कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

स्क्रब टाइफसबाट महिलाको मृत्यु, डेढ महिनामा १ सय ३३ जनामा संक्रमण

डेढ महिनामा दुईको मृत्यु

भरतपुर — चितवनमा स्क्रब टाइफसबाट एक महिलाको मृत्यु भएको छ । साउनयता डेढ महिनाको अवधिमा १ सय ३३ जनालाई स्क्रब टाइफस रोग भएको पाइएको छ । जिल्ला जनस्वास्थ्यले बुधबार मृत्युको पुष्टि गरेको हो ।

स्क्रब टाइफसबाट महिलाको मृत्यु, डेढ महिनामा १ सय ३३ जनामा संक्रमण

नवलपरासी घर भएकी महिलाको भरतपुरस्थित सेन्ट्रल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला जनस्वास्थ्यका किट नियन्त्रक निरीक्षण रामकुमार केसीले बताए । ज्वरो कम नभएपछि साउन ९ गते उपचारका लागि अस्पताल आएकी महिलाको भदौ १० गते मृत्यु भएको केसीले जनाए । ‘जिल्लामा केही समययता स्क्रब टाइफसका बिरामी बढेको छ,’उनले भने,‘साउनयता दुईजनाको रोगबाट मृत्यु भइसकेको छ ।’

यहाँका विभिन्न अस्पतालमा उपचारका लागि आएका ४ सय ९७ बिरामीको परीक्षण गर्दा १ सय ३३ जनामा यस्तो रोग देखा परेको हो । जनस्वास्थ्यका अनुसार भरतपुर अस्पतालमा ४०, बकुलहर रत्ननगर अस्पतालमा ४, चितवन मेडिकल कलेजमा ३१, नारायणी सामुदायिक अस्पतालमा ४२, मनकामना अस्पतालमा दुई, सेन्ट्रल अस्पतालमा एक तथा निजी ल्याबमा १३ जना बिरामीको जाँच गराउँदा स्क्रब टाइफस रोग देखिएको हो ।

जिल्लाका विभिन्न अस्पतालमा उचापरका लागि आउने बिरामीमा स्क्रब टाईफसको संक्रमण देखिएको हो । यस्तो रोगका बिरामी दिनहुँ बढेको छ । गतवर्ष जिल्लामा ५ सय ३३ जनामा स्क्रब टाइफस रोग देखिएको थियो । सोही समयमा मृत्यु भएकामध्ये ४ जना यही जिल्लाका थिए । पुसदेखि रोग नियन्त्रणमा आए पनि वैशाखबाट बिरामीको जाँच गराउँदा ‘पोजेटिभ’देखिन थालेको जनस्वास्थ्यले जनायो । अघिल्लो वर्ष ४७ जिल्लाको ८ सय ३० जनामा स्क्रब टाईफस रोग देखिएकामा १४ जनाको मृत्यु भएको जनस्वास्थ्यले जनाएको छ ।

नेपालमा २०७२ सालमा पहिलो पटक पूर्वी नेपालमा यस्तो रोग देखिएको हो । मुलुकभर ‘स्क्रब टाइफस’को रोग बढेपछि अवस्था पत्ता लगाउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले जिल्लामा गतवर्ष मुसाको स्थलगत अध्ययन तथा परीक्षण सुरु गरेको थियो । अनुसन्धानको क्रममा मुसा र माइटमा समेत टाइफस रोगको संक्रमण पुष्टि भएको थियो ।

यो रोग एक प्रकारको संक्रमित किराले डसेमा लाग्छ । जुम्राजस्तै सूक्ष्म रुपमा रहने प्रकारको (माईट) घुनजस्तै किरा हो । यो मुसाको कानमा अथवा यस्तै जीवजन्तुमा बस्छ । त्यसबाट घासपात तथा झारमा झरेको बेलामा मानिसको शरीरमा बसेर टोकेमा रोग लाग्छ । यो जनावरबाट सर्छ । मानिसबाट सर्दैन् । झाडी वरिपरि, कृषि काम गर्ने, जताततै बस्ने, चौर झारमा बस्नेमा सर्ने सम्भावना बढी हुने भन्दै जनस्वास्थयले सजग रहन अनुरोध गरेको छ ।

चिकित्सकका अनुसार यस्ता बिरामीमा टाउको दुख्ने, १ सय ४ डिग्री ज्वरो आउने, गर्धन र घाँटी वरिपरि मसिना बिमिरा आउने लक्षण देखिन्छन् । त्यस्तो अवस्थामा तत्काल स्वास्थ्य परीक्षण गराउन चिकित्सकले सुझाव दिएका छन् । ब्याक्टेरिया ईन्फेक्सन भएकाले औषधि सेवनबाट निको हुन्छ ।

प्रकाशित : भाद्र १५, २०७४ १४:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?