भूकम्पपीडितको व्यथा : ‘दसैं दशा बन्लाजस्तो छ’

रसुवा — हाकु र डाँडागाउँबाट विस्थापित ६ सय भूकम्पपीडित बिचल्लीमा छन् । थातथलोमा पहिरो नरोकिएपछि विस्थापित भएकाहरू उत्तरगया गाउँपालिकाको बोगटीटार र नौबिसेमा बस्दै आएका छन् ।

भूकम्पपीडितको व्यथा : ‘दसैं दशा बन्लाजस्तो छ’

उनीहरू जमिन भाडामा लिएर बसिरहेका छन् । जग्गाधनीले ठाउँ छाड्न ताकेता गरिरहेको र गाउँ फर्कन नसक्ने अवस्था भएकाले निकै समस्यामा परेको पीडितको गुनासो छ । २८ महिनादेखि उनीहरू यसरी अरूको जग्गामा बसिरहेका हुन् । ‘थातथलो भूकम्पले बस्नै नहुने अवस्थामा छ,’ पीडित छेकु लामाले भने, ‘भाडाको जग्गावालले दसैंअघि नै हट्न भनेको छ । दसैंको मुखमै बिचल्लीमा परिने भैयो,’ लामो समय बितिसक्दा पनि पुन:स्थापनामा सरकारले चासो नदिएको उनले बताए । जग्गा चर्चेको ७ लाख ३१ हजार भाडा तिर्न बाँकी छ । 

पीडित पूर्ण तामाङले एकीकृत बस्ती बनाएर राख्ने आश्वासन पटक–पटक पाए पनि पूरा नभएको बताए । आयआर्जनको उपाय छैन । ज्येष्ठ नगारिक, बालबालिका र महिलाहरूको जीविकोपार्जनमा बढी समस्या परेको छ । ‘दसैं लाग्यो, परिवारलाई एक छाक मीठो खुवाउने उपाय छैन । हाम्रो लागि दसैं दशा बन्नाजस्तो छ,’ उनले भने । 

साबिकको हाकु ९, मैलुङ बेंसी र ठूलोगाउँस्थित लयुङका सबै बस्ती तथा तिरुका ७ धुरी सार्नुपर्ने देखिएको छ । गाउँमा मान्छे नभएकाले कसको घर कति जोखिममा छ त्यो छुट्याउन कठिन भएको उनको भनाइ छ । खाल्डेमा एकीकृत बस्ती बनाउने भनिए पनि त्यो ठाउँ पनि सुरक्षित छैन । 

प्रकाशित : भाद्र २४, २०७४ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?