कोसी उच्चबाँध निर्माणबारे प्रधानमन्त्रीको भनाइप्रति दाहालको असन्तुष्टि

अवधेशकुमार झा

राजविराज — कोसी उच्चबाँध निर्माण गर्ने भारतसँग सहमति भएको भन्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइप्रति सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले असन्तुष्टि जनाएका छन् ।

प्रदेश २मा स्थानीय तहको चुनावी प्रचार अभियानमा रहेका दाहालले बुधबार सप्तरीको सदरमुकाम राजविराजमा पत्रकारहरुसँग कुरा गर्दै कोसी उच्चबाँधको विषय बिनाअध्ययन सहमति जनाउन उचित नहुने बताए । उनले भने, ‘कोसी हाइड्याम नेपालीको हितमा छ, छैन, त्यसबारे विस्तृत अध्ययनपछि मात्रै सरकारले कदम अगाडि बढाउँदा उचित हुन्छ ।’

मंगलबार चुनावी सभामा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सीमा क्षेत्रमा भारतले बनाएको अग्लाअग्ला बाँधका कारण तराईको भूभाग डुबानमा परेको भन्दै कोसी उच्चबाँध निर्माण गरी डुबान समस्या अन्त गर्ने भारतसँग सहमति भएको बताएका थिए ।

माओवादी अध्यक्ष दाहालले कुनै क्षेत्रीय पार्टीबाट मधेसको विकास सम्भव नहुने भन्दै मधेसको पहिचान माओवादीको ‘जनयुद्ध’बाट स्थापित भएको मुद्दा भएको बताए । यो वर्ष नेपाल र नेपालीको चुनावी वर्ष भएको उल्लेख गर्दै उनले मधेसमा माओवादी केन्द्रप्रति जनताको आकर्षण भएको दाबी गरे ।

ऐतिहासिक नगरी सप्तरी सदरमुकाम राजविराजको हालत अहिले निकै दयनीय र नाजुक भएको बताउँदै पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले राजविराजको विकासका लागि प्याकेजमै कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

प्रकाशित : भाद्र २८, २०७४ १४:५१
प्रतिक्रिया
पठाउनुहोस्

कमलु सदाका गाउँले भन्छन्, ‘भोट मात्रै माग्छन्, हाम्रा मर्का कसैले बुझ्दैनन्’

सप्तरी (कोइलाडी) — छोरा कमलु सदाको शोकमा आमा विमली झोक्राइरहेकी थिइन् । कमलुका बाबु फुदनको आङमा कपडै थिएन । भर्खरै बिक्री गरेको गाई पुर्‍याउन साहुकोमा गएको जेठो छोरा फर्किसकेको थिएन ।

महिना दिनअघि कमलुको काल बनेर आएको बाढीको त्रासदी पूरै मुसहर बस्तीमा अझै छाएको थियो । घरका आधाउधी भित्ता पानीले डुबेका थिए । भएको अनाज र लत्ताकपडा सबै बाढीले बगाए । अधिकांश बालबालिकाका आङमा कपडै थिएन । केही गर्मीका कारण त कति नभएरै नांगै देखिन्थे ।

बाढीबाट नहरकिनार बसेका अधिकांश मुसहर घरमै फर्किएका छन् । अझै केही त्यहीं रात काटिरहेका छन् । साउन अन्तिम साताको बाढीले यो बस्ती जलाम्मे बनेको थियो । डुबेकै घर मर्मत गरी बस्न थालेकी कमलुकी आमाले भनिन्, ‘अहिले यही चिसोमा बस्ने, खाने हो ।’

कमलुको मृत्यु हुँदा बाबु फुदन घरमा थिएनन् । उनी मजदुरी गर्छन् । त्यसैका लागि त्यसबेला धरानमै थिए । फुदनलाई ८ वर्षीय छोरा कमलुको मृत्युको खबर भाइ शंकरले फोनबाटै सुनाएका थिए । १० दिनअघि मात्रै कमलुलाई काखमा लिएका फुदनलाई अझै त्यो घटना पत्याउन गाह्रो छ । खबर सुन्नेबित्तिकै विक्षिप्त बने । तत्कालै आउन सकेनन् । जताततै बाढी थियो । राजमार्गमा गाडी चलेका थिएनन् । ‘पानीमा डुबुल्की मार्दै हिँडेरै भोलिपल्ट घरमा आएँ,’ उनले सुनाए, ‘अन्तिम बेला पनि मैले छोरालाई देख्न पाइनँ ।’ उनका भाइ शंकरले कमलुलाई समाधिस्थ गर्ने जमिन पनि पाएनन् । शवलाई नदीमा सेलाएर अन्त्येष्टि गरे । मुसहर बस्तीमा कसैको मृत्यु भए कोसीको भँगालोमा खाडल खनेर समाधिस्थ गर्ने परम्परा छ । तर, त्यतिबेला पानीले सबै डुबेको थियो ।

फोटो पत्रकार नरेन्द्र श्रेष्ठले कमलुलाई अन्त्येष्टि गरेको त्यही फोटो सनसनी बन्यो । त्यसैका कारण कमलुका परिवारलाई देश, विदेशबाट समेत राहत पठाउने र भेट्न आउने क्रम अझै जारी छ । छोराको फोटो छापिएको पत्रिकामा नदेखे पनि राहत दिन आउनेहरूले मोबाइलमा देखाउने गरेको आमा विमलीले सुनाइन् ।

घरभित्र बाढी नपसुन्जेल उनीहरू यही घरमा बस्दै थिए । बाहिर जमिन डुबाउँदै थियो । कमलु पानीको खाल्डोमा पर्‍यो । ‘त्यसैको चिसो गढेछ क्यारे, बिरामी भयो । सुत्ने ठाउँ पनि चिसो भयो । ओढ्ने ओछ्याउने पनि राम्रो थिएन,’ उनले भनिन्, ‘उपचारका लागि सथनी अस्पतालमा लग्यौं । सक्दैनौं भन्दै धरान लैजान भन्यो । लैजान सक्ने अवस्था भएन । बाटैमा उसको ज्यान गयो ।’

सरकार र अन्य व्यक्तिबाट आएको राहत ४ लाख रुपैयाँ फुदन परिवारले बैंकमा जम्मा गरेको छ । त्यही जम्मा भएको पैसाभित्र उनीहरूको जिन्दगीको सबैभन्दा ठूलो सपना छ । ‘बाढीले डुबान नहुने ठाउँमा सानो जग्गा लिन्छु र घर बनाएर बस्ने विचार छ,’ विमलीले सुनाइन्, ‘एउटा छोरा छ । त्यसैको मुख हेरेर बाँच्नु त छँदै छ ।’

यो बस्तीमा मुसहरका ८३ परिवार छन् । सबैको एउटै पेसा मजदुरी गर्ने हो । मजदुरी नगरे पेटमा अन्न पस्दैन ।  बाढीले घरबास बगाएपछि उनीहरूलाई सरकारले २५ केजी चामल, दालसहितको प्याकेज दिएको थियो । त्यसैका भरमा उनीहरू छन् । त्यसमा पनि नागरिकता नहुने करिब २५ परिवारले राहत नपाएको उनीहरूको गुनासो छ । नपाउने परिवारलाई पाउने परिवारबाटै सहयोग भएको छ । 

‘आखिर सबै जनतै हुन् । राहतमा पनि किन यस्तो भेदभाव हो ?’ सर्वदेवी सदा भन्छिन्, ‘सरकारले दिएको राहत सकिनै लाग्यो, कसरी यी छोराछोरी पाल्ने ?’ बाढीको त्रास अझै छ । छोराछोरी छाडेर बाहिर हिँड्न सकेका छैनन् ।

प्राय: कसैसँग एक टुक्रा जमिन छैन । बस्तीमा बिजुली पनि छैन । सर्पको डर उत्तिकै । बाढी रोकिए पनि पानी संग्लिएको छैन । त्यही धमिलो पानीले तिर्खा मेटाएका छन् । यसबाट केटाकेटी र बूढाबूढी बिरामी परेका छन् ।

बाढीले यो बस्ती तंग्रिन पाएको छैन । तर, भोट माग्न हस्याङफस्याङ गर्दै आउने उम्मेदवारको ताँती उस्तै छ । बस्तीको पीरमर्का भन्दा पनि मीठो ललिपप सबैले सकेजति देखाएकै छन् । उनीहरू भने मत माग्न आउनेसँग बाढीले नसताउने स्थानमा बसाइँ सारिदिन आग्रह गर्छन् । यस्तै तत्काल आङ ढाक्ने कपडा, खाने अन्नको माग गर्छन् । भड्किलो चुनावी प्रचारमा जुटेका पार्टीका नेता कार्यकर्तालाई उनीहरूको आग्रह र संवेदनाले अझै छोएको छैन ।

प्रकाशित : भाद्र २८, २०७४ १४:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्