१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कारबाहीको सिफारिस

थुनुवा मृत्यु प्रकरण

दाङ — वडा प्रहरी कार्यालय लमहीमा थुनुवाको मृत्युको छानबिन गरी प्रहरीले यथार्थ विवरण सार्वजनिक गरेको छ । अनुसन्धान टोलीले प्रहरी नियन्त्रणमा मृत्यु भएका थुनुवालाई बेवारिसे शव फेला परेको भनेर प्रहरीले गलत सूचना दिएको ठहर गरेको छ ।

घटनामा प्रहरी दोषी देखिएको ठहरसहित टोलीले जिम्मेवार प्रहरी अधिकारीलाई विभागीय कारबाहीको सिफारिस गरेको छ ।

घोराही १४, नयाँ बजारका ४० वर्षीय गँगटे भनिने देवबहादुर विकको भदौ १४ मा प्रहरी नियन्त्रणमै मृत्यु भएको थियो । प्रहरीले भने घोराही ३, चौपट्टामा बेवारिसे शव फेला परेको भन्ने गलत सूचना सार्वजनिक गरी अन्त्येष्टिसमेत गरेको थियो । 

गलत सूचना दिने र माथिल्लो तहमा घटनाबारे जानकारी नगराउने जिल्ला प्रहरी प्रमुख एसपी दुर्गा सिंह, वडा प्रहरी कार्यालय लमहीका प्रमुख इन्स्पेक्टर सुरज खड्कासहित मुद्दा फाँटका जिम्मेवार प्रहरीलाई हदैसम्मको विभागीय कारबाही हुने अनुसन्धान प्रमुख एसएसपी दिलीपकुमार चौधरीले बताए । ‘विकको प्रहरी नियन्त्रणमै रहेका बेला मृत्यु भएको देखियो । उसको स्वास्थ्य समस्या रहेछ । अस्पतालले फोक्सोमा समस्या भएर मृत्यु भएको देखाएको छ,’ उनले भने, ‘प्रहरीले बाहिर गलत सूचना दिएकाले जिम्मेवार अधिकारीलाई हदैसम्मको विभागीय कारबाही हुन्छ ।’

राप्ती उपक्षेत्रीय अस्पतालको पोस्टमार्टम रिपोर्टमा फोक्सोमा पिप जमेर मृत्यु भएको खुलाइएको चौधरीले जनाए । विकलाई भदौ १३ मा प्रहरीले पक्राउ गरी लमही अस्पतालमा चेकजाँच गर्न लगेको थियो । भदौ १४ मा पुन: चेकजाँच गर्न लैजाँदा उनको मृत्यु भइसकेको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालयले फेसबुक पेजमा मृतकको फोटो राखी बेवारिसे शव भनी विज्ञप्ति जारी गरेको थियो ।

 

प्रकाशित : भाद्र २८, २०७४ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?