ध भएको छ ।

यता कलेजका कार्यकारी अध्यक्ष लम्बोदर न्यौपानेले प्रेस विज्ञप्ती जारी गर्दै कलेज सम्बन्धमा बोर्डबाट निर्णय गरिएको र कुनैपनि किसिमका सार्वजनिक सम्पत्ति निजिकरण गर्ने मनसाय नभएको जनाएका छन् । कलेजका नामबाट खरिद गरिएका सम्पूर्ण चलअचल सम्पत्ति कुनैपनि सेयर होल्डरको नाममा नभएको र लगाइएका आरोपहरु खेदपूर्ण रहेको विज्ञप्तीमा उल्लेख गरेका छन् ।

Esewa Pasal

प्रकाशित : भाद्र १४, २०७४ १९:३२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

रसुवागढी–केरुङ अब अन्तर्राष्ट्रिय नाका

तेस्रो मुलुकका नागरिक पनि आउजाउ गर्न पाउने
चन्द्रशेखर अधिकारी

काठमाडौं — दक्षिण एसियाली मुलुकसँग जोड्ने महत्वपूर्ण प्रवेश मार्गको रुपमा विकास गर्ने उद्देश्यसहित चीनले रसुवागढी–केरुङ नाकालाई अन्तर्राष्ट्रिय नाकाको रुपमा मान्यता दियो । नेपालको लगातार प्रयासपछि रसुवागढी–केरुङ नाका अन्तराष्ट्रिय नाकाको रुपमा चीनले मान्यता दिएको हो ।

उक्त नाकालाई बुधबार (भदौ १४) देखि तिब्बत सरकारले अन्तराष्ट्रिय नाका भएको घोषणा गरे । 

चीन र नेपालबीच रहेको एकमात्र अन्तराष्ट्रिय नाका तातोपानी भूकम्पपछि बन्द भएकोले रसुवागढी–केरुङ नाकालाई अन्तराष्ट्रियकरण गर्न नेपालले आग्रह गर्दै आएको थियो । चीनले पूर्वाधार पुरा नहुँदा यसलाई अन्तर्राष्ट्रिय नाकाको मान्यता दिन नसकेको बताउँदै आएको थियो । उसले नेपालतर्फको पूर्वाधारमा पनि चासो राख्दै ब्यवस्थित बनाउन आग्रह गरेको छ । 

नेपाल र जनवादी गणतन्त्र चीनको तिब्बत स्वशासित क्षेत्रबीच रहेको रसुवागढी–केरुङ नाका २०७१ मंसिर १५ देखि दुईपक्षीय रुपमा सञ्चालनमा आएको हो । नाका संचालनपछि नेपाली र चीनियाँ नागरिकहरु वैधानिक राहदानी र भिसा लिएर एकअर्काका मुलुकमा आवत–जावत गर्न सकेपनि अन्य मुलकका नागरिक त्यो नाकाबाट आवतजावत गर्न पाउँदैन थिए । बुधबार भएको निर्णयले उक्त नाकाबाट अब तेस्रो मुलकुका नागरिक पनि आवतजवत गर्ने बाटो खुलेको छ । भिसा भएका तेस्रो मुलकका नागरिकले उक्त बाटो प्रयोग गर्न सक्छन् । त्यो नाका नखुल्दा स्थलमार्गबाट चीनबाट सामान ल्याउने भारतीय ब्यापारीलाई असहज भएको थियो । अब अन्य मुलुकका पर्यटक पनि त्यहाँबाट सिगात्से तथा ल्हासा जान पाउने छन् । 
 
‘बुधबारदेखि उक्त नाका स्तरोन्नति गरिएको छ । अन्तराष्ट्रिय नाकाको रुपमा रुपान्तरण भएपश्चात अब रसुवागढी–केरुङबाट नेपाली र चीनियाँ नागरिकका साथसाथै तेस्रो मुलुकका नागरिकहरु समेत आवतजावत गर्ने बाटो खुला भएको छ,’ ल्हासाका लागि महाबाणिज्य दूत गोबिन्दबहादुर कार्कीले कान्तिपुरसँग भने,  ‘चीन सरकारले यो नाकालाई महत्व दिएको छ । छोटो समयमा नै रेल केरुङ पुग्ने हुनाले यो नाकाको महत्व हाम्रो लागि समेत रहेको छ ।’ उनले नेपालतर्फ सडक विस्तार र भन्सार निर्माण लगायतको काम भइरहको पनि बताए । 

अन्तर्राष्ट्रिय नाका बनाउनका लागि नेपाल र चीन सरकारबीच साढे दुई महिनाअघि कूटनीतिक पत्र आदान–प्रदान भएको थियो । सोही आधारमा चीन स्वशासित क्षेत्र तिब्बत सरकारका सहायक अध्यक्ष लिओ मेईले उक्त नाकालाई ल्हासामा पत्रकार सम्मेलन आयोजना गरी अन्तराष्ट्रिय स्तरको भएको घोषणा गरेकी हुन् । पत्रकार सम्मेलनमा महावाणिज्यदूत कार्कीलाई पनि निम्त्याइएको थियो । उनले नाकालाई स्तरोन्नति गरिएको  घोषणा गर्दै चीनतर्फ नाकाको भौतिक पुर्वाधार पुनर्निर्माण तथा स्तरोन्नतिको कार्य लगभग पूरा भएको बताइन् । साथै यसले दुई देशबीचको व्यापार, पर्यटन तथा जनस्तरको सम्पर्कमा अभिबृद्धि हुने तथा यसबाट चीनको बेल्ट एण्ड रोड इनिसियटिभ्स (बीआरआई) कार्यावन्यनमा सहयोगी हुने बताइन् । 
 
केरुङको बजार भविष्यमा जति पनि विस्तार गर्न सकिने हुनाले पनि चीनले खासाभन्दा केरुङलाई बढी महत्व दिएको एक नेपाली अधिकारीले बताए । चिनियाँहरुले अनौपचारिक भेटघाटमा खासालाई सामान सिधा ल्याउने नाकाको रुपमा र रसुवागढीलाई अन्तराष्ट्रिय मैत्री नाकाको रुपमा विस्तार गरिने भन्दै नेपालतर्फको निर्माण कार्य चुस्ता बनाउन समेत आग्रह गर्ने गरेका छन् । 

महावाणिज्यदूत कार्कीले पत्रकार सम्मेलनमा तातोपानी–खासा नाका पुन: संचालनमा ल्याउनु पर्ने बताएका थिए । ‘बन्द भएको तातोपानी नाका पनि खोल्नु पर्छ र सहमतिमा थप नाकाहरु खोल्नु पर्छ,’ उनले आफुले पत्रकार सम्मलेनमा बोलेको कुरा बताए । चिनियाँ अधिकारीहरुले भने रसुवागढी–केरुङ नाका अन्तर्राष्ट्रिय नाका बनाएको विषयमा प्रचारप्रसार गरेर महत्व बढाउन बढी जोड दिएको नेपाली अधिकारीको भनाई छ । पत्रकार सम्मेलनमा तिब्बत सरकारका अन्य पदाधिकारीहरुले रसुवागढी–केरुङ नाका अन्तराष्ट्रिय स्तरमा सञ्चालनमा आएपश्चात व्यापार तथा पर्यटन प्रबर्धन भई दुवै मुलुकलाई फाइदा हुने भएकाले यसको प्रचारप्रसार जरुरी रहेको भन्दै नाकामा विभिन्न कार्यक्रम गरिने जानकारी समेत दिएका थिए । पुराना तथ्यहरु हेर्ने हो भने तत्कालीन राजा महेन्द्रले तातोपानी खोल्न प्रस्ताव गर्दासमेत चीनले रसुवागढीलाई महत्व दिएको थियो । 

प्रकाशित : भाद्र १४, २०७४ १९:१०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT