प्रधानमन्त्री देउवाले गरे पाँचौंपटक मन्त्रीमण्डल विस्तार, राप्रपाबाट ३ मन्त्री र १ राज्यमन्त्रीले साेमबार सपथ लिने

दीपक बाेहाेरा विज्ञान तथा प्रविधि, विक्रम पाण्डे वन तथा भू संरक्षण, सुनिल थापा उद्याेग र रेशम लामा उद्याेग राज्यमन्त्री
टीकाराम तामाङ

काठमाडौं — प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार पाँचौंपटक मन्त्रीमण्डल विस्तार गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) बाट ३ जना मन्त्री थपेर देउवाले मन्त्रीमण्डल विस्तार गरेका हुन् । राप्रपाबाट संसदीय दलका नेता दीपक बोहरा, उपनेता विक्रम पाण्डे र सांसद् सुनिलबहादुर थापा मन्त्री बन्ने भएका छन् ।

प्रधानमन्त्री देउवाले गरे पाँचौंपटक मन्त्रीमण्डल विस्तार, राप्रपाबाट ३ मन्त्री र १ राज्यमन्त्रीले साेमबार सपथ लिने

व्यवस्थापिका–संसद्‌मा १८ सांसद रहेको पार्टीले वन तथा भू संरक्षण, उद्योग र विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी प्राप्त गरेकाे छ ।  दीपक बाेहाेरा विज्ञान तथा प्रविधि, विक्रम पाण्डे वन तथा भू संरक्षण, सुनिल थापा उद्याेग तथा रेशम लामा उद्याेग राज्यमन्त्री हुने टुंगाे लागेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । उनले सोमबार बिहान ११ बजे मन्त्रिपरिषद् विस्तारको सूचना रहेको जानकारी दिए । सोमबार ३ मन्त्री र १ राज्यमन्त्री थपिएपछि देउवा नेतृत्वको मन्त्रिपरिषद् राज्यमन्त्रीसहित ५४ सदस्यीय पुग्नेछ ।

गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित देउवाले २४ जेठमा मन्त्रिमण्डल गठन गरेका थिए भने त्यसपछि २८ गते, असार २, साउन ११ र भदौ ४ गरी चारपटक मन्त्रिपरिषद् विस्तार गरे । सरकारमा अहिले प्रधानमन्त्री सम्बद्ध कांग्रेस, माओवादी केन्द्र, लोकतान्त्रिक फोरमसहितका दलहरु सहभागी छन् । देउवाले इतिहासकै 'जम्बो' मन्त्रिपरिषद् बनाएको भन्दै सर्वत्र आलोचना भइरहेको छ । 

राप्रपाका अध्यक्ष पशुपतिशम्शेर राणाले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न तथा आगामी असोज २ गतेको तेस्रो चरणको स्थानीय तह र मंसिरमा हुने प्रादेशिक एवं केन्द्रीय निर्वाचनको कार्यक्रमलाई पूरा गर्ने उद्देश्यले पार्टी सरकारमा सहभागी हुन लागेको बताए । 

राप्रपाबाट वैचारिक असहमति राख्दै गत साउन २२ गते विभाजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको उक्त पार्टीले करिब दुई साता अगाडि दलका रुपमा मान्यता प्राप्त गरेको थियो ।

प्रकाशित : भाद्र २५, २०७४ १७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?