कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ठाडोभाकाका गायक भेंडीखर्के साइँला सिकिस्त बिरामी

आश गुरुङ

लमजुङ — बिरामीले थलिएका ठाडोभाकाका गायक ८४ बर्षीय भेंडीखर्के साइँला (दीर्घराज अधिकारी) सिकिस्त बिरामी परेका छन् ।

ठाडोभाकाका गायक भेंडीखर्के साइँला सिकिस्त बिरामी

लमजुङमा उपचार हुन नसकेपछि एक साताअघि उनलाई काठमाडौंस्थित बीर अस्पताल लगेर उपचार गराई पुन: लमजुङ फर्काइएको थियो । अहिले सुन्दरबजारस्थित जेठीछोरी र ज्वाइँको घरमा रहेका भेंडीखर्केले आइतबार साँझदेखि पानी समेत खान छोडेको उनका ज्वाइँ सम्सेर लौडारीले बताए ।

‘पानी निल्न हुँदैन भन्नुहुन्छ । स्वर खस्किएको छ । मुखैभरि पुरै घाउ छ’ उनले भने, ‘बिस्तारै चाप्दै गएको छ ।’ भेंडीखर्के सिकिस्त भएपछि उनलाई हेर्न भीडभाड बढेको ठाडोभाका लोककला प्रतिष्ठानका सचिव कृष्ण आलेले बताए । ‘भेंडीखर्के बुवा सिकिस्त बन्दै जानुभएको छ’ उनले भने ।

परेवाडाँडा घर भएका उनी पत्निसंगै केही बर्षदेखि सुन्दरबजारस्थित छोरीज्वाइँसंगै बस्दै आएका छन् । दम साथै ज्वरोको समस्या बढेपछि उनलाई काठमाडौं लगिएको थियो । ३ बर्षअघि पनि भेंडीखर्के बिरामीले थला परेका थिए । देशविदेशका शुभचिन्तकको सहयोगमा एक महिनासम्म बीर अस्पतालमा राखेर उपचार गराइएपछि उनी तंग्रिएका थिए ।

उनको उपचारका लागि परिवार साथै ठाडोभाका लोककला प्रतिष्ठानले सरकारसंग माग गरेपनि कुनैपनि निकायले वास्ता नगरेको प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले बताए । ‘राज्यको गहनालाई राज्यले चिन्न सकेन । यस्तै अवस्थामा राज्यका धेरै गहना संरक्षणको अभावमा हराउनेछन्’ उनले भने ।

ब्राह्मण समाजमा छोरामान्छेले गीत गाउनु हुन्न भन्ने प्रचलन तोड्दै उनले आफ्नो बुवाको आँखाकान छलेर ठाडोभाका गाउँदै हिँडेका थिए । ९ बर्षको उमेरदेखि गाउन थालेका उनी एक महिना अघिसम्म जिल्लाका सभा–समारोहमा गाउने गर्थे । उनी प्रमुख अतिथि तथा अतिथि भएका कार्यक्रममा उनले ठाडो भाकामै सम्बोधन गरेर भाषण गर्थे । यही भदौ २९ गतेका दिन ८५ वर्षमा प्रवेश गर्ने उनलाई उक्त दिनमा ठाडोभाका शिरोमणिको उपाधि दिन प्रतिष्ठानले संस्कृति तथा नागरिक उड्डयन मन्त्रीमार्फत लविङ गरिरहेको छ ।

नौ बर्षको उमेरदेखि ठाडोभाका गीत गाउँदै आएका ८४ बर्षीय भेंडीखर्के साइँला । फाइल तस्बिर: आश गुरुङ/कान्तिपुर ।

प्रकाशित : भाद्र २६, २०७४ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?