बारामा पाँच हजार तुल र ब्यानर हटाइयो

लक्ष्मी साह

बारा — आचारसंहिता विपरीत जिल्लाको विभिन्न गाउँठाउँको चोकलगायत सार्वजनिक स्थलहरुमा चुनाव प्रचारका लागि झुन्डियाइएको पाँच हजार भन्दा बढी तुल ब्यानर, झन्डाहरु मंगलवार प्रहरीले हटाएको छ ।

बारामा पाँच हजार तुल र ब्यानर हटाइयो

चोक–चोकमा उत्सव भनेर कान्तिपुर दैनिकमा मंगलवार समाचार छापिएपछि गृह मन्त्रालय र निर्वाचन आयोगकको कडा निर्देशनपछि जिल्लाको पाँच हजार भन्दा बढी तुल ब्यानर हटाइएको निर्वाचन अनुगमन समितिका सदस्यसमेत रहेका प्रमुख जिल्ला अधिकारी विजयनारायण मनान्धरले बताए । ‘दिउँसो २ बजे भित्रमा हटाइसक्न निर्देशन गरेका थियौं, त्यो अनुसार धेरै ठाउँबाट हटाइएको छ ।’ कलैयाबाट मात्र तीन हजार थान हटाइएको छ ।

अनुगमनमा खटेका निर्वाचन आयोगका सहसचिव गजेन्द्र ठाकुर प्रहरी लिएर स्वयं ती तुल ब्यानर हटाएका हुन् । कलैयाको भरत चोकलगायत जिल्लाको अधिकांस नगर र गाउँमा मापदण्ड विपरीत तुल ब्यानर टाँसिएकोले रंगीचंगी देखिन्थ्यो । ‘सार्वजनिक ठाउँको सबैतिरको झन्डा, तुल ब्यानर हटाउन कडा निर्देशन गरेका छौं,’ प्रहरी उपरिक्षक राजकुमार वैद्वारले भने, ‘कलैया, जितपुर सिमरा, निजगढ, सिम्रौनगढ, कोल्हवी, महाढीमाईलगायतको ठाउँमा प्रहरी खटाइएको छ ।’

उम्मेदवार र राजनीतिक दलसित आचारसंहिता विपरित प्रचार सामाग्री टाँस्न वा प्रयोग नगर्न समन्वय गरिएको उनले बताए । विभिन्न आन्दोलन र गतिविधिको केन्द्र सदरमुकाम कलैयास्थित भरतचोकमा छपक्क देखिएका सबै दलका प्रचार सामाग्री तुल, ब्यानर पोष्टर हटाइएपछि चोक सफा देखिएको छ । थरीथरी झण्डाले चोक भरिएको थियो । आसपासका घर र बिजुलीका पोलमा पनि गाडिएको झण्डा हटाइएको छ । रंगीचंगी झण्डा, तुल ब्यानर र पोष्टरले नगरलाई महोत्सव स्थल जस्तो बनाएको थियो ।

‘आचारसंहिता उलंघन भइरहेको देखिएपनि कडाई गर्न सकेका थिएनौं । तर गरेपछि सुइँको पनि कतैबाट केही विरोध वा अवरोध भएन । अच्चमै भयो,’ मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले भने, ‘पहिला पनि कडाइ गरेको भए हुन्थ्यो । मिडियामा सार्वजनिक भएपछि मात्र भयो ।’ उम्मेदवारहरुको संगीतमय घरदैलो र रोचक शैलीले चुनावको चहलपहल बढाएको छ ।

भोजपुरी र नेपाली भाषाको गीतले अझै टोलटोल गुन्जिएको छ । चुनाव प्रचारमा बालबालिकाको प्रयोग उत्तिकै देखिएका छन् । राजनीतिक दलका सांसद, मन्त्रीहरु आफ्ना उम्मेदवारका लागि आचारसंहिता विपरित कार्य गरिरहँदा नियमन गर्ने निकाय अझै नदेखेको झैं गरिरहेका छन् ।

प्रकाशित : भाद्र २७, २०७४ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?