१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै

प्रशान्त माली

काठमाडौं — उपत्यकाका तीनवटै जिल्ला मंगलबार इन्द्रजात्रामय बनेका छन् । काठमाडौंमा जीवित देवीदेवताका रूपमा कुमारी, गणेश र भैरवलाई हर्षोल्लासका साथ रथयात्रा गराइयो । ललितपुर र भक्तपुरमा टोल/टोलमा भैरवको मूर्ति स्थापना गरि ‘क:थो’ (कालो जाँड) र समयबजी वितरण गरी मनाइयो । हनुमान ढोका दरबार क्षेत्रमा रथयात्राका लागि शाक्य जातकी एक महिला, गणेश र भैरवको भेषमा दुई पुरुषलाई बेग्लाबेग्लै रथमा रथारोहण गराइयो ।

हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै

राष्ट्रपति विद्यादेवी भण्डारीलगायत विदेशी कुटनीतिक नियोगका उच्च अधिकारीहरूले मंगलबार वसन्तपुरमा इन्द्रजात्राको अवलोकन गरेका थिए । उनीहरूलाई काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले स्वागत गरेका थिए । राष्ट्रपति भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवाले जीवित देवीदेवताको दर्शन गरी प्रसादसमेत ग्रहण गरेका थिए । नारायण हिटी दरबारको इन्द्रध्वज गणको सम्मानगारत टोलीले समारोहमा सरिक भएकी राष्ट्रपति भण्डारीसहितका अतिथिलाई सलामी र सम्मान अर्पण गरेको थियो । 


इन्द्रजात्रा व्यवस्थापन समितिका अनुसार तीनैवटा रथलाई बसन्तपुरबाट तानेर मरु, चिकमुगल, मजिपात, जैशीदेवल, ज्याबहाल, लगन, बह्मटोल, ह्युमत, क्व:हिटी, भीमसेनस्थान भई पुन: बसन्तपुरमा नै पुर्‍याइएको थियो । इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यले बुधबार दरवारको उत्तरपट्टि पर्ने टोलहरुमा रथ यात्रा गरिने बताए । ‘रथ यात्राको पहिलो दिन दरवारको दक्षिणपट्टिको टोलहरुमा परिक्रमा गराइयो,’ उनले भने । राजप्रतिनिधिको रुपमा मल्लकालिन राजखड्ग कुमारीको रथमा राखिएको थियो । रथ जात्रामा बाटोमा बौद्ध धर्मावलम्बीहरुले बर्षभरिमा दिवंगत भएका आफन्तहरुको नाममा स्तोत्र पाठ र दियो दान गर्दै अगाडी बढेका थिए । यात्रामा पर्ने टोल टोलमा सिगारेर राखिएको समेबजी (प्रसाद) रथ पुग्नासाथ देवीदेवतालाई चढाइएको थियो ।

रथ जात्रा सकिएपछि धिमेबाजाको तालमा धुन्या (रंगीचंगी कपडाका टुक्राहरुले सिंगारेको अग्लो बास) घुमाउदै इन्द्रको आमा भनिने डागीलाई नगरपरिक्रममा गराइएको थियो । उनका साथमा मृतकहरु स्वर्ग गएको हेर्न जाने भनी मृतकको आफन्त पनि बाटोभरि शतबीज छर्दै अगाडी बढेका थिए । हुनुमान ढोका दरवार क्षेत्रमा छुट्टै रौनक छाएको थियो । जात्रामा दरवार क्षेत्रमा होहल्लाबीच दरवार क्षेत्रको उत्तर पश्चिम दिशाबाट एक व्यक्ति मुस्या: (चिलाख) बालेर दौडिंदै आए । उनको पछिपछि कात्रोले बनाइएको इन्द्रको बहान ऐरावत हात्ती थियो । दुई जना पुरुषले कात्रो भित्र बसेर दौडिदै नाच प्रदर्शन गरे । यो देख्दा सबै मोहित भएको देखिन्थे । उनीहरु किलागल टोलका पुलुकिसी गुठीका हुन् । 

त्यत्तिकैमा दरवार क्षेत्रको पूर्वपट्टिबाट बाजागाजा सहित ‘हल्चोक आकाश भैरव नाथकी जय’ भन्ने नारा लगाएर एक हुल मानिस जात्रामा सहभागी भए । उनीहरुको बीचमा टल्केको तरवार हातमा लिएका आकास भैरव, भैरवका छोरा चन्दे र छोरी कुमारेको भेषमा तीन जना आएका देखिन्थे । भैरव, चन्दे र कुमारे तीनैले हात हल्लाई एक आपसमा वारपार गरेर अनौठो नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै इन्द्रचोक आकाश भैरव गुठीयार र हनुमान ढोकाको श्वेत भैरव गुठीयारले पनि आ(आफ्नो भैरवको नाच प्रदर्शन गरेका थिए । मजिपात लाखे ननी (टोल)स्थित लाखे आजु गुठीबाट लाखे नाच प्रदर्शन गरिएको थियो । 

यीबाहेक जात्रामा विभिन्न टोलका ३४ गुठी संलग्न भई आ(आफ्नो भुमिका खेलेका देखिन्थे । इन्द्रजात्राकै दिनमा गोरखाका राजा पृथ्वीनारायण शाहले आक्रमण गरि काठमाडौं जितेका थिए । दरवारको गद्दी बैठक भवन अगाडी बैरोचन, अक्षोभ्य, अमोघसिद्धि, अमिताभ र रत्नसम्भव गरि पञ्चबुद्धको भेषमा पाँच जना गुठीयारले ग: (घण्टी) बजाएर स्वागत गर्दै अगाडी बढेका थिए । जात्रामा टाउकामा बेगरी, शरीरमा भोटो, जामा र पटुवाले सजिएर पञ्चे बाजा बजाउदै अर्को समूह जात्रामा सम्मिलित भए । गोरखा दक्षिण बाहु पुरस्कार र शुभराज्य अभिषेकबाट सम्मानित टोली पनि भक्तपुरको च्यामा सिंहबाट सहभागी भएका थिए । 

तस्बिरहरु : प्रताप थापा र इलिट जाेशी

प्रकाशित : भाद्र २०, २०७४ २१:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?