सात वर्षअघि वृद्धा हत्या गरेर फरार अभियुक्त सार्वजनिक, चार वटा मुद्दा चलाइने

प्रताप विष्ट

हेटौंडा — सात वर्षअघि घरमा बसिरहेकी वृद्धालाई गोली हानी हत्या गरेर फरार भएका एक अभियुक्तलाई प्रहरीले आइतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

सात वर्षअघि वृद्धा हत्या गरेर फरार अभियुक्त सार्वजनिक, चार वटा मुद्दा चलाइने

मकवानपुरको कैलाश गाउँपालिका-१० साविकको नामटार गाविस ६ का ३६ वर्षीय फोरम भन्ने सागर पाख्रिनलाई जिल्ला प्रहरी कार्यालय हेटौंडाले सार्वजिनक गरेको हो । २०६७ फागुन ३ गते पाख्रिनले मकवानपुरको मनहरी गाउँपालिका-४ साविकको हाडीखोला गाविस ७ मुलखोलाकी ६२ वर्षीया वृद्धा ठुलीमाया थिङलाई घरभित्रै गोली हानी हत्या गरेर फरार भएका थिए । 

गाँजा बोकेर लगिरहेको अवस्थामा हल्ला गरेको भनेर वृद्धालाई गोली प्रहार गरेका थिए । वृद्धाले घर अगाडिको बाटो भएर राति गाँजा बोकेर लगिरहेको अवस्थामा कराइएकी थिइन । प्रहरीले तत्कालै वृद्धाको हत्या गरेको आरोपमा नामटारस्थित पाख्रिनको घर खानतलासी गर्दा कटुवा पेस्तोल २ थान, भरुवा बन्दुक एक थान, बारुद, छर्रा, गाँजा २० केजी र सालकको खपटा एक  केजी बरामद गरेको थियो ।

फरार रहेका चन्द्रागिरि नगरपालिका २ झ्याप्ले खोला क्षेत्रको बस्तीमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले शनिबार पक्राउ गरेर कारबाही गर्न आइतबार हेटौंडा ल्याएको थियो ।
 
०७३ वैशाख ३ गते पाख्रिन घरमा आएको जानकारी पाएपछि प्रहरी उनलाई पक्राउ गर्न घरमा नै पुगेको थियो । प्रहरी आएको थाहा पाउनेबित्तिक्कै पाख्रिन भागेका थिए ।  गतवर्ष प्रहरीले नामटार क्षेत्रमा गाँजा फाँड्न लागेको अवस्थामा प्रहरीलाई लक्षित गरेर  गोली प्रहार पाख्रिनले नै गरेको प्रहरी उपरीक्षक विकासराज खनालले पत्रकार सम्मेलनमा जानकारी दिएका थिए । 

पाख्रिनलाई हत्या, हातहतियार, लागूऔषध, आखेटो ओसारपसारलगायत चार वटा  मुद्दा चलाएको प्रहरी उपरीक्षक खनालले बताए । नामटारका बासिन्दालाई लामो समयदेखि पाख्रिनले त्रसित बनाउँदै आएका थिए । पाख्रिन गाउँमा आउँदा हतियार बोकेर आउने गरेका थिए । नामटारका अधिकांश वासिन्दाले उनलाई गुन्डा, गाँजा तस्कर र अपराधीको रुपमा चिन्ने गर्छन् । 

प्रकाशित : भाद्र २५, २०७४ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?